हिलोका कारण छालामा देखिन सक्छन् यस्ता समस्या, कसरी जोगिने ?

    • स्वास्थ्य पेज

  • १६ असार २०८०, शनिबार

असारको महिना, धेरैले खेतमा समय बिताईरहेको बेला पनि हुन सक्छ । वर्खायाममा खेतवारीको काममा व्यस्त हुने र हिलोमा धेरै समय काम गर्नुपर्ने हुनाले यो बेला हिलोका कारण छालामा विभिन्न समस्याहरु देखा पर्न सक्छन् ।  हाम्रो हातखुट्टाको औँला हिलोले खाने गर्दछ ।

हात र खुट्टाको औँलाको विचमा चिलाउने, रातो हुने र छाला उक्किएर सेता हुने गर्छ । कसै कसैलाई त हिलोका कारण छाला पाक्ने समस्या पनि हुने गर्छ । हिलोले हात खुट्टा चिलाउने र पाक्ने समस्या सहरी क्षेत्रमा भन्दा बढी ग्रामीण क्षेत्रमा दखिन्छ । ग्रामिण क्षेत्रमा पानी परेको बेलामा खेतबारीको काम गर्नु पर्ने भएको कारण टाढा टाढाबाट भेल आएर फोहोर समेत बगाउँने भएकाले यस्तो समस्या हुन्छ ।

शहरी क्षेत्रमा पनि पानी परेकाले सडकमा हिलो हुने कारणले धेरै मानिसहरू यो समस्या देखिन्छ । सामान्यतया सरसफाइमा ध्यान नदिँदा, शरीर गुम्स्याएर राख्दा र पानीमा धेरै खेल्दा फंगस रोग लाग्छ । अझ हिलोमा धेरै समय बिताउनु पर्ने बाध्यता रहेकालाई त झन यो समस्या बढी हुने गर्छ ।

छालाको यो समस्यालाई हिलोले खाने वा ढुसी पनि भनिन्छ। यो समस्या खासगरी ‘क्यान्डिडा’ नामक एक प्रकारको फंगस (ढुसी) को कारण हुन्छ । फंगस भएमा हात र खुट्टाको औँलाको कापमा चिलाउने, रातो हुने र छालाको पत्र उप्किने, दुबी जस्तो सेतो दाग देखिने र फोका उठ्ने जस्ता समस्या देखिन्छन्।

हिलोले खाने समस्याको उपचारका लागि हामीमध्ये कतिपयले घरेलु औषधिको प्रयोग गर्छौं । एलर्जी भएको भनेर जस्तो पायो त्यस्तै औषधि प्रयोग गरेमा रोगले थप जटिल स्वरुप लिन सक्छ । जसका कारण डाक्टरले रोग पहिचान गर्न गाह्रो हुन्छ भने उपचार गर्न पनि धेरै समय लाग्छ। त्यसैले समयमै चिकित्सकको सल्लाह लिएर उपचार नगरे हिलोले खाएर कहिलेकाहीँ ठूलै समस्याको रुप पनि लिन सक्छ।

रोकथाम र उपचार विधि के ?

रोकथाम र उपचार धेरै पानिको प्रयागेलाई कम गर्नुको साथै हात र खुट्टा सुख्खा राख्न सकिएमा हात र खुट्टा हिलोले खान पाउँदैन । अत्याधिक पानीको प्रयोग गर्नुपरे हातमा पन्जा लगाउन उपयुक्त हुन्छ । खुट्टामा पानी परिसकेपछि सफा कपडाले खुट्टा सुख्खा बनाउने गर्नुपर्छ । फन्गस मर्ने औषधि सजिलै बजारमा पाइने हुनाले यस्तो क्रिमको प्रयोग गरेमा यो रोग सजिलै निको हुने चिकित्सकको भनाई छ ।

बारम्वार बल्झि राखेको अवस्था भए चर्मरोग विशेषज्ञसँग परामर्श लिएर औषधि उपचार गर्नु पर्ने हुन्छ ।

रोकथामका लागि अन्य यी कुरामा ध्यान दिन आवश्यक छ :

. सकेसम्म हिलोमा काम नगर्ने ।

. पानीको प्रयोगलाइ घटाएर कम गर्नुको साथै हात खुट्टा सुख्खा राख्न सक्नुपर्छ ।

. खेतवारीको काम गर्दा खुट्टामा जुत्ता ( छालका बुट ) लगाउनु उपयुक्त हुने र पानी परिसकेको खण्डमा सफा कपडाले खुट्टालाइ सफा बनाउनुपर्छ ।

. साथै हिलोमा पसेर काम गर्नुपर्ने अवस्था आएमा हात, खुट्टा र औँलाको कापमा भ्यासेलिन, तेल वा अन्य कुनै मोइस्चराइजर दल्नु राम्रो हुन्छ ।

. कामले जतिसुकै थाके पनि हातखुट्टा धोएर सुक्खा बनाइ क्रिम वा जेल लगाएमा पनि हिलोले खाने रोगबाट बच्न सकिन्छ ।

. हिलोमा यात्रा गर्दा विशेष सावधानी अपनाउने ।

 

 

  • १६ असार २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech