नवजात शिशु बिक्री प्रकरणः दुई नर्ससहित थप चार जना पक्राउ

    • स्वास्थ्य पेज

  • ६ भाद्र २०८०, बुधबार

नेपालगन्जः विराटनगरस्थित ग्रीनक्रस हस्पिटलमा जन्म भएको नवजात शिशु बेचेको घटनामा संलग्न थप चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप पक्राउ पर्नेमा नवजात शिशु खरिद गर्ने, हस्पिटलका नर्स र पाँच लाखमा शिशु बेच्ने डा तपेश्वरलाल कर्णका सहयोगी नर्स रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ग्रीनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया नर्स सुधा राजवंशी, कटहरी गाउँपालिका २ की ४६ वर्षीया दिलमाया राजवंशी, ३० वर्षीय सुर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया निर्मला यादवलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिनुभयो । पक्राउ पर्नेमध्ये डा कर्णसँग उक्त शिशु खरिद गर्ने दिलमाया र उहाँका छोरा सूर्यनारायण, दिदी सुधा राजवंशी र चिकित्सकका सहयोगी निर्मलालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

डा कर्णले ग्रीनक्रस अस्पतालको ओटी विभागमा कार्यरत सुधामार्फत उक्त शिशुलाई बिक्री गरेको खुलेको छ । शिशु खरिद गर्ने निःसन्तान राजवंशी दम्पत्ति सुधाका नातेदार रहेको पाइएको छ । प्रहरीले डा कर्ण र शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई ‘व्यक्ति वेपत्ता पारेको कसुरमा’ आइतबारबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

कोशी अस्पतालका पूर्वमेसु तथा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा कर्णले अविवाहित जोडीबाट विराटनगरस्थित ग्रीनक्रस हस्पिटलमा जन्म भएको नवजात शिशु पाँच लाख रुपैयाँ लिएर बेचेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विवाह भएको एक दशक बितिसक्दा पनि दिमायाको छोरा–बुहारीको सन्तान नभएकोले शिशु खरिद गरेको प्रहरीले जनाएको छ ।

  • ६ भाद्र २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech