डेङ्गुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह, यस्ता छन् जोगिने उपाय

    • स्वास्थ्य पेज

  • १३ जेष्ठ २०८०, शनिबार

नेपालगन्जः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ। पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेङ्गु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो।

मन्त्रालयले एक सूचना जारी गर्दै डेङ्गुको सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झूल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ।

सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिनसमेत आग्रह गरेको छ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुल लार्भा भएर निस्कन्छ र वयस्क लार्भा लामखुट्टे बन्छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले पानी परिरहेकाले सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।

रोग नियन्त्रण शाखाका प्रमुख डा दाहालका अनुसार सन् २०२२ सम्ममा ५४ हजार छ सय ३० जनामा डेङ्गु देखिएकामा ८८ जनाको मृत्यु भएको थियो। गत पुस १५ देखि हालसम्म सात सय एक जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ।

 

  • १३ जेष्ठ २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech