बाँकेलाई भोलि पूर्ण खोप सुनिश्चितता, किन आवश्यक छ बालबालिकालाई खोप ?

    • स्वास्थ्य पेज

  • १३ असार २०८०, बुधबार

नेपालगन्ज: बाँकेलाई भोलि (बिहीबार)पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिँदै छ । लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले एक कार्यक्रमकाबीच बाँकेलाई प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्न लाग्नु भएको हो । जिल्लाका आठवटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएपपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्न लागिएको हो ।

खोपै नलगाएका १९६ बालबालिका र नियमित तथा पूर्ण खोप नलगाएका १ हजार ३०१ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्न लागिएको छ । डुडुवालाई बैशाख ८, जानकीलाई जेठ २१, खजुरालाई २५, कोहलपुरलाई २६, बैजनाथलाई २९, नरैनापुरलार्य ३१, नेपालगन्जलाई ३२ र राप्तीसोनारीलाई असार ३ गते पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको थियो ।

बालबालिकालाई खोप किन आवश्यक छ ? स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठसँग गरिएको संक्षिप्त कुराकानी

बालबालिकालाई खोप किन आवश्यक छ ?
शिशुको वृद्धि विकास आमाको गर्भदेखि नै सुरु हुन्छ। जन्मपछि शिशुको शारीरिक र मानसिक दुवैको विकास अन्यन्तै महत्वपूर्ण हुन्छ। बालबालिकाको यही वृद्धि विकासको लागि खोप आवश्यक पर्छ। बालबालिकालाई स्वस्थ राख्न, अपांगताबाट बचाउन र मृत्यु हुन नदिन खोप अनिवार्य छ। खोपले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। विभिन्न रोग तथा संक्रमण विरुद्ध लड्नका लागि खोपले शरीरमा शक्ति प्रदान गर्छ। बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले खोप अनिवार्य रुपमा लगाउनुपर्छ। नेपालमा सरकारले १३ प्रकारका खोपहरु निःशुल्क रुपमा उपलब्ध गराउँछ। यी अधिकांश खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ। साथै खोपको सबै मात्रा पूरा गर्नु अनिवार्य मानिन्छ। दुई वर्ष मुनिका बालबालिकालाई भ्यागुते रोग, लहरे खोकी, धुनष्टंकार, हेपाइटाटिस बी, हेमोफिलस इन्फ्लुएन्जा, जापानिज इन्सेफ्लाइटिस, निमोनिया, दादुरा रुबेला लगायत १३ प्रकारका रोगबाट बचाउन खोपहरु दिने गरिन्छ।

बालबालिकाले खोप नै नलगाउनु समस्या हैन ?
दुई वर्षसम्म खोप लगाउन मिल्ने उमेरलाई पाँच वर्षसम्म बनाइएको छ । खोपको मात्रा पूरा गर्नेको संख्यामा सुधार देखिए पनि कुनै पनि खोप नलगाउने बालबालिकाको संख्या बढ्नु चिन्ताजनक छ। बाँकेमा १९६ जना बालबालिकाले खोप लगाएको पाइयो । सबैभन्दा धेरै नेपालगन्जमा १७७ जना रहेको पाइयो । नियमित खोप छुट्ने बालबालिकाको संख्या १ हजार ३०१ जना पाइष्यो । पूर्ण खोप प्राप्तिका लागि हरेक वडा र पालिकामा फागुन र चैतमा सर्वेक्षण गरिएको थियो । उक्त सर्वेक्षणबाट खोप नलगाएका र छुटेका बालबालिकाको पत्ता लागेको हो । र, उनीहरुलाई खोपको पहुँचमा ल्याइएको छ । १५ महिनासम्म खोप लगाउन छुटेका बच्चाहरुलाई पहिले दुई वर्षसम्म खोप लगाउन सकिने प्रावधान थियो। तर अब यो उमेर अवधि पाँच वर्षसम्म पु¥याइएको छ। अर्थात् नियमित खोप लगाउन छुटेका बालबालिकाले पाँच वर्षको उमेरसम्म खोप लगाउन सक्छन्।

खोप नलगाए के हुन्छ ?
खोप लगाउन छुट्ने बालबालिकाको संख्या बढ्दै गए बच्चाहरुमा विभिन्न र संक्रमण देखिन सक्छ। नेपालगन्जमा दादुरा महामारी फैलिनु पनि खोप नलगाउनु मुख्य कारण हो । दादुराको संक्रमण फैलियो भने नियन्त्रण गर्न चुनौतीपूर्ण नै हुन्छ । ‘एउटा मात्र दादुराको बिरामी देखियो भने समस्या हुन सक्छ। खोप लगाउन छुट्ने बच्चाको संख्या बढ्दै गए रोग देखिन सक्छ । नियमित कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नु त पर्छ नै छुटेकालाई विशेष कार्यक्रम सञ्चालन गरेर खोप लगाउनुपर्छ।

  • १३ असार २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech