डा.बद्री चापागाइँ मेसुपछि यसरी सुधारिँदै छ भेरीको सेवा प्रवाह

    • प्रियास्मृति ढकाल

  • १० जेष्ठ २०८०, बुधबार

नेपालगन्जः गत वर्ष साउन १ गते डा.बद्री चापागाइँले भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हाल्नुभयो । त्यसको १२ दिन पनि अस्पतालले आफ्नो वार्षिक उत्सव मनायो । त्यतिबेला प्रमुख मेसु डा.चापागाइँले केही महिनाभित्रै चार तले भवन पूर्णरुपमा संचालनमा ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो । तर त्यसको १० महिनापछि इमर्जेन्सी संचालनमा ल्याइ भवन आंशिक प्रयोगमा आएको छ ।

‘सर्सर्ती हेर्दा कत्रो विलम्ब जस्तो लागे पनि यहाँसम्म आइपुग्न कति संघर्ष गर्नु पर्यो कत्रो इच्छाशक्तिले मात्र यो संभव भयो भन्ने कुरा यहाँ भनिसाध्य छैन’ मेसु डा.चापागाइँको भनाइ छ। गत साउन १ गतेदेखि औपचारिक रुपमा अस्पतालको नेतृत्व सम्हालेदेखि नै केहि न केहि काम गर्नु पर्छ भनेर आफु दृढ रुपमा संकल्पित भएको भन्दै उहाँले यसअवधिमा देखिने, विरामीले महसुस गर्ने गरी सेवामा बदलाब दिने काम गरिएको बताउनुभयो ।

नयाँ इमर्जेन्सी ३० वेडको हो । यसअघि १५ वेडको मात्रै थियो । नयाँ भवनमा रहेको इमर्जेन्सी फराकिलो स्थानमा छ । रातो, पहेँलो र हरियो गरि बिरामीको अवस्था अनुरुपको बेड तथा स्थान बर्गीकरण गरिएको छ । कुनै बिरामीको मृत्यु भै हालेमा शव राख्न ब्लाक रुमको व्यवस्था गरिएको छ । आइसोलेसन कोठाको व्यवस्था गरिएको छ । विशेष प्रकृतिका बिरामीहरूको निम्ति अब्जरभेसन कक्ष, पर्याप्त संख्यामा शौचालयको व्यवस्था, ओसिएमसी कक्षको पनि व्यवस्था गरिएको डा.चापागाइँले बताउनुभयो । नयाँ इमर्जेन्सीमा केही गर्नै पर्ने बाँकी काम छन् ।

एक्स रे स्थानान्तरण, जेनेरेटर र यूपिएसको लाइन विस्तार, ल्याब, टिकट काउन्टरको व्यवस्थापन बाँकी रहेको उहाँको भनाइ छ । भवन पूर्णरुपमा हस्तान्तरण भैसकेपछि भने अव्जरभेसन वार्ड, फराकिलो अर्थो र ट्रमा वार्ड संचालनमा आउने छ । माथिल्लो तल्ला संचालनमा आएपछि अपरेसन थियटरको संख्यामा बृद्धि हुने छ । महिनौंपछि मात्र अपरेसनको पालो आउने समस्या न्यूनिकरण हुने विश्वास छ । आइसियूको संख्यामा पनि बृद्धि हुने छ । बेड संख्या (१५० बाट ३००) सम्ममा पुर्याउन सकिने अपेक्षा अस्पताल प्रशासनको छ ।

डा.बद्री चापागाइँ मेसु भएर आएपछि डायलाइसिस सेवा पनि विस्तार भएको छ । ३ वटा मेशिनबाट दिनमा २ सिफ्ट हप्तामा १८ जनाले सेवा पाइरहेकोमा अहिले ६ वटा मेशिनबाट दिनमा ३ सिफ्ट  हप्तामा ५४ जनाले सेवा पाइरहेका छन् । संक्रमितहरूको लागि छुट्टै मेशिनको व्यवस्था गरिएको छ । इमर्जेन्सी डायलाइिसिसको व्यवस्था गरिएको छ । यस्तै कुनै बिरामीले पनि रकम अभावको कारण आकस्मिक सेवा प्राप्त गर्नबाट वञ्चित हुन नपोस् भन्ने उद्देश्यले इमर्जेन्सी सेवा निःशुल्क गरिएको छ । विनियोजित रकम हजारमा भएपनि हालसम्म डेढ करोड रुपैयाँ खर्च भैसकेको छ। यस्तै सहुलियत सेवा लिन सिफारिस पत्रको युगको अन्त्य भएको छ । बीमा सेवामा सहजता ल्याइएको छ । फोटोकपी गर्न बाहिर दौडिनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

क्याथ ल्याब र न्यूरो सेवालाई प्रभावकारी र गुणस्तरीय बनाइएको छ । क्याथ ल्याबमा दुई जना डिएम कार्डियोलोजी तथा न्यूरोमा पनि दुई जना एमसिएच न्यूरो सर्जनले सेवा दिइरहेको मेसु चापागाइँले बताउनुभयो । यस्तै फार्मेसीमा निरपेक्ष रुपमा सस्तो मात्र भन्दा पनि Therapeutic Committee ले रोजेका ओषधीको व्यवस्था गरिएको छ । यस्तै थालेसेमियाका बिरामीलाई Oral Iron Chelator (Defarasirox) औषधिको व्यवस्था गरिएको छ ।

अस्पतालको सेवालाई प्रविधि मैत्री बनाउने प्रयास भएका छन् । Dynamic QR code Payment, आफ्नै In house EMR system – VerySoft, Machine Integration – Hematology का २ मेशिनमा सम्पन्न भैसकेको छ । यो हप्ता भित्र Biochemistry र Immunology पनि संचालनमा ल्याइने भएको छ । सरकारको नीति अनुसार अनलाइन टिकटिङ र बिरामीको दैनिक प्रवाह अस्पतालको वेबसाइटमा लिंकको व्यवस्थापन गरिएको छ । यस्तै आइसीयूमा बेड भए नभएको थाहा पाउन वेबसाइटमा लाइभ डिसप्ले प्रविधि अन्तिम चरणमा छ । स्वास्थ्य सेवालाई पहुँचमैत्री बनाउने सवालमा पनि सकारात्मक अभ्यासहरु भएका छन् ।

अपाङ्ग मैत्री संरचना Tactile Tiles, Wheelchair Friendly, Toilets, Ramps, Display Boards को व्यवस्थापन गरिएको छ । आर्थिक वर्ष ०७८-७९ मा ९५ हजारले सेवा लिएकोमा चालू आर्थिक वर्षको १० महिनामै १ लाख ४० हजारले सेवा लिइसकेका छन् । सीमित स्रोत साधन, जनशक्तिकाबीच पनि बिरामीलाई सेवा दिने सवालमा कुनै कसर बाँकी नराखिएको मेसु चापागाइँले भनाइ छ । कोभिडको बेलामा भर्ना गरिएका कर्मचारीको कारणले अस्पतालको सेवामा गुणात्मक सुधार त आएको छ, तर दरबन्दी बाहेकका ति कर्मचारीलाई अस्पतालले ज्यालादारीमा तलब भुक्तानी गरिरहेको छ । यसले अस्पताल बिकास समितिलाई ठूलो व्यभार परिरहेको छ ।

‘दरबन्दीको समस्या त सधैंकै हो । यदि सरकारले पूर्णरुपमा दरबन्दी थपेर दीर्घकालिन रुपमा व्ययभार थप्न चाहँदैन भने निशर्त रुपमा परामर्श शिर्षकमा अनुदान दिने हो भने अब हामीसँग जनशक्ति समाजमा खोज्न धेरै गाह्रो छैन मेसु चापागाइँले भननुभयो–‘यो सालको कार्यक्रममा नयाँ अस्पताल, पोस्टमार्टम गृह र स्टाफ क्वार्टरहरूको निम्ति बजेट आएको छ । आशा छ केहि दिनमा नै त्यसको टेन्डर आह्वान हुनेछ ।’

तर सुरुमा अनुमानित बजेट १२० करोड मात्र अनुमान गरिएको उक्त योजना हाल गरिएको विस्तृत अध्ययन र परिमाजर्जित प्लानिङ अनुसार लगत बढेर २१० करोड पुगेको उहाँको भनाइ छ । यो आर्थिक वर्षको निम्ति साढे आठ करोडको अपुग रकम मन्त्रालयमा मागि पठाइएको पनि मेसु चापागाइँले जानकारी दिनुभयो ।

 

  • १० जेष्ठ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech