सिकलसेल बारे गाउँ-गाउँमा चेतना जगाउँदै कोहलपुर

    • स्वास्थ्य पेज

  • १४ जेष्ठ २०८०, आईतवार

कोहलपुर: कोहलपुर नगरपालिकाले बंशाणुगत रोग सिकलसेल एनिमिया र थालेसेमियाका बारेमा गाउँ-गाउँमा चेतना जगाउन थालेको छ ।

थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल र थालेसेमिया रोग नियन्त्रणका लागि गाउँ-गाउँमा जनचेतना जगाउन नगरपालिकाले अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।

विज्ञ डाक्टर, जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहितको टोलि गाउँ-गाउँमा पुगेर सिकलसेल एनिमिया र थालेसेमिया रोग के हो ? यसले पार्ने अल्पकालीन र दीर्घकालीन समस्या के हुन् ? थारु समुदायमै यो रोगको प्रभाव किन बढी ? यसको नियन्त्रण के हो? लगायतका बारेमा समुदायलाई सुसूचित पार्ने काम गरिरहेको कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिनुभयो ।

कोहलपुर नगरपालिकाले सिकलसेल जाँच निशुल्क गर्दै आएको छ । अहिलेसम्म पालिकाले करिव १५ हजार ब्यक्तिको सिकलसेल जाँच गरिसकेको छ । त्यसमा एक हजारबढि वाहक र एक सय बढि रोगी देखिएका ल्याव प्रमुख शिब गौतमले जानकारी दिनुभयो । पालिकाले थारुबाहुल बस्ति तथा टोलहरुमा यो रोगको बारेमा सचेतना फैलाउने काम गरिरहेको गौतमको भनाइ छ ।

सिकलसेल एनिमिया विज्ञ डा. राजन पाण्डे, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. प्रज्ञा गौतम घिमिरे, नेपाल सिकलसेल समाजका अध्यक्ष प्रभु चौधरी लगायतको विज्ञ टोलिले सिकलसेल एनिमिया र थालेसेमिया रोगबारे प्रशिक्षण दिने गरेको छ । आइतबार कोहलपुर नगरपालिका-८ थारुगाउँमा सिकलसेल एनिमिया तथा थालेसेमिया रोग सम्बन्धि प्रशिक्षण गरिएको छ । उक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले पालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले सिकलसेल एनिमिया र थालेसेमिया रोग बंशाणुगत भएकाले यसमो नियन्त्रणका लागि पालिकाले जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी गराइएको बताउनुभयो । कुनै पनि मानिस उपचार अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने सवालमा पालिका चनाखो र गम्भीर रहेको उहाँको भनाइ छ । उहाँले रोग नियन्त्रणका लागि सिकलसेल जाँच गराउन स्थानीयलाई आग्रह गर्नुभयो ।

`ल्याव परिक्षणबाट मात्रै यो रोगलाई नियन्त्रण गर्न सकिन्छ उहाँले भन्नुभयो-`कोहलपुर नगर अस्पतालमा आउनुहोस् निशुल्क जाँच हुन्छ । आउन सक्नु भएन भनेपनि खबर गर्नुस् हाम्रो स्वास्थ्यको टिम आएर जाँच गर्छ ।´ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, वडा अध्यक्ष लाल बहादुर राना, सामाजिक विकास समिति संयोजक इश्वरी विक, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरी, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. प्रज्ञा गौतम घिमिरे, नेपाल सिकलसेल समाजका अध्यक्ष प्रभु चौधरी, कोहलपुर नगर अस्पतालका डा. गोबिन्द चौधरीलगायतको उपस्थिति रहेको थियो ।

  • १४ जेष्ठ २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech