नेपाल मेडिकल काउन्सिलद्धारा मेडिकल कलेज कोहलपुरका बाल शल्यचिकित्सक डा. फिरोजलाई ७ दिन निलम्वन

आकस्मिक उपचारमा आएका बिरामीलाई आकस्मिक उपचार व्यवस्थापन नगरी अन्त रेफर गरेका कारण बालकको मृत्यु भएको काउन्सिलले ठहर गरेको छ । ‘इमर्जेन्सीमा आएको बिरामीलाई सामान्य इमर्जेन्सी उपचार व्यवस्थापन भएको पनि देखिदैंन्,’ काउन्सिलले भन्यो, ‘चिकित्सकले त्यो कुरालाई हेक्का राखेको देखिएन ।’


    • स्वास्थ्य पेज

  • ८ जेष्ठ २०८०, सोमबार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज कोहलपुरका बाल शल्यचिकित्सक डा. फिरोज आलमलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ । अस्पतालमा आकस्मिक कक्षमा आएको बिरामीको आकस्मिक उपचार व्यवस्थापन नगरी रिफर गरेका कारण बिरामीको मृत्यु भएको भन्दै डा. आलमलाई काउन्सिलले एक हप्ताका लागि निलम्बन गरेको हो ।

शुक्रबार बसेको नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले डा.आलमले आकस्मिक उपचारका लागि आएका बिरामीलाई आकस्मिक उपचार व्यवस्थापन नगरी उपचार गर्न नसक्ने भन्दै अन्त लैजान सुझाव दिएको पाइएको हो । बाँकेकी भावना थापाको नवजात शिशुमा ओमफालोसेली (पेटको आन्द्रामा) समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा डा.आलमले शल्यक्रिया गर्नुभएको थियो ।

शिशुका अभिभावकले नेपालगन्जमा गरेको उपचारमा चित्त नबुझेपछि नेपालगन्जको अर्को निजी अस्पतालमा लगेर थप उपचार गराएका थिए । सोही क्रममा बिरामीका आफन्तले नेपालगञ्ज मेडिकल कलेजमा उपचार गर्दा लापरवाही गरेको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी गरेका थिए ।

तर, काउन्सिलले उपचारका क्रममा लापरवाही नभएको छानविन समितिले प्रतिवेदन दिएको थियो । कान्ति अस्पतालमा उपचार गराएर बाँके फर्किएको ४ महिनापछि पुनः बच्चामा जटिलता आएपछि अभिभावकले नेपालगन्ज मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना गराएका थिए ।

आकस्मिक कक्षमा भर्ना भएका शिशुलाई डा.अलामले आफूले उपचार नगर्ने बताएपछि परिवारले काठमाडौं लैजाने तयारी गरेको थियो । तर, सोही दिन बालकको मृत्यु भएको थियो । बालकको मृत्यु भएपछि परिवारले मेडिकल काउन्सिलमा डा.आलम विरुद्ध उजुरी गरेका थिए ।

आकस्मिक उपचारमा आएका बिरामीलाई आकस्मिक उपचार व्यवस्थापन नगरी अन्त रेफर गरेका कारण बालकको मृत्यु भएको काउन्सिलले ठहर गरेको छ । ‘इमर्जेन्सीमा आएको बिरामीलाई सामान्य इमर्जेन्सी उपचार व्यवस्थापन भएको पनि देखिदैंन्,’ काउन्सिलले भन्यो, ‘चिकित्सकले त्यो कुरालाई हेक्का राखेको देखिएन ।’

सुरुमा डा.आलमले काउन्सिललाई आफूले बालकको इमर्जेन्सी उपचार गरेको बयान दिनुभएको थियो । तर, काउन्सिलले छानविनमा उहाँ दोषी देखिएपछि कारवाहीमा पर्नुभएको हो । यसबारेमा स्वास्थ्य डा.आलमसँग बुझ्न खोज्दा उहाँको फोन उठेन ।

  • ८ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech