चिकित्सक कुटपिटको विरोधमा मकवानपुरका स्वास्थ्य सेवा बन्द

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०८०, शुक्रबार

नेपालगन्ज: हेटौंडामा बिरामीको उपचार गरिरहेको अवस्थामा एचडीयु कक्षमै डाक्टरमाथि भएको सामूहिक कुटपिटको विरोधमा स्वास्थ्य सेवा ठप्प पारिएको छ ।

हेटौंडाका निजी तथा सरकारी अस्पताल, मेडिकल तथा क्लिनिकले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा ठप्प पारेका हुन् ।उनीहरुले घटनामा संलग्नलाई पक्राउ गरी कानुन कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग स्थानीय प्रशासन समक्ष राखेका छन् ।

डाक्टर कुटपिटका कारण अहिले जिल्लाको स्वास्थ्य क्षेत्र त्रसित बनेको छ ।बुधबार बिहान हेटौंडा–१, भिन्तुनापथस्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि सांघातिकरुपमा आक्रमण भएको अवस्थामा स्थानीय प्रशासन र प्रहरीले घटनालाई गम्भीरतापूर्वक नलिइ ‘मौन’ रहेर मिलापत्र गराउन खोज्दा मकवानपुरको स्वास्थ्य क्षेत्र आन्दोलित बनेको हो ।

गत साउन २५ मा डेंगीबाट चितवनमा मृत्य भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै एनेस्थेसिया डा. प्रशान्त बिडारी र डा. विकास थापालाई कुटपिट गरेका हुन् । कुटपिटबाट डा. बिडारीको आँखा र अनुहारमा चोट लागेको छ ।

डा. थापाको गाला र अनुहार सुनिएको छ । उहाँ उपचारका लागि काठमाडौं जानु भएको छ। प्रधानको चितवनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसअघि उनलाई उपचारका लागि साउन २२ गते सञ्चो अस्पतालमा भर्ना गरिएको थियो । उहाँको अवस्था गम्भीर भएपछि थप उपचारका लागि साउन २३ गते चितवन रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रधानलाई दोस्रोपटक डेंगी संक्रमण पुष्टि भएको थियो भने उनी मधुमेह र उच्च रक्तचापको समस्या पनि रहेको थियो । डाक्टर कुटपिटमा संलग्नलाई कारबाही नहुने अवस्था भएपछि जिल्लाका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिक रुपमा प्रहरीमा निवेदन दिएका छन् । प्रहरीका अनुसार जाहेरी आज शुक्रबार दर्ता हुनेछ ।

स्थानीय प्रशासन र प्रहरीबाट सुरक्षाको प्रत्याभूति नभएका कारण प्रहरीमा उजुरी दर्ता गर्ने अवस्था नभएपछि सामूहिक रुपमा उजुरी दर्ता गरिएको स्वास्थ्यकर्मीले जनाएका छन् ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उनीहरु दोषी रहे स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

  • २९ भाद्र २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech