‘नुन–तेलः विगततिर पदयात्रा’ पुस्तकका लेखक डा.क्षेत्रीसँग मलमपट्टीमा साक्षात्कार

    • स्वास्थ्य पेज

  • २० जेष्ठ २०८०, शनिबार

नेपालगन्जः ‘नुन–तेलः विगततिर पदयात्रा’ पुस्तकका लेखक डा.जीवन क्षेत्रीसँग आज नेपालगन्जमा साक्षात्कार गरिएको छ । मलमपट्टी मर्निङ वाक ग्रुपले चिया चुस्कीसँगै नुन–तेलका गफ नाम दिएर लेखक क्षेत्रीसँग साक्षात्कार गरेको हो । हामी सबैको साझा भविष्य पृथ्वीमाथिको चासो र चिन्ताको सेरोफेरोमा लेखिएको पुस्तकमा लेखक क्षेत्रीले आफ्नो चार पुस्ताको कथा नुन–तेल मार्गको यात्रालाई पुस्ताकार दिएको उल्लेख गर्नुभयो ।

‘पृथ्वीमा अर्बौं वर्षदेखि जीवन सम्भव बनाएका पर्यातन्त्रहरू धराशायी बन्दै छन् उहाँले भन्नुभयो–‘हाम्रो आफ्नै भविष्य चरम अन्यौलको घेराभित्र छ । तर पनि यस विषयमा संवाद गर्न हामीसित साझा भाषा छैन । यो पुस्तकमा उत्तर भन्दा पनि प्रश्नहरु सिर्जना गरिएका उहाँले बताउनुभयो । सृजित यी प्रश्नहरुले नीति निर्माण तहमा बस्नेहरुलाई उधिन्नु पर्छ भन्ने मान्यता राख्ने लेखक क्षेत्रीले यो पुस्तक अध्ययनपछि प्रश्न गर्नेहरुलाई पनि दवाव दिने बताउनुभयो ।

पुस्तकमाथि टिप्पणी गर्दै विश्लेषक तथा लेखक नरेन्द्रजंग पिटरले ‘नुन–तेलः विगततिर पदयात्रा’ पुस्तकलाई आतंककारीको सज्ञा दिनुभयो । ‘यो पुस्तक पढ्दै जाँदा मनलाई जवरजस्त आन्दोलीत बनाउँछ उहाँले भन्नुभयोे–‘विगतको स्मरण र भविष्यको सोच निर्माणका लागि सबैलाई उधिन्नु आतंककारी नै हो । त्यसैले यो पुस्तकलाई मैले आतंककारी बनेको हुँ ।’ पुस्तकको लेखनशैली नयाँ र तथ्यमा आधारित रहेको उल्लेख गर्दै उहाँले योभित्र विज्ञापन, पर्यावरण, सामाजिक इतिहास प्रतिबिम्बित भएको बताउनुभयो ।

साक्षात्कारमा सहभागीहरुले जलवायु परिवर्तनको असर, त्यसले पार्ने प्रभाव र जोखिम न्यूनीकरणका सवालमा चासो र चिन्ता व्यक्त गरेका थिए । त्यसैगरी उनीहरुले पुस्तकले आफूलाई पनि आफ्नो जीवनको विगतलाई हेर्न झकझक्याएको पनि बताए । पुस्तकमा उल्लेखित केही प्रश्नहरु उद्धृत गर्दै सहभागीहरुले ‘नुन–तेल’ ले पाठकलाई प्रश्न सोध्न प्रेरित गर्ने बताए । उनीहरुले भने, ‘हामीले हामीभन्दा पिँधमा रहेका विशेषतः जलवायु परिवर्तन, बसाइँसराइँ, अल्पसंख्यक समुदायलाई कसरी हेर्ने भन्ने दृष्टिकोण पुस्तकमा छ ।’ यो पुस्तक ३२२ पृष्ठ लामो छ । ‘लेखकले इमान्दार भएर लेख्नुभएको छ ।

‘नुन–तेल विगततिर पदयात्रा’ले यात्रा थुप्रैका लागि आफ्नो पारिवारिक संस्मरण गर्न प्रेरक हुनेछ’ सहभागीहरुको भनाइ थियो । पेसाले चिकित्सक क्षेत्रीको यो पहिलो पुस्तक हो । पुस्तकलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो । पुस्तक साक्षात्कारमा बाँकेमा प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, मलमपट्टी मर्निङ वाक ग्रुपका सदस्यहरु डा.बद्री चापागाइँ, भोला महत, डा.देवराज भारती, कृष्ण प्रसाद श्रेष्ठ, पत्रकार कृष्ण अधिकारी लगायतले विचार र टिप्पणी राख्नु भएको थियो ।

को हुनुहुन्छ डा.जीवन क्षेत्री ?
बाग्लुङको दुर्गम तत्कालीन राङ्खानी गाविसको राङ्खानी माविबाट २०५६ सालमा एसएलसी दिंदा ‘मेरो जीवनको लक्ष्य’ शीर्षक निबन्धमा ’दार्शनिक वा लेखक बन्छु’ भनेर लेखेको डा. जीवन क्षेत्रीलाई याद छ, तर बन्नुभयोे मेडिकल डाक्टर । उाँ डाक्टरीमै सीमित हुन चाहानु भएन, सुशासन र चिकित्सा शिक्षा सुधार आन्दोलनमा समाजको मार्गदर्शक बन्नुभयो ।

२०६२–६३ को जनआन्दोलनपछि मुलुकमा व्याप्त अस्थिरतामा चिकित्सा शिक्षामा मौलाएको चरम बेथिति विरुद्ध उहाँले लामो समयदेखि लड्दै आउनुभएको छ । आर्थिक, राजनीतिक, सामाजिक, भ्रष्टाचार, हिंसा र अस्थिरता आदि विषयमा गतिलो गरी लेख्न र प्रखर रूपमा बोल्न सक्ने उहाँ विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियामा स्तम्भकारका रुपमा रहनु भएको छ । २०६६ सालमा एमबीबीएस सकेर डाक्टरको रूपमा काम गर्न थालेपछि क्षेत्रीको परिवारमा रोजीरोटीको चिन्ता हट्यो । अध्ययनको दायरालाई पनि उहाँले फराकिलो बनाउनुभयो। डाक्टरी पेशाभन्दा बाहिरका विषयहरूको अध्ययनले उहाँलाई महसूस गरायो– मुलुकमा लोकतन्त्र आए पनि जनताको पीडा–कष्ट कम हुने छाँटकाँट छैन ।

माओवादी द्वन्द्वबाट प्रताडित र सरकारी यातनाको पनि भुक्तभोगी उहाँले २०६८ सालमा एमडी गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज आएपछि डा. गोविन्द केसीलाई चिन्नुभएको थियो । त्यसबेला डा. केसी चिकित्सा शिक्षा क्षेत्रमा पन्पिएको बेथिति हटाउन तेस्रो पटक आमरण अनशनमा बस्नु भएको थियो । त्यो भेटले डा. क्षेत्रीलाई जनताको पीडा कम गर्ने एउटा क्षेत्रको दिशानिर्देश ग¥यो र सुशासनको अभियानमा लेख्न र शान्तिपूर्ण आन्दोलनको उपयोग गर्न थाल्नु भएको हो ।

मानिसहरू थिचोमिचोमा पर्ने, जिम्मेवार ठाउँमा बसेकाहरूले काम नगर्दा अरूले दुःख पाउने, नागरिकप्रति राज्य निष्पक्ष नहुने, निजी क्षेत्र र बजारको विकास न्यायसंगत नहुने जस्ता कारणले नेपाली समाजमा आन्दोलनहरू जन्मिने उहाँको विश्लेषण छ । मृदुभाषी, फेसनमा सोख नभएको, सरल, अध्ययनशील र एकदमै व्यापक ज्ञान राख्ने व्यक्तिको रूपमा परिचित डा.क्षेत्री अहिले भने ‘नुन–तेलः विगततिर पदयात्रा’ नामक आफ्नो पुस्तक बोकेर जिल्ला दौडाहमा रहनुभएको छ ।

 

  • २० जेष्ठ २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech