नसा च्यापिएको कसरी थाहा पाइन्छ र कसरी उपचार गर्न सक्छौँ ?

    • सुदर्शन बस्नेत/अकुंपञ्चरिष्ट

  • २४ जेष्ठ २०८०, बुधबार

नशा च्यापिने कस्ता प्रकृतिका बिरामीहरु आउँछन् ?

अहिले विशेषगरी कम्मरमा नसा च्यापिने बिरामीहरु बढी भेटिने गर्छन् । यो बढ्नुको कारण चाहिँ बिरामीहरुको पोस्चर नमिलेर हुने गर्छ । मलाई नशा च्यापिने तीनवटा कारणले हुन्छ लाग्छ । पहिलो मुद्रा नमिलेर, दोस्रो ओभरयुज र तेस्रो आरामको कमी हो । पोस्चर नमिलेरः अधिकांशको बसाइ, हिँडाइ, सुताइ कुनै पनि चिज मिल्दैन् । ओभरयुज : पहिले हामीले धेरै थरी काम गथ्र्यौँ तर अहिले एउटै मुद्रामा लामो समयसम्म काम गर्छौ । जस्तै कार्यालय समयमा कतिपय मानिसहरु ६-८ घण्टा एउटै स्थानमा बस्ने गर्दछन् जसले कम्मरलाई ओभरयुज गर्दछन् उनीहरुमा यस्ता समस्याहरु देखिएका छन् ।

पुलिस, बाइक राइडर, शिक्षक तथा सवारी चालकहरुमा यस्तो समस्या बढी देखिने गरेको छ । पहिले ३०,/४० वर्षको उमेर काटेका मानिसहरुलाई नशा च्यापिने गर्दथ्यो तर अहिले १३/१४ वर्षका किशोर-किशोरीमा पनि यो समस्या देखिन थालेको छ । धेरै समय कम्प्युटर चलाउने, भारी ब्याग बोक्ने, बेञ्च तथा इन्डोर गेमका कारणले पनि २० वर्षभन्दा कम उमेरकाहरुमा नशा च्यापिने समस्या बढेको हो । हामीले प्रयोग गर्ने जुत्ताले पनि यो समस्यालाई बढाइरहेका छ । विशेषत हिल तथा अग्ला जुत्ता लगाउने महिलाहरुमा पनि यो समस्या बढिरहेका छ । खानामा ध्यान नदिँदा पनि नशाको बिरामीहरु बढिरहेका छन् । पोषणयुक्त खानेकुरामा ध्यान नदिँदा यो हुने गरेको छ । खाना सन्तुलितभन्दा पनि पेट भर्न क्यालोरीको मापन गरेर खाइन्छ, यसले यो समस्या बढाएको छ ।

नशा च्यापिएपछि त्यसले कस्ता स्वास्थ्य समस्याहरु सिर्जना गर्छ ?

कम्मरमा नशा च्यापिएपछि कम्मरमा दुख्ने, खुट्टामा दुखाइ सर्दै जाने, खुट्टा झमझमाउने र निदाउने, अगाडि झुक्दा दुख्ने तथा शरीरको पोजिसन परिवर्तन गर्दा दुख्नेजस्ता मुख्य समस्याहरु देखिन्छन् । यो सामान्य अवस्थाभन्दा बढी भयो भने खुट्टा सुक्दै जाने, दिशा—पिसाब कन्ट्रोल नहुने, फुट ड्रप तथा कहिलेकाँही खुट्टै नचल्ने अवस्था आउँछ । यो नसा च्यापिएपछि देखिने कम्प्लीकेसनअन्तर्गत पर्दछ ।

नसा च्यापिएको कसरी थाहा पाइन्छ र हामीले कसरी उपचार गर्न सक्छौँ ?

सुरुमा त माथि उल्लेखित समस्याहरु देखियो भने नशा च्यापियो भनेर सोच्दा हुन्छ । त्यती थाहा भइसकेपछि कुनै स्वास्थ्य संस्थामा गएर क्लिनिकल डाक्टरलाई देखाउनुपर्छ । डाक्टरले उक्त कुरा पत्ता लगाउँछन् । त्यसपछि एमआरआइ गर्नुपर्छ । नसा सम्बन्धि कुरा हेर्न एमआरआई नै गर्नुपर्छ । त्यसपछि एमआरआईबाट नसा च्यापिएको हो भन्ने कुरा थाहा पाउन सकिन्छ ।

सुस्वास्थमा आउने समग्र बिरामीको कति प्रतिशत नसा च्यापिएको समस्या लिएर आउँछन् ?

यहाँ आउने ८० प्रतिशत बिरामी नसा च्यापिएको समस्या लिएर आउँछन् । यहाँ अस्पतालमा मात्र नभई हामी बेला—बेलामा शिविरमा गइरहेका हुन्छौं । अस्तिमात्र गरेको शिविरमा पनि ५० प्रतिशत मानिसहरु नसाको समस्या लिएर आएका थिएँ । अत्याधिक मानिसको कम्मरमा नसा च्यापिएको भेटिन्छ ।

नसा च्यापिएको बिरामीहरुलाई उही अवस्थामा फर्काउन के गर्नुपर्छ ?

यसलाई ३ वटा चरणमा गरिन्छ । यदि नसा च्यापिएको सुरुको अवस्था छ भने बिरामीलाई २४ घण्टादेखि ७ दिनसम्म आराम दिनुपर्छ । त्यसपछि दुखाइ व्यवस्थापन गर्ने केही चिजहरु जस्तैः औषधि, फिजियो थेरापीजस्ता दुखाइलाई कम गर्ने प्रोटोकलहरु अपनाउने गरिन्छ । ७ दिनपछि विस्तारै शारीरीक व्यायामको चरणमा लगिन्छ । बिरामीलाई शारीरिक अभ्यासमा सक्रिय गराइन्छ । यसपछिको चरणमा बिरामीलाई रिहाबिलिटेसनमा लगेर पहिलेकै स्थितीमा फर्काउन सक्रिय भएर लाग्ने गर्छौ । नसा च्यापिएका बिरामीहरुलाई उपचारले मात्रै हुँदैन । उनीहरुलाई सही पोस्चर सिकाउनुपर्ने हुन्छ । त्यसपछि उचित किसिमको शारीरिक अभ्यास र आराम गर्न सिकाउनुपर्छ । यी कुराहरुलाई बिरामीले ध्यान दिनैपर्छ किनकी यसो गर्दा मात्र नसा च्यापिएको समस्याबाट मुक्त हुन सकिन्छ । यी कुराहरु पालना नगरेको अवस्थामा समस्या दोहोरिन सक्छ ।

नसा च्यापिएका बिरामीलाई शल्यक्रियाभन्दा अंकुपचरजस्ता प्राकृतिक विधिबाट सामान्य अवस्थामा ल्याउन सकिन्छ ?

संसारकै खोजलाई हेर्ने हो भने नसा च्यापिएको बिरामीलाई ‘कन्जर्भेटिभ म्यानेजमेन्ट’ अर्थात औषधि, अकुपंचर, फिजियोथेरापी, न्याचुरल थेरापीबाट ८५ प्रतिशत केसहरुमा सर्जरी गर्नुपर्दैन भनेको छ । यसको अर्थात बाँकी १५ प्रतिशतको मात्रै शल्यक्रिया गर्नुपर्ने हुन्छ । मेरो २२ वर्षको अकुपंचरिष्टको अनुभवमा पनि ५ देखि ९० प्रतिशत बिरामीलाई शल्यक्रिया गरेको छैन । अन्य थेरापीबाट नै व्यवस्थापन गरिएको हुन्छ । यसका लागि समय दिनुपर्छ । पूर्ण रुपमा ठिक हुनको लागि ४२ देखि ४८ दिन लाग्ने हुन्छ । आजको भोलि नै राम्रो हुन खोज्ने हो भने त शल्यक्रिया छँदैछ । तर, प्राकृतिक रुपमा ठिक हुन खोज्ने हो भने यति समय बिरामीले दिन सक्नुपर्छ । थेरापीका लागि सधैं अस्पताल आउनु पर्दैन् । दिशापिसाब आएको वा गएको थाहा नपाउने अवस्थामा चाहिँ सर्जरी गरिहाल्नुपर्ने हुन्छ । चप्पल लगाउँदा खुट्टा टेकिएन तथा हिंड्नै सकिएन, खुट्टा सुक्यो भने पनि तुरुन्तै सर्जरी गर्नुपर्छ । अन्यमा भने खासै जरुरी छैन ।

नसा च्यापिएको बिरामीलाई एकचोटी प्राकृतिक उपचारमार्फत पुरानै अवस्थामा फर्काइसकेपछि त्यो पुनः बल्झिने सम्भावना कतिको हुन्छ ?

यो नसर्ने रोग भनेको चाहिँ व्यवस्थापन गर्ने पार्ट हो ट्रिटमेन्ट होइन । बिरामीलाई सिकाइएको व्यायाम र पोस्चर केयर गरियो भने यो पुनः आउने समस्या हुँदैन् । तर, बिरामीले व्यायाम र पोस्चर केयरमा ध्यान दिएन भने यो पुनः आउन सक्छ । नियमित रुपमा व्यायाम गरेका बिरामीहरुमा यो फर्किदैंन् । फिजियोथेरापिस्टले सिकाएको उचित व्यायाम गर्दा यो हट्छ ।

नसा च्यापिएका बिरामीहरुलाई के सल्लाह दिन चाहनुहुन्छ ?

नसा च्यापिने बित्तिकै कुनै बिरामी आत्तिनुपर्दैन । यो आम समस्या हो, धेरैलाई हुन्छ । नसा च्यािपयो भन्ने बित्तिकै शल्यक्रिया नै गर्नुपर्छ भन्ने पनि हुँदैन् । नसा च्यापिएका बिरामीहरुलाई पूर्णरुपमा पुनःस्थापित गर्न सकिन्छ । त्यसको लागि धैर्य गर्नुहोस् । आरामसहित फिजियोथेरापी, अकुपंचरबाट उपचार गराउनुहोस् । नसा च्यापिएको ८५ प्रतिशतसम्म बिरामी आत्तिनुपर्दैन । प्राकृतिक थेरापीहरु नै गर्नुहोस् भन्छु ।

(अंकुपञ्चरिष्ट सुदर्शन सुस्वास्थ हस्पिटलमा कार्यरत हुनुहुन्छ)

  • २४ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech