लम्पी स्किनविरुद्धको खोप बनाउन गृहकार्य

    • स्वास्थ्य पेज

  • ९ भाद्र २०८०, शनिबार

नेपालगन्जः पशुमा देखा परेको लम्पी स्किन रोगविरुद्धको खोप उत्पादन गर्न सरकारले गृहकार्य थालेको छ। उत्पादित खोप किसानहरूलाई निःशुल्क रूपमा उपलब्ध गराउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको योजना छ।

मन्त्रालयका अनुसार किसानहरूलाई निःशुल्क उपलब्ध गराउने प्रयोजनका लागि लम्पी स्किन भाइरसको सिड प्राप्त गर्न मित्रराष्ट्रहरूमा पहल भइरहेको छ। मन्त्रालयका सहप्रवक्ता वरिष्ठ पशु चिकित्सक डा तपेन्द्रप्रसाद बोहराले प्रकोपको रूपमा देखा परेको लम्पी स्किन रोगको नियन्त्रणका लागि सबै प्रदेश र स्थानीय तहहरूमा बजेट विनियोजन गरिसकेको बताउनुभयो ।

उहाँका अनुसार केही स्थानहरूमा अभियानमुखी खोप कार्यक्रम सम्पन्न भइसकेको छ। यो रोग नियन्त्रणका लागि हाल प्रयोगमा ‘होमोलोगस’ लम्पी स्किन खोप छ। यससँगै सरकारले लम्पी स्किन रोगका कारण पशुधन क्षति भएका किसानलाई राहत उपलब्ध गराउन आवश्यक मापदण्ड तयार भएको तथा नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृतिको प्रक्रियामा रहेको सहप्रवक्ता डा बोहराले जानकारी दिनुभयो ।

नेपालमा पहिलोपटक २०७७ असारमा मोरङको सुन्दरहरैंचाका गाईमा यो रोग देखा परेको थियो। तर, अहिले यसले विकराल रूप लिएको छ। लम्पी स्किन रोगले देशभर १३ लाख ५ हजार ३ सय ६१ मा संक्रमण फैलिएको पशु सेवा विभागको तथ्यांकमा उल्लेख छ।

संक्रमितमध्ये १० लाख ८२ हजार १ सय ५९ पशुहरू उपचारपछि निको भएका छन्। तर अझै हाल १ लाख ७५ हजार ५ सय ५३ सक्रिय संक्रमित छन्। प्रदेशहरूबाट प्राप्त तथ्यांकका आधारमा रोगका कारण मरेको पशु संख्या ४७ हजार ६ सय ४९ पुगेको छ। हालसम्म १३ लाख ६९ हजार डोज खोप आयात भएको छ। हालसम्म ६ लाख ८६ हजार ४ सय ५० पशुलाई खोप लगाइएको छ।

७७ वटै जिल्लामा संक्रमण पुष्टि भएकोमा हाल मनाङ र मुस्ताङ जिल्लाहरूमा यो रोग पूर्णरूपमा नियन्त्रणमा आइसकेको विभागको दाबी छ। डा बोहराका अनुसार यस रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोसी प्रदेशका मध्यपहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित भएकोमा यो रोग पहाडी जिल्लाहरूमाघट्दो क्रममा रहेको र मधेस तथा बागमती प्रदेशका केही जिल्ला र तराईमा यसको संक्रमण देखिइरहेको छ ।

मन्त्रालयका अनुसार भारतीय समकक्षी तथा अन्य सरोकारवाला निकायसँग भएको समन्वयमा लम्पी स्किन रोगविरुद्धको खोप र स्वदेशमै लम्पी स्किन रोगविरुद्धको खोप उत्पादन गर्न आवश्यक मास्टर सिड निःशुल्क उपलब्ध गराउन समन्वयसमेत भएको छ।

  • ९ भाद्र २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech