लम्पी स्किन रोगले सुदुरपश्चिम र कर्णाली प्रदेशका पशु बढी प्रभावित

    • स्वास्थ्य पेज

  • २१ असार २०८०, बिहीबार

नेपालगन्जः लम्पी स्किन रोगले सुदुरपश्चिम र कर्णाली प्रदेशका पशु बढी प्रभावित भएका छन् । यद्यपी गाईवस्तुमा लाग्ने यो रोग देशभर फैलिएको छ । विसं २०७७ असारमा मोरङ जिल्लाबाट फैलिएको पशुमा लाग्ने लम्पी स्किन रोग हालसम्म देशभरि फैलिएको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिनुभयो।

पशु सेवा विभागका अनुसार हालसम्म देशभर छ लाख ९० हजार छ सय ९७ सङ्क्रमित पशुमध्ये २५ हजार सात ८२ पशु मरेका छन् भने चार लाख १४ हजार तीन सय २८ पशु निको भएका छन् । त्यसैगरी दुई लाख ५० हजार पाँच सय ८७ पशु हालको समयमा सङ्क्रमित रहेका छन् ।

विभागका सूचना अधिकारी ढकालका अनुसार हालसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा लम्पी स्किन रोगबाट धेरै पशु मरेका छन् भने धेरै पशु सङ्क्रमित अवस्थामा छन् । सुदूरपश्चिम प्रदेशमा जम्मा दुई लाख सात सय ९८ सङ्क्रमित पशुमध्ये १० हजार नौ सय ३९ पशु मरेका छन् भने एक लाख २० हजार चार सय ७९ पशु निको भएका छन् । त्यसैगरी हालको समयमा सुदूरपश्चिम प्रदेशमा ६९ हजार तीन सय ८० पशु सङ्क्रमित रहेका छन् ।

त्यसैगरी हालसम्म कर्णाली प्रदेशका एक लाख ८९ हजार १५ सङ्क्रमित पशुमध्ये छ हजार सात सय ४१ मरेका छन् भने एक लाख १३ हजार चार सय नौ पशु निको भएका छन् । ६८ हजार आठ सय ६५ पशु भने अझै सङ्क्रमित अवस्थामा छन् ।

हालसम्म कोशी प्रदेशमा तीन हजार छ सय १४, मधेस प्रदेशमा एक सय एक, बागमती प्रदेशमा आठ सय ६६, गण्डकी प्रदेशमा सात सय ४१, र लुम्बिनी प्रदेशमा दुई हजार सात सय ८० पशु मरेका छन् ।

देशभरि फैलिएको लम्पी स्किन रोगको न्यूनीकरणका लागि पशु सेवा विभाग निरन्तररूपमा लागिपरेको सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिनुभयो । हालसम्म एक लाख ८० हजार नौ सय २२ पशुलाई खोप लगाइएको छ ।

सूचना अधिकारी ढकालका अनुसार प्रभावित पशुको उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरिएको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि प्रत्येक स्थानीय तहमा यो महामारी नियन्त्रणका लागि सङ्घीय सशर्त अनुदानअन्तर्गत रु एक लाखका दरले रकम विनियोजन गरिएको छ ।

लम्पी स्किन रोग लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने, र्यालसिँगान बग्नेजस्ता लक्षण देखा पर्दछन् । सरुवा रोग भएको कारण सङ्क्रमित पशुलाई छुट्टै राख्न पशु सेवा विभागको किसानलाई सुझाव रहेको छ ।

  • २१ असार २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech