बालबच्चालाई चकलेटले कस्तो हानि गर्छ ? यस्ता छन् बेफाइदा

    • स्वास्थ्य पेज

  • २ असार २०८०, शनिबार

मनपर्ने खानेकुराको नाम के हो ? बालबालिकालाई यो प्रश्न सोध्ने हो भने उनीहरुले हत्तपत्त जवाफ दिइहाल्छन्च कलेट । चकलेटमा हुने गुलियोपन र त्यसको आकर्षक स्वरूपमा उनीहरु लोभिने गर्छन् ।

त्यसैले त अभिभावक पनि आफ्ना बालबच्चा कुनै कुरामा रिसाए वा रुँदा चकलेटको प्रलोभन दिएर सम्झाउँछन् । यस्तोमा बच्चाहरु पनि चकलेट दिंदा मख्ख पर्ने र नपाउँदा डाँको छोडेर रुने गर्छन् । आमाबाबुले दिएको यो लोभपछि बच्चाहरूको बानी बन्छ । चकलेट अत्यधिक खाने बानीले उनीहरुको स्वास्थ्यमा असर पुग्ने चिकित्सकहरु बताउँछन् ।

यस्ता छन् बेफाइदा

पौष्टिक तत्वका अभाव

अत्यधिक मात्रामा चकलेट खाने बानी स्वास्थ्यको हिसाबले फाइदाजनक नहुने बालरोग विशेषज्ञ डा सन्तोष पोखरेलको भनाइ छ । उहाँका अनुसार चकलेटले पेटलाई टन्न पारिदिन्छ । अन्य खानेकुरा नखाँदा शरीर राम्रोसँग वृद्धि विकास हुन पाउँदैन ।

‘बच्चालाई जति चकलेट दिइन्छ, त्यति उनीहरुमा चुरोटको लत लागेजस्तै चकलेटको लत लाग्छ । यसले उनीहरुलाई चकलेटबाहेक अन्य खानेकुरा खानै मन नलाग्ने गराउँछ,’ उहाँले भन्नुभयो, ‘फलस्वरूप पौष्टिक तत्वको कमी हुन्छ र उनीहरु कमजोर हुँदै जान्छन् ।’

मोटोपन

चकलेटमा पाइने चिनीले शरीरमा चिनीको स्तर बढाइदिन्छ । अझ मोटोपन भएका बालबालिकामा मधुमेह गराउन पनि चकलेट कारकको रुपमा देखा पर्न सक्ने डा। पोखरेलको भनाइ छ । अत्यधिक चकलेटको सेवनले बालबालिकामा मोटोपनको पनि समस्या ल्याउँछ ।

बेचैन गराउँछ

डा पोखरेलका अनुसार चकलेटमा चिनी, थियोब्रोमाइन र फेनिलेथिलामाइन जस्ता अन्य धेरै उत्तेजक तत्व हुन्छन्, जसले बच्चाको स्नायु प्रणालीलाई हानि पुर्‍याउँछ । वयस्कले जति क्याफिनको भार बालबालिकाले सहन सक्दैनन् ।

यसले बच्चालाई धेरै बेचैन महसुस गराउन सक्ने, पेट दुखाउने समस्या गराउन सक्ने डा पोखरेल बताउनुहुन्छ । त्यसबाहेक यसबारे भएका केही अन्तर्राष्ट्रिय अध्ययन अनुसार चकलेटमा पाइने क्याफिनले मुटुको धड्कन पनि बढाउने हुँदा निद्रामा समस्या समेत देखाउने र चकलेटमा एन्डामाइड एसिडले मस्तिष्कको कार्यलाई हानि पुर्‍याउने देखिएको उनको भनाइ छ ।

दाँतमा असर

चकलेट धेरै खानु दाँतको लागि अति हानिकारक हुने दन्त चिकित्सक डा मनिषा खर्बुजाको भनाइ छ । ‘चकलेटमा हुने चिनी दाँतमा अड्किने र टाँसिने गर्छ । बच्चाहरुमा कुल्ला गर्ने ज्ञान हुँदैन, जसले अड्किएको चकलेटमा जीवाणु फैलिएर एसिड उत्पादन गर्छ,’ उहाँ भन्नुहुन्छ, ‘त्यसले खानेकुरा बिस्तारै दाँतलाई नरम बनाउँदै लैजान्छ । जसकारण दाँतलाई बलियो बनाउने तत्त्व खनिज बिस्तारै खिइँदै जान्छ ।’

दाँत कीरा लाग्ने त छँदैछ, इनामेल पनि उमेर भन्दा छिटो जान सक्ने हुँदा सकेसम्म बच्चालाई चकलेट नदिन र दिए पनि सीमित मात्रामा दिन उहाँको सुझाव छ। तर चकलेट खाएपछि अनिवार्य मुख कुल्ला गर्न सिकाउनुपर्छ ।

चकलेटको बानी कसरी छुटाउने ?

धेरैजसो बालबालिकामा चकलेटको लत नै बसिसकेको हुन्छ । उनीहरु चकलेट नपाए शान्त नै नबस्नेसम्म हुन्छन् । यस्तोमा उनीहरुलाई बिस्तारै यसको लतबाट छुट्कारा दिलाउन फलफूललाई नै आकर्षक ढंगले विभिन्न आकारमा डिजाइन गरेर दिन डा. पोखरेलको सुझाव छ । यसले उनीहरुमा चकलेटको तल बिस्तारै हट्ने र फाइबरजस्ता तत्व बढी खाने हुँदा शरीरलाई पौष्टिक तत्व पुग्ने उहाँको भनाइ छ।

  • २ असार २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech