क्यान्सर जितेर देविकाले दिएको ‘सरप्राइज’, आत्मविश्वास भएपछि चाँडै निको हुने रहेछ

    • स्वास्थ्य पेज

  • ८ जेष्ठ २०८०, सोमबार

डेढ वर्षअघि स्तन क्यान्सर लागेको थाहा पाउँदा देविका बन्दना निकै डराउनुभयो । किमोथेरापी गर्दाका क्षण सम्झँदा उहाँलाई अझै कहाली लाग्छ ।

आफू क्यान्सर पीडित भएको कुरा परिवारबाहेक अरु कसैलाई पत्तो पनि दिनु भएन् । यसबीचमा उहाँले ११ गीत रेकर्ड गराउनुभयो र सांगीतिक कर्मलाई सक्रिय रुपमा अघि बढाउनुभयो । डेढ वर्षपछि देविकाले आफूले क्यान्सर जितेको खुलासा गर्दै सबैलाई ‘सरप्राइज’ दिनुभयो ।

महजोडीले केही दिनअघि उनले लेखको पुस्तक ‘जित्नेको हाँसो’ पुस्तक विमोचन गर्नुभयो। पुस्तकमा उनले अस्पतालमा उपचार गराउँदादेखि निको भएसम्मको यथार्थ लेख्नु भएको छ। साथै क्यान्सरलाई जितेपछि यसको खुलासा टिकटक र युट्युब भिडियोमार्फत गर्नु भएको छ ।

सुरुमा किमोथेरापी गर्दा उहाँ निकै डराउनु भयो । ‘तिघ्रामा सुई लगाउँदा एकदमै दुख्थ्यो । चार-पाँच दिनसम्म मर्छु कि भन्ने लाग्ने,’ उहाँको भनाइ छ।

‘क्यान्सर भन्ने बित्तिकै हामी डराउँछौं । मर्छु भन्ने त्रास भइरहन्छ । तर इच्छाशक्ति र परिवारको साथ भयो भने चाँडै निको हुने रहेछ । डराउनुपर्दैन,’ क्यान्सर जितेपछि अनलाइनखबरसँग देविकाले भन्नुभयो, ‘यी सबै कुरा पुस्तकमा लेखेकी छु, यो पुस्तक पढ्नेले क्यान्सरलाई लिएर धारणा बदल्नुहुन्छ ।’

आफूले यतिबेला निकै ‘फ्रेस’ महसुस गरेको उहाँले सुनाउनुभयो । क्यान्सर निको भएपछि मात्र आफूले पुस्तक निकालेको उहाँले बताइन् । देविकाले उपचारकै क्रममा गीत रेकर्ड गराउनुभयो। कार्यक्रममा जाँदा पनि कसैलाई यसबारे थाहा दिनुभएन ।

अस्ति पुस्तक विमोचन गर्दा दिएको सरप्राइजले महजोडी समेत अचम्मित भए । ‘अहिले त गाह्रो पनि छैन,’ उहाँले सुनाउनु भयो।पुस्तक निकालेर अन्य क्यान्सर पीडितलाई सघाउने उहाँको योजना छ । यो किताब पढेपछि क्यान्सरलाई हेर्ने दृष्टिकोण बदल्ने उहाँको भनाइ छ । ‘सबै पुस्तक पसलमा पाइन्छ । यो बुक पढेपछि इच्छाशक्ति बढ्छ बिरामीको,’ उहाँले भन्नुभयो।

रोचक कुरा, उपचारको क्रममा रेकर्ड गराएका ११ गीतलाई समावेश गर्दै उनले लण्डनस्थित गिनिज वर्ल्ड रेकर्डको मुख्यालयमा कीर्तिमानको दाबीसहित डकुमेन्ट पठाउनुभयो । ‘बिरामी भइञ्जेलसम्मको कामबारेका भिडियो प्रमाण समाबेस गरेर लण्डन पठाएकी छु । त्यसको एक महिनामै तपाईंले वर्ल्ड रेकर्ड पाउँदै हुनुहुन्छ भनेर फोन गर्नुभयो । उहाँहरुको हातबाट वर्ल्ड रेकर्ड कायम गरें,’ उहाँले भन्नुभयो ।

देविका क्यान्सर निको भएपछि बाँकी जीवन संगीतकर्म र क्यान्सर पीडितलाई सचेतना जगाउने अभियानमा लाग्न चाहानु भएको छ। ‘अब एकल साँझ र पुस्तकको कामलाई अघि बढाउँछु । नेपाल र विश्व टुर गर्ने इच्छा छ । म बिरामी हुँदा त ११ गीत गाएँ, कसैले थाहा पाएन ।

अब त झन् निरन्तर रुपमा गायनलाई अघि बढाउँछु र क्यान्सर पीडितको लागि समाजसेवामा अघि बढ्छु । सहयोग गर्ने इच्छा छ,’ उहाँले भन्नुभयो । क्यान्सर पीडितको रुपमा भएको यात्राबारेका भिडियोलाई टिकटक र युट्युबमा राख्दै जाने पनि देविकाको योजना छ ।

  • ८ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech