अनुमतिबिना स्वास्थ्यकर्मीको तस्वीर र भिडियो खिच्नेलाई कारवाही हुन्छः स्वास्थ्य सचिव पोख्रेल

    • स्वास्थ्य पेज

  • १० जेष्ठ २०८०, बुधबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोख्रेलले कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीको अनुमति वेगर तस्वीर र भिडियो खिच्नेलाई कारवाही गरिने चेतावनी दिनुभएको छ । नेपालगन्जस्थित भेरी अस्पतालको इमर्जेन्सी कक्ष स्तरोन्नति तथा स्थानान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीलाई हतोत्साहित र मानमर्दन गर्ने कार्य मन्त्रालयलाई स्वीकार्य नहुने चेतावनी दिनुभयो । एक जना सामाजिक अभियानकर्मीले भरतपुर क्यान्सर अस्पतालका नर्सहरूको भिडियो खिचेर सामाजिक संजालमा पोष्ट गरेकी थिइन् । त्यसको विरोधमा अहिले नर्सहरु आन्दोलनमा छन् ।

‘स्वास्थ्यकर्मीको पेशागत मर्यादा लगायतका मागमा मन्त्रालय अडिक रहेको भन्दै सचिव डा. पोख्रेलले सामाजिक अभियान्ताका नाममा होस् वा पत्रकारका नाममा कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीको तस्वीर र भिडियो खिच्नेलाई कारवाही गरिने चेतावनी दिनुभएको हो । उहाँले सरकारको नीति तथा कार्यक्रममा विहान ८ बजेदेखि राती ८ बजेसम्म ओपिडी सेवा संचालन गर्ने बिषय उपयुक्त नभएको बताउनुभयो ।

‘मन्त्रालयले नीति तथा कार्यक्रममा विहान ८ बजेदेखि राती ८ बजेसम्म ओपिडी संचालन गर्न भनेको छैन उहाँले भन्नुभयो–‘राष्ट्रपति ज्यूले थप्नुभयो होला । यसमा आत्तिनु पर्ने अवस्था छैन । यो व्यवहारिक पनि छैन ।’ उहाँले बरु विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी र २ बजेदेखि अपरान्ह ४ बजेसम्म पेइङ वार्ड संचालनको योजनामा मन्त्रालय रहेको पनि उल्लेख गर्नुभयो । भेरी अस्पतालको इमर्जेन्सी कक्षा स्थानान्तरण भएकोमा खुसी व्यक्त गर्दै उहाँले यसलाई ३० वेडबाट बढाएर ५० पुर्याउन अस्पताललाई निर्देशन दिनुभयो । ‘यो विशिष्टिकृत अस्पताल हो । अहिले ३० वेडको इमर्जेन्सीले पुग्दैन ५० वेड बनाउनतर्फ ध्यान दिनुहोस्’ उहाँले भन्नुभयो । उहाँले अस्पतालले प्रवाह गर्ने आकास्मिक सेवा पूर्णरुपमा निःशुल्क नहुने बताउनुभयो ।

‘आकास्मिक सेवा आपतकालीन अवस्थामा तत्कालका लागि, आफन्त वा नातेदार नआउँदासम्म निशुल्क हो उहाँले भन्नुभयो–‘नातेदार आए र पैसा भए निशुल्क हुँदैन । पैसा नै नहुने, गरीव र विपन्नलाई मात्र निशुल्क हुन्छ । यो बारे सबैले बुझ्न जरुरी छ ।’ उहाँले क्याथल्याव र न्यूरो सेवालाई प्रभावकारी ढंगबाट अगाडि बढाउन सुझाव दिनुभयो । यस्तै मिर्गौला पीडित बिरामीको लागि डायलाइसिस मेसिन थप गर्न उहाँको सुझाव छ । त्यसका लागि मन्त्रालय तयार रहेको बताउनुभयो । ‘अस्पतालले ठाउँको व्यवस्थापन गरोस् अहिले ६ वटा मेशिनबाट डायलाइसिस मेसिनबाट दिनमा तीन सिफ्टमा बिरामीले सेवा पाइरहेका छन् ।

सचव डा. पोख्रेलले भन्नुभयो–‘६ वटा मेशिन बाट १५ पुर्याउँछ । मेरो प्रतिबद्धता भयो ।’ उहाँले डायलाइसिस सेवालाई विस्तार गर्न सकियो भने अस्पतालको आम्दानी पनि बढ्ने उहाँको भनाइ छ । भेरी अस्पतालको इमर्जेन्सी कक्ष १५ बेडबाट ३० बेडमा स्तरोन्ती भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.बद्री चापागाइँले आज स्थानान्तरण भएको इमर्जेन्सी सेवा जेठ १५ गतेदेखि पूर्णरुपमा संचालनमा आउने बताउनुभयो । अहिलेको इमर्जेन्सी कक्षमा एमआरआइ सेवा संचालनको तयारी छ । चार तले नयाँ भवन अझै पूर्णरुपमा हस्तान्तरण हुन सकेको छैन ।

संघीय आयोजना कार्यान्वयन इकाइमार्फत निर्माण भइरहेको ३२ करोड लागतको उक्त भवन असारसम्म हस्तान्तरण गर्ने योजनामा इकाइ कार्यालय रहेको आयोजनाका निम्ति प्रमुख बिजयकेशर खनालले बताउनुभयो । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले भेरी अस्पताल पश्चिम नेपालका बिरामीको उपचारका लागि भरोसाको केन्द्र रहेकाले सरकारले जनशक्ति र उपकरणमा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

संबिधानमा स्वास्थ्यलाई मौलिक हक भनिएपछि सरकारले त्यहीँ अनुसारको सेवा आम नागरिकलाई दिनुपर्ने उहाँको भनाइ छ । यस्तै बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले संरचनासंगै सेवालाई पनि दुरुस्त राख्न सुझाव दिनुभयो । नर्सिङ प्रमुख दुर्गा श्रेष्ठको स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रमको संचालन अस्पताल नर्सिङ प्रशासक इश्वरी के.सीले गर्नु भएको थियो ।

  • १० जेष्ठ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech