बाँकेका अधिकांश पत्रकारहरुका मिर्गौला स्वस्थ

    • स्वास्थ्य पेज

  • २६ भाद्र २०८०, मंगलवार

नेपालगन्जः बाँकेका अधिकांश पत्रकारहरुका मिर्गौला स्वस्थ रहेको पाइएको छ । ६८ जना पत्रकारहरुको मंगलबार निःशुल्क मिर्गौला परीक्षण गरिएकोमा अधिकांशको स्वस्थ देखिएको युरोलोजिष्ट डा. दिपेश गुप्ताले जानकारी दिनुभयो । नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी स्वर्गिय पन्नालाल गुप्त ‘चाचाजी’ को ९५ औं जन्मजयन्तीका अवसरमा युनियन बाँके शाखा र पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानको संयुक्त आयोजना तथा सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जको सहकार्यमा पत्रकारहरुलाई लक्षित गरेर निःशुल्क मिर्गौला परीक्षणको आयोजना गरिएको थियो ।

सेन्ट्रल सिटी हस्पिटलका म्यानेजर किरण ऐरीले ७३ जना सहभागी भएको कार्यक्रममा ६८ जना पत्रकारहरुको मिर्गौला परीक्षण गरिएको बताउनुभयो । उहाँका अनुसार हस्पिटलका निर्देशक समेत रहेका युरोलोजिष्ट डा.गुप्ता र प्याथोलोजिष्ट डा. शर्मिला गुप्ताले पत्रकारहरुको स्वास्थ्य परिक्षण गर्नुभएको हो । ‘६८ जना पत्रकारहरुले आज मिर्गौला परीक्षण गराउनु भयो-‘ऐरीले भन्नुभयो उहाँहरुको रगत र पिसाबको नमुना लिएर मिर्गौला परिक्षण गरेका थियौं । अधिकांस पत्रकारहरुको मिर्गौलाको अवस्था सामान्य रहेको र कतिपय पत्रकारहरुमा मधुमेह देखिएको हस्पिटलले जनाएको छ ।’

सेन्ट्रल सिटी हस्पिटल परिसरमा युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको सभापतित्व एवम् युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको थियो । युनियन बाँकेका अध्यक्ष ढकालले सञ्चारकर्मीका लागि स्वास्थ्य नै महत्वपुर्ण भएकाले विगतका वर्षझै यसपटक पनि युनियन बाँकेले निःशुल्क मिर्गौला परीक्षण कार्यक्रम गरेको बताउनुभयो।

कार्यक्रममा युनियनका वरिष्ठ उपाध्यक्ष केसी, पुर्वमेयर एवम् प्रतिष्ठानका अध्यक्ष विजय गुप्ता, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायले मन्तब्य ब्यक्त गर्नुभएको थियो । युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले स्वागत गर्नुभएको थियो भने उक्त कार्यक्रम सञ्चालन सचिव भिष्म लोधले गर्नुभएको थियो । गतवर्ष पनि आजकै दिन प्रेस युनियन बाँके र पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानले सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जको सहकार्यमा सञ्चारकर्मीको निःशुल्क मृगौला परिक्षण गरिएको थियो । त्यतिबेला कुल ४७ जनाले निःशुल्क मृगौला परिक्षण गराएका थिए ।

  • २६ भाद्र २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech