सुदूरपश्चिम प्रदेशमा दादुरा रुवेला निवारणमा चुनौती

    • स्वास्थ्य पेज

  • १३ जेष्ठ २०८०, शनिबार

नेपालगन्जः सुदूरपश्चिम प्रदेशमा दादुरा रुवेला निवारणमा चुनौती थपिएको छ। प्रदेशमा सन् २०२२ भन्दा सन् २०२३ मा दादुरा रुवेलाका बिरामी पुष्टि भएसँगै निवारणमा चुनौती थपिएको स्वास्थ्यकर्मीहरु बताउँछन्। सरकारले सन् २०२३ मा दादुरा रुवेला निवारण गर्ने लक्ष्य लिएपनि प्रदेशका तीन जिल्लामा यस वर्ष दादुरा रुवेलाका बिरामी थपिएका छन्।

प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा रुवेलाका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ। प्रदेशमा सन् २०२३ को अप्रिलसम्म १ सय २३ जना शंकास्पद बिरामीको परीक्षण गर्दा प्रदेशमा ९३ जना दादुरा तथा एक जना रुवेलाका बिरामी फेला परेका छन्।

सन् २०२३ अप्रिसम्ममा कैलालीमा ४७, कञ्चनपुरमा ३२ र बाजुरामा १८ जना दादुरा रुवेलाका बिरामी फेला परेका छन्। प्रदेशमा पुष्टि भएकामध्ये अधिकांश एक वर्षमाथि उमेर समूहको रहेको जनाइएको छ। बाजुरामा पुष्टि भएका १८ जना २३ महिना माथिका छन्। कैलालीमा नौ महिनाका सात, २३ महिनाका ६ र २३ महिना माथिका ३४ जना छन् भने कञ्चनपुरमा पुष्टि भएका दुई जना नौ महिना, पाँच जना २३ महिनासम्मका र २६ जना २३ महिनामाथिको रहेको निर्देशनालयको तथ्यांक छ।

सन् २०२२ मा एक सय चार जना शंकास्पद बिरामीको परीक्षण गर्दा तीन जनामा दादुरा र दुई जनामा रुवेला पुष्टि भएको थियो। प्रदेशमा धमाधम दादुरा रुवेलाका पुष्टि भएसँगै सरकारले सञ्चालन गरेको नियमित खोप अभियान प्रभावकारितामा नभएको स्वास्थ्यकर्मीहरु बताउँछन्।

  • १३ जेष्ठ २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech