भेरीमा १४ वर्षका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सुरु

    • स्वास्थ्य पेज

  • २७ भाद्र २०८०, बुधबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सुरु गरिएको छ । अस्पतालबाट तीन दिनसम्म खोपको पहिलो मात्रा दिइने भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.पवनजंग रायमाझीले जानकारी दिनुभयो ।

देशका सात प्रदेशका सात वटा संघीय अस्पतालबाट पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने कार्ययोजना बमोजिम भेरी अस्पतालमा पनि खोप लगाउन लगाउन सुरु गरिएको हो ।

पहिलो चरणमा भेरी अस्पतालबाट १ हजार २१५ जना किशोरीलाई खोप लगाइनेछ । त्यसका लागि भेरीमा २ हजार ४३० भाइल खोप आएको छ । १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी एच.पि.भी. खोप दिने योजना भएपनि पर्याप्त खोप नभएका कारण १४ वर्ष पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई मात्र खोप लगाउन थालिएको उहाँको भनाइ छ । २०६५ भदौ ३० गतेदेखि २०६६ भदौ ३० गतेभित्र १४ वर्ष पूरा भएका किशोरीलाई खोप लगाइनेछ ।

एच.पि.भी. खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्दछ । यो खोपको दुई मात्रा पूरा गरेमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिएको बताइएको छ । नेपालमा खोपको उपलब्धता र साझेदार निकायको सहयोगमा एच.पि.भी.खोपलाई विस्तार गर्दै १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई समेत खोप लगाउने गरी निकट भविष्यमा राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने छ । खोप लगाउन जाँदा उमेर खुल्ने आधिकारिक प्रमाण लिएर जानुपर्नेछ ।

नेपालमा सबैभन्दा बढी हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पर्दछ । पछिल्लो तथ्यांक अनुसार नेपालमा प्रति एक लाखमा नयाँ विरामी पत्ता लाग्ने दर १६.४ प्रतिशत छ । पाठेघरको मुखको क्यान्सर मुख्यतः संक्रमित व्यक्तिसंगको यौन सम्पर्कबाट सर्दछ । यसको संक्रमण पुरुषमा पनि हुन्छ र पुरुषबाट महिलामा सर्दछ ।

  • २७ भाद्र २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech