आज विश्व सिकलसेल दिवस: सिकलसेललाई वंशाणुगत रूपमा सर्न बाट रोक्न के गर्ने?

बर्दियाको बारबर्दिया नगरपालिकाले सिकलसेलसम्बन्धी पाठ्यक्रम नै बनाएर विद्यालय तहमा पठनपाठन सुरु गरेको  छ । कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकाले पनि सिकलसेलका सवालमा राम्रो काम गरेको छ । जेजति प्रयत्न भएका छन्, ती सकारात्मक छन् । तर, पर्याप्त छैनन् ।  


    • स्वास्थ्य पेज

  • ४ असार २०८०, सोमबार

आज विश्व सिकलसेल दिवस, सिकलसेल एनिमिया सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइँदैछ । बाँके, बर्दिया, कैलाली, कंचनपुर, दाङ सहित थारुबाहुल जिल्लामा सिकलसेलको प्रभावबढि छ । सिकलसेल एनिमियाका पश्चिम तराईका आदिवासी थारु समुदायमा देखिएको वंशाणुगत रोग हो ।

थारु समुदायका करिब १० प्रतिशत व्यक्ति सिकलसेल एनिमियासम्बन्धी रोगबाट प्रभावित छन् । थारु समुदायले वर्षौंदेखि भोग्दै आएको रगतसम्बन्धी यो समस्या सिकलसेल हो भन्ने ठम्याएर उपचारको पहुँचमा ल्याउन जस भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेलाई जान्छ ।

सिकलसेललाई वंशाणुगत रूपमा सर्न रोक्न उहाँले थारु युवायुवतीलाई लक्षित गरी सिकलसेल कुण्डली समेत बनाउनु भएको छ । प्रस्तुत छ, सिकलसेल विज्ञ डा पाण्डेसँग गरिएको संक्षिप्त कुराकानी ?

सिकलसेल कुण्डली भनेको के हो ?

सिकलसेल रोग वंशाणुगत रूपमा सर्ने रोग हो । सिकलसेलसम्बन्धी समस्या दुई किसिमको हुन्छ ।  सिकलसेल बाहक र सिकसेल बिरामी । सिकलसेल बाहक भएका व्यक्तिमा स्वास्थ्यसम्बन्धी कुनै समस्या हुँदैन । तर रोगीमा भने हातखुट्टा र शरीरका जोर्नीहरु दुख्ने, रगतको कमी हुनेजस्ता लक्षण देखिन्छ ।

सिकलसेलसम्बन्धी समस्या भएका बिरामीले बिहेबारी गर्दा कस्तो सावधानी अपनाउनुपर्छ भन्ने जानकारी सहज रूपमा सबैले बुझ्ने गरी दिने उद्देश्यले सिकलसेल कुण्डली तयार पारिएको हो । नेपालमा भर्खरै सुरु भएकाले यो नौलो लागेको हो ।

सिकलसेल सम्बन्धी समस्या भएका भारतका विभिन्न शहरहरूमा धेरै वर्ष पहिलेदेखि नै सिकलसेल कुण्डली प्रयोग हुँदै आएको छ । युवायुवतीलाई सिकलसेल कसरी नयाँ पुस्तामा सर्छ भन्ने प्रस्ट जानकारी दिन सिकलसेल कुण्डली प्रयोगमा ल्याइएको हो । यसले सचेतना अभिवृद्धि गर्न सहयोग पुर्‍याएको छ ।

सिकलसेल रोग भए नभएको कसरी थाहा पाउने ?

रगतको हेमोग्लोबिन इलेक्ट्रोफोसिस परीक्षण गरेपछि सिकलसेलसम्बन्धी समस्या भए नभएको थाहा हुन्छ । यो परीक्षण सुविधा नेपालगञ्जको भेरी अस्पताललगायत विभिन्न निजी स्वास्थ्य संस्थाहरूमा पनि छ ।

पछिल्ला दिनहरूमा थारु समुदायको बाहुल्य भएका जिल्ला अस्पतालका साथै गाउँ तथा नगरपालिकाका स्वास्थ्य संस्थाहरूमा पनि हेमोग्लोबिन इलेक्ट्रोफोसिस परीक्षण सुविधा छ । भेरी अस्पतालले चिकित्सकको सिफारिसमा हेमोग्लोबिन इलेक्ट्रोफोसिस परीक्षण निःशुल्क गरेको छ ।

भेरी अस्पतालमा दैनिक २० देखि ३० जनाले परीक्षण गराइरहेका छन् । परीक्षण गराएकामध्ये करिब १० प्रतिशतमा सिकलसेलसम्बन्धी समस्या देखिएको छ ।

अहिलेसम्म सिकलसेलका कति रोग पत्ता लागे ?

नेपालगञ्जको भेरी अस्पतालबाट मात्र अहिलेसम्म ९ सय बढि बिरामीले उपचार सेवा लिइरहेका छन् ।  सिकलसेल एनिमिया रोग लागेका सबै बिरामीलाई सरकारले २०७२ भदौदेखि नेपालगञ्जको भेरी अस्पतालबाट १ लाख रुपैयाँसम्म निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि उपलब्ध गराउँदै आएको छ ।

सिकलसेल रोगबारे जेजस्तो जनचेतना दिइएको छ, त्यो पर्याप्त छ ?  

सिकलसेल रोगबारे नेपालमा चर्चा सुरु भएको करिब एक दशक जति भयो । पछिल्ला दिनहरूमा संघीय, प्रदेश र स्थानीय सरकारले पनि सिकलसेल रोगको पहिचान र उपचारसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । स्वास्थ्यकर्मीलाई तालिम दिने गरिएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिकाले सिकलसेलसम्बन्धी पाठ्यक्रम नै बनाएर विद्यालय तहमा पठनपाठन सुरु गरेको  छ । कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकाले पनि सिकलसेलका सवालमा राम्रो काम गरेको छ । जेजति प्रयत्न भएका छन्, ती सकारात्मक छन् । तर, पर्याप्त छैनन् ।

सिकलसेल उपचारपछि निको हुन्छ ?

सिकलसेलका रोगीमा  हातखुट्टा र शरीरका जोर्नीहरू दुख्ने, रगतको कमी हुनेजस्ता लक्षण देखिन्छन् । सिकलसेल रोग उपचार गरेर पूर्ण रूपमा निको हुँदैन । तर, चिकित्सकहरूको परामर्शमा आजीवन औषधि खाएर नियन्त्रणमा राख्न सकिन्छ ।

  • ४ असार २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech