पत्रकारहरुका लागि भोलि नेपालगन्जमा निःशुल्क मिर्गौला परीक्षण हुने

    • स्वास्थ्य पेज

  • २५ भाद्र २०८०, सोमबार

नेपालगन्जः पत्रकारहरुका लागि नेपालगन्जमा निःशुल्क मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको छ । नेपाल प्रेस युनियन बाँके शाखाका संस्थापक अध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी स्व.पन्नालाल गुप्त ‘चाचा’ को ९५ औं जन्मजयन्तीको अवसरमा भोलि विहान सेन्ट्रल सिटी हस्पिटलमा निःशुल्क मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल प्रेस युनियन बाँके शाखा र वरिष्ठ पत्रकार स्व.पन्नालाल गुप्त प्रतिष्ठानको आयोजना तथा सेन्ट्रल सिटी हस्पिटलको सहकार्यमा मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको सचिव भिष्म लोधले जानकारी दिनुभयो । ‘भोलि २६ गते मंगलवार विहान ७ बजेदेखि १० बजेसम्म पत्रकारहरुका लागि निःशुल्क मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको छ सचिव लोधले भन्नुभयो–‘यसले पत्रकारहरुलाई आफ्नो स्वास्थ्य सजगतासँगै मिर्गौलाको अवस्थाबारे पनि थाहा हुनेछ । समस्या देखिए समयमै रोगको पहिचान गरेर उपचारमा पनि सहजता मिल्नेछ ।’

पछिल्लो समय अस्वस्थ खानपान, फेरिँदो जीवनशैली लगायतका कारणले मिर्गौलाको समस्या विकराल बन्दै गएको छ । वरिष्ठ युरोलोजिष्ट डा. दिपेश गुप्ता नेतृत्वको टिमले पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्नेपनि सचिव लोधले बताउनुभयो ।

योसँगै स्व.गुप्तको जन्मजयन्तीमा पर्सि २७ गते नेपालगन्ज महेन्द्र पुस्तकालयमा दिउँसो अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको छ । पत्रकारिताको वर्तमान अवस्था, सम्भावना र चुनौति विषयक उक्त अन्तरक्रियामा यसक्षेत्रका नागरिक समाज, अधिबक्ता, बुद्धिजीवि, संचारकर्मी लगायतको उपस्थिति रहने छ ।

  • २५ भाद्र २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech