राप्ती सोनारीले सिकलसेलका बिरामीको निशुल्क बीमा गर्ने

    • स्वास्थ्य पेज

  • २४ जेष्ठ २०८०, बुधबार

नेपालगन्ज: बाँकेको राप्ती सोनारी गाउँपालिकाले सिकलसेल एनिमियाका बिरामीको निशुल्क बीमा गर्ने भएको छ । स्वास्थ्य कार्यालय बाँकेले आज राप्ती सोनारी गाउँपालिका-२ कचनापुर सिकलसेल एनिमियाका बिरामीहरुको रिपोर्ट सार्वजनिकीकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले आगामी आर्थिक वर्ष २०८०/०८१ देखि पालिकाभित्र रहेका सिकलसेलका बिरामीको पालिकाले निशुल्क बीमा गरिदिने बताउनु भएको हो ।

`सिकलसेल भएका बिरामीले जीवनभरी औंषधि खानु पर्ने हुन्छ । निम्न आयस्रोत भएकालाई औंषधि किन्न मुस्किल हुन्छ । बीमा गरिदियो भने त्यसले धेरै सहज हुन्छ । अर्को वर्षदेखि सिकलसेलका बिरामीलाई पालिकाले बीमा कार्यक्रममा समेट्छ उहाँले भन्नुभयो-`बीमा बाफतको शुल्क पालिकाले तिर्छ ।´

राप्ति सोनारीका ४ वटा वडामा स्याम्पलिङ गर्दा ११ जना सिकलसेलका बिरामी फेला परेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो पटक वडा नम्बर ६ कमैयाडाडामा ६३१ जनाको नमूना जाँच गर्दा २ जना रोगी र ३६ जना वाहक फेला परेका छन् भने वडा नम्बर २ कंचनापुरमा ४८७ जनाको नमूना जाँच गर्दा ३ जना रोगी र ४४ जना वाहक फेला परेका छन् ।

गत वर्ष वडा नम्बर ३ र ४ मा २ हजार १९५ जनाको नमूना जाँच गर्दा ६ जना रोगी र २९१ जना वाहक फेला परेका थिए । थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले विज्ञहरुलाई बस्तिस्तरमै पुर्‍याएर स्थानीयबासीलाई सचेत बनाउने काम गरिरहेको छ ।

भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे, मनोसामाजिक परामर्शदाता उषा वलीसहितको टिमले रोगीहरुलाई परामर्श समेत दिने गरेको छ ।

  • २४ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech