दाँत किन खिइन्छ ?

पछिल्लो समय दाँत खिइने समस्या बढ्दै गएको छ । अस्वस्थ जीवनशैली, तनावपूर्ण वातावरणका कारण दाँत खिइने र टुक्रिने समस्या बढ्दै गएकोछ ।


    • स्वास्थ्य पेज

  • १५ भाद्र २०८०, शुक्रबार

पछिल्लो समय दाँत खिइने समस्या बढ्दै गएको छ । अस्वस्थ जीवनशैली, तनावपूर्ण वातावरणका कारण दाँत खिइने र टुक्रिने समस्या बढ्दै गएको दन्त चिकित्सक निल पाण्डेको भनाइ छ । दाँत खिइने र यसको समाधानको विषयमा उहाँसँग गरिएको कुराकानी

दाँत खिइने कस्तो समस्या हो ?

हाम्रा दाँतमा हिमाल, पहाड, तराई जस्तो उतारचढाव हुन्छ । त्यत्तिकै रह्यो भने त्यसलाई राम्रो मानिन्छ । दाँत खिइनु भनेको दाँतको लहरमा उतारचढाव हुनु हो । दाँतमा कीरा लागेको छैन, खाना खान अप्ठ्यारो हुने तर दाँतको सतह चाहीँ घट्दै जान्छ भने त्यो दाँत खिइएको हो । ६० वर्षको उमेरसम्म १ मिलिमिटर दाँत खिइनुलाई सामान्य मानिन्छ । त्यो भन्दा बढी खिइएमा भने उपचार गर्नु आवश्यक हुन्छ ।

दाँत के कारणले खिइन्छ ?

अम्लीय खानपानदेखि दाँतको वनावट माथि तलको हड्डीको जोडाई तनावले गर्दा दाँत किटिने बानी आदि अवस्थाले गर्दा दाँत खिइन्छ । दिउँसो वा राति जुनसुुकै समयमा पनि व्यक्तिले दाँत किटिरहेका हुन्छन् । दाँत किट्ने गरेमा पनि खिइन्छ । साथै पेय पदार्थ तथा जंकफुड दाँत खिइने मुख्य कारण हुन् । सुपारी, मकै, भटमास कडा हुने भएकाले यी खानेकुरा खाँदा दाँत घर्षण भई खिइन्छ । ब्रस गर्न नजान्दा पनि यो समस्या देखा पर्न सक्छ । कतिपयले अगाडि–पछाडि तल–माथि ब्रस गरिरहेका हुन्छन् जुन गलत छ । ब्रस दाँत अगाडि–पछाडि गर्ने होइन तल–माथि गर्नुपर्छ ।

दाँत खिइएको कसरी थाहा हुन्छ ?

आफ्नो दाँत बारम्बार हेर्ने बानी बसाल्नुपर्छ । दाँतको बाहिरी सतहमा इनामेल हुन्छ भने भित्री सतहमा डेन्टिन पहेंलो हुन्छ । पहिलाको सेपबाट दाँत परिवर्तन हुँदै आएको छ भने त्यो खिइएको हो । दाँत सिरिङ हुने अनि केही कुरा खाँदा कुँडिएजस्तो हुन्छ भने पनि दाँत खिइएको हो भनेर थाहा हुनसक्छ ।

यसको उपचार विधि के–कस्तो छ ?

यसको उपचार विधि जटिल छ । दाँत खिँइदा सबै दाँत को उपचार गर्नुपर्छ । खिइएको दाँतलाई फिर्ता ल्याउनु नै हाम्रो बेस्ट उपचार हुन्छ । अरु दाँतलाई पनि काटेर पहिले नै त्यसलाई खोल लगाउनु उपयुक्त हुँदैन  । फिलिङको माध्यमबाट दक्ष दन्त चिकित्सकद्वारा दाँत भर्नुपर्छ । त्यसपछि दा“तको अवस्था हेरी दाँत मा खोल लगाएर पनि उपचार गर्न सकिन्छ । यसलाई ‘प्रिभेन्टिभ इन्टरसेप्टिभ ट्रिटमेन्ट’ उपचार पद्धती भनिन्छ । दाँत र हड्डीको वनावट मिलेको छैन भने दाँत मिलाउने (अर्थोडन्टिक) उपचार गर्नु राम्रो हुन्छ ।

बचाउन के गर्ने ?

खाना वा खाजा जे खाए पनि कुल्ला गरिहाल्ने यसको मुख्य समाधान हो । कुल्ला गरेर थुक्न मिल्दैन भने पानी निल्दा पनि हुन्छ । अम्लीयपनयुक्त कुराहरु खानुहुँदैन । दाँत किट्ने बानी नगर्ने, तनाव मुक्त रहनुपर्छ । धेरै समस्या छ भने राति सुत्दा नाइट गार्ड प्रयोग गर्दा पनि दाँत सुरक्षित रहन्छ । दाँतको अवस्था हेरेर फिलिङ पनि गर्न सकिन्छ ।

यो कति खर्चिलो छ ?

यो उपचार विधि खर्चिलो छ । चिकित्सकका लागि पनि यो जटिल उपचार विधि हो । एउटा दाँतका लागि कम्तीमा पनि पाँच हजारदेखि १० हजार रुपैयाँसम्म लाग्न सक्छ । सबै दाँतमा एकैपटक उपचार गर्नुपर्दा महँगो हुन्छ । क्राउन लगाउनुपरेमा खर्च बढ्दै जान्छ । त्यसैले पहिले नै रोकथाम एवं बचावटमा ध्यान दिनुपर्छ ।

  • १५ भाद्र २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech