चिकित्सक कुटिएको विरोधमा नेपालगन्जका स्वास्थ्य संस्था ठप्प, बिरामी मर्कामा

    • स्वास्थ्य पेज

  • ३१ भाद्र २०८०, आईतवार

नेपालगन्जः हेटौंडाको सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै देशभरिका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द भएका छन् । बाँकेका भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, वेष्टर्न अस्पताल लगायतका ओेपिडी सेवा पनि बन्द भएका छन् ।

केही क्लिनिकहरु बन्द भएपनि अधिकांश क्लिनिकहरु भने संचालनमा छन् । अस्पतालको सेवा बन्द हुँदा उपचारकालागि पुगेका विरामीहरु भने मर्कामा परेका छन् । उनीहरु अस्पतालमा टाँसिएको सूचना हेर्दै आफ्नो बिरामीले उपचार पाउने आशमा अस्पताल परिसरमा ढुकेर बसिरहेका छन् । नेपाल चिकित्सक सङ्घले दोषी माथि कारवाही माग गरेको छ । बिरामीको उपचार गरिरहेको अवस्थामा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएकामा हालसम्म दोषीलाई कारबाही हुन नसक्दा समग्र स्वास्थ्य क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको जनाएको छ ।

संघले सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्दको निर्णय अनुसार नेपालगन्ज मेडिकल कलेजले पनि ओपिडी सेवा बन्द गरेको अस्पतालका सहनिर्देशक डा.नितेश कनोडियाले बताउनुभयो । उहाँले कलेजका शैक्षिक गतिविधिहरु भने नरोकिएको बताउनुभयो । देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्थासहित भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्थाका लागि पनि सङ्घले सरकारसँग माग गरेको छ ।

अस्पतालमा बिरामीको मृत्यु भएको घटनालाई लिएर भदौ २७ गते सन्चो अस्पताल दुई चिकित्सकमाथि कुटपिट भएको थियो । भेरी अस्पतालको ओपिडी सेवा बन्द गरिएपनि इमरजेन्सी सेवा भने नरोकिएको प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले बताउनुभयो । बिरामीहरुलाई दुःख दिने मनसाय आफुहरुको नभएपनि चिकित्सकहरुमाथि नै कुटपिट भएपछि असुरक्षित भएर संघको निर्णय अनुसार एक्यबद्धता जनाइएको बताउनुभयो । उहाँले कार्यकक्षमा खटिएका चिकित्सकमाथिको कुटपिट सहन नसकिने पनि स्पष्ट पार्नुभएको छ ।

  • ३१ भाद्र २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech