बाँकेका ६० जना पत्रकारको निःशुल्क आँखा जाँच, एक जनामा मोतिविन्दु

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०८०, शुक्रबार

नेपालगन्जः बाँकेका ६० जना पत्रकारको निःशुल्क आँखा जाँच गरिएको छ । आफ्नो १५ औं स्थापना दिवसको अवसरमा फत्तेबाल आँखा अस्पतालको सहयोगमा अवधी पत्रकार संघ नेपालले पत्रकारको निःशुल्क आँखा जाँच गरेको हो । आँखा जाँचमा एक जना पत्रकारको मोतिविन्दु देखिएको र करिब दुई दर्जन पत्रकारहरुको आँखामा सुख्खापन लगायतका सामान्य समस्या देखिएको फत्तेबाल आँखा अस्पतालका स्वास्थ्यकर्मी फलक सादिकले बताउनुभयो ।

निःशुल्क आँखा जाँच र औषधी वितरण र चश्मामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । एक जना पत्रकारमा देखिएको मोतिविन्दुको अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माले बताउनुभयो । उहाँका अनुसार पत्रकारको बुवा, आमा र श्रीमतीलाई आँखाको मोतिविन्दु देखिएमा उनीहरुको शल्यक्रियामा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । प्रबन्ध निर्देशक बर्माले अहिले आँखा पाक्ने रोगको संक्रमण समेत रहेको र पत्रकारहरु बढी जोखिममा पर्ने भएकाले पत्रकारहरुको आँखा जाँच कार्यक्रमका लागि सहयोग गरिएको बताउनुभयो ।

आँखा जाँच कार्यक्रमको शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले संघले पत्रकारहरुका लागि गरिएको सामाजिक तथा मानविय सेवा अन्र्तगतको कार्यक्रमले पत्रकारहरु बढी लाभ लिएको बताउनुभयो । उहाँले मानिसको सबैभन्दा बढी सम्बेदनशिल आँखा भएकाले आँखाको परिक्षणमा बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । फत्तेबाल आँखा अस्पतालका लेखा प्रमुख जीतबहादुर चौधरीले अस्पतालबाट प्रवाह गर्ने सेवाको बारेमा जानकारी गराउदै आँखाको बढी हेरचाह गर्नुपर्नेमा जोड दिनुभयो ।

शुभारम्भ कार्यक्रममा पत्रकार महासंघ लुम्विनी प्रदेश सचिव जयसिंह केसी, सदस्य मो। आरिफ अन्सारी, प्रेस युनियनका प्रदेश महासचिव नवीन गिरी, बाँके अध्यक्ष प्रियास्मृति ढकाल, युनियनका निवर्तमान अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकाय, अवधी पत्रकार संघका संस्थापक अध्यक्ष सुर्यलाल यादव, युनियन बाँकेका निवर्तमान सचिव विजय मल्ल, अवधी पत्रकार संघका जिल्ला अध्यक्ष प्रहलाद विश्वकर्मा, सल्लाहकार माधवराम बर्मा, शिव प्रसाद पाठक लगायतको उपस्थिती रहेको थियो ।

  • २९ भाद्र २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech