तीजको व्रत बस्दा के कुरामा ध्यान दिने?

    • स्वास्थ्य पेज

  • १ आश्विन २०८०, सोमबार

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

दीर्घरोगीहरू नबस्नुस् 
ब्लडप्रेसर राम्रो छ । आफूलाई कुनै दीर्घरोग छैन भने व्रत बस्दा हुन्छ । तर, पानी नखाई कसैले पनि व्रत बस्नुहुँदैन । मधुमेहको औषधि लिइरहेकाहरूले व्रत बस्न हुँदैन । केही नखाँदा  उनीहरू ढल्ने जोखिम हुन्छ । सुगर लो भयो भने चर्को पसिना, मुटु भड्किने, आँखा धमिलो हुने हुन्छ ।

जसको रक्तचाप पहिल्यै लो छ, उहाँहरूले केही पनि नखाई व्रत बस्दा शरीरमा नुनको मात्रा र जलवियोजन भएर अझै प्रेसर लो भएर ढल्ने सम्भावना हुन्छ । व्रत बसेर बढी नाच्ने, गाउने गर्दा नुनको मात्रा घट्ने हुँदा शरीरमा ब्लडप्रेसर घट्छ । यस्ता व्यक्तिले पनि व्रत बस्न भएन ।

मुटु, फोक्सो अथवा कुनै दीर्घरोगको औषधि खाएका बिरामीले पनि व्रत बस्न उपयुक्त हुन्न । रगतको कमी भएका वा रगतसम्बन्धी समस्या देखिएका महिला तथा भर्खरै अपरेसन गरेकाहरूले पनि व्रत बस्न हुँदैन । त्यसैगरी, गर्भवती र सुत्केरीले पनि व्रत बस्न हुँदैन । सुत्केरीलाई क्यालोरीको आवश्यकता पर्छ । आफू मात्र नभई बच्चाका लागि पनि फिडिङ गर्नुपर्ने हुन्छ । त्यसैले सुत्केरीले पनि व्रत नबस्नुस् ।

यसरी व्रत बस्न सकिन्छ
अर्धव्रत अर्थात् एक छाक खाएर व्रत बस्न सकिन्छ । होइन, तपाईंलाई पूरै दिन व्रत बस्नु छ भने दूध, फलफूल र पानी खानुस् । हाम्रो धर्म–संस्कृतिले पनि व्रतमा यी खाद्यान्न खानमा रोक लगाएको छैन ।

तीजको पृष्ठभूमि धर्मसँग जोडिएको छ । परोपकारी र धेरै गुण भएका व्यक्ति महादेवलाई पतिका रूपमा पाउन  र उहाँका केही गुण आफूमा पनि ल्याउन पार्वतीले कडा व्रत बस्नुभएको कुरा धर्मशास्त्रहरूमा उल्लेख छ । व्रतको अघिल्लो दिन दर अर्थात् सात्विक खाना खाइसकेपछि भोलिपल्ट सक्नेले निराहार (२४ घन्टा केही नखाई) व्रत बसेर ध्यानमग्न हुने, त्यसो गर्न नसक्नेले जलाहार (पानी मात्रै पिउने) र त्यो पनि नसक्नेले फलाहार (पानी र फलफूल लिने) व्रत बस्ने र शिवको उपासना गर्ने, ध्यानमा लीन हुने विषय धर्मशास्त्रमा उल्लेख छ । महिलाहरूले त्यहीअनुसार व्रत बसेर शिवलिंगको पूजा गर्छन् ।

उल्लेखनीय कुरा, शिव भनेको महिलाका मात्रै देवता होइनन्, उहाँ सबैको देवता भएकाले दम्पतीले नै व्रत बस्ने हो । पछिल्लो समय यो चलन सुरु पनि भएको छ । यसरी अघिल्लो दिन सात्विक भोजन गरेर भोलिपल्ट व्रत बस्दा स्वास्थ्यमा खासै समस्या हुँदैन । मानसिक स्वास्थ राम्रै हुन्छ ।

गर्भवती, बालबच्चा तथा स्वास्थ्य अवस्था ठीक नभएकाहरूको हकमा भने धर्मशास्त्रले नै व्रत नबस्न छुट दिएको छ । समय बदलिएको छ, दरका दिन अहिले धेरैले चिल्लो, पिरो र कतिपयले मासु–माछासमेत खान्छन् । र, भोलिपल्ट भोकै बसेर अत्यधिक नाच्दा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । धर्मशास्त्रको पूर्ण रूपमा पालना नहुँदा यस्तो समस्या देखिएको हो । तिज अहिले तपस्या वा ध्यानभन्दा पनि ‘गेट टुगेदर’ जस्तो भइसक्यो, नाचगान गर्ने अवसरमा परिणत भइसक्यो । हामीले या त धर्मशास्त्रको पूर्ण पालना गरेर व्रत बस्नुपर्छ, या समयअनुसार आफ्नो स्वास्थ्यको ख्याल गर्दै सात्विक भोजन गरेर तिज मनाउनुपर्छ ।

  • १ आश्विन २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech