पाठेघरको मुखको क्यान्सर, लक्षण र बच्ने उपाय

    • स्वास्थ्य पेज

  • ८ जेष्ठ २०८०, सोमबार

पाठेघरको मुखमा भएका कोषहरूको असामान्य ढंगले वृद्धि हुनु नै पाठेघरको मुखको क्यान्सर हुनु हो । नेपालमा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । विश्व स्वास्थ्य संगठनले स्वीकृतिप्राप्त संस्था गोल्बोक्यानको अनुसार नेपालमा प्रत्येक दिन करिब ६ जना महिलाको पाठेघरको मुखको क्यान्सरको कारण मृत्यु हुन्छ ।

नेपालमा पाठेघरको मुखको क्यान्सरको बारेमा सचेतनाको कमीले गर्दा महिलाहरू क्यान्सरको अन्तिम अवस्थामा मात्र अस्पताल पुग्छन्, जसले यसको कारण मृत्यु हुनेको संख्या बढी भएको वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. अरुण शाहीको भनाइ छ ।  पाठेघरको मुखको क्यान्सर हुँदा के कस्ता लक्षण देखा पर्छन् ? यसबाट बच्न के गर्ने ? लगायत विषयमा डा. शाहीसँग गरिएको कुराकानीको सम्पादित अंश :

पाठेघरको मुखको क्यान्सर के कारणले हुन्छ ?

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस संक्रमण हो । यो इन्फेक्सन हुने भनेको कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिने कारण हुन्छ ।

पाठेघरको मुखको क्यान्सर हुँदा कस्ता लक्षण देखा पर्छन् ?

सेतो पानी बग्ने, योनी वरपर सानो घाउ खटिरा देखा पर्ने सामान्य उपचारपछि पनि निको नहुने, यौन सम्पर्कपछि रगत बग्ने, प्रजनन् अंगमा दुखाइ महसुस हुने पाठेघरको मुखको क्यान्सरका मुख्य लक्षणहरू हुन् ।

यसको जोखिमबाट कसरी बच्न सकिन्छ ?

यो रोगबाट बच्न नौदेखि १५ वर्षका किशोरकिशोरीलाई एचपीभी खोप दिन सकिन्छ । यौन सम्बन्ध राखिसकेका महिलाले कुनै समस्या नदेखिए पनि नियमित रूपमा सर्भाइकल क्यान्सरको स्क्रीनिङ गर्ने जाँच जस्तै, प्याप स्मेयर, एलबीसी तथा एचपीभी, डीएनए टेस्ट गर्नुपर्छ । क्यान्सर भइसकेपछि समयमै पहिचान भयो भने पनि यसको जोखिमबाट बच्न सकिन्छ ।

यसको उपचार के छ ?

पाठेघरको मुखको क्यान्सरका चारवटा चरण हुन्छन् । पाठेघरको क्यान्सर मात्र त्यस्तो क्यान्सर हो, जसको पहिचान ‘चौथो ए’ चरणमा भए पनि उपचार सम्भव हुन्छ । त्यसैले  विश्व स्वास्थ्य सङ्गठनले २०३० सालभित्र पाठेघरको मुखको क्यान्सरलाई संसारबाट नै निर्मूल पार्ने लक्ष्य लिएको छ ।

पहिलो चरणमा यो रोग पाठेघरको मुखमै सीमित हुन्छ । यो रोग नजिकैका अरू अंगतिर क्रमशः फैलिंदै जान्छ र सोही रूपमा यस रोगको चरण पनि बढ्दै जान्छ ।

यो रोगको धेरैजसो चरणमा रेडियोथेरापीले काम गर्छ । यस रोगको पहिलो र दोस्रो चरणको पनि सुरुमा पाठेघरको क्यान्सरसम्बन्धी जटिल शल्यक्रिया गरेर यसको उपचार गर्न सकिन्छ । पाठेघरको मुखको क्यान्सर फैलिसकेको अवस्थामा शल्यक्रिया गरेर मात्र पुग्दैन । यसको उपचारको लागि किमोरेडियोथेरापी पनि चाहिन्छ ।

पाठेघरको मुखको क्यान्सरको जोखिमबाट बचाउने एचपीभी खोप भनेको के हो ?

पाठेघरको मुखको क्यान्सर गराउने ह्युमनपापिलोमा भाइरसको विरुद्धमा दिइने खोप नै एचपीभी खोप हो । ९९ प्रतिशत पाठेघरको मुखको क्यान्सर  गराउने कारण ह्युमनपापिलोमा भाइरस हो । त्यसैले यस विरुद्धको खोप लगाइयो भने ९९ प्रतिशत नै यसको जोखिमबाट बच्न सकिन्छ ।

कुन उमेर समूहले यो खोप लगाउन सक्छन् ?

यो एचपीभी खोप नौदेखी २६ वर्षभित्र लगाउनु उपयुक्त हुन्छ । तर यो खोप धेरै उत्पादन नभएकाले यसको बारेमा जनचेतना पनि कम भएकाले अहिले नौदेखि १५ वर्षको उमेरभित्रका बालिकालाई प्राथमिकता दिने भन्ने कुरामा सरकारले जोड दिएको छ । तर यौन व्यवसायमा संलग्न व्यक्ति, यौन व्यवसायमा नै संलग्न तेस्रो लिङ्गीहरूमा यो क्यान्सरको जोखिम अझ बढी हुन्छ । त्यसैले त्यस्ता व्यक्तिले भने ४० वर्षको उमेरसम्म पनि यो खोप लगाउन सक्छन् ।

खोपले पाठेघरको क्यान्सरबाट कसरी बचाउँछ ?

पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारण ह्युमनपापिलोमा भाइरस हो । बजारमा उपलब्ध सिकोलिन, सर्भरिक्स, गार्डशिल र गार्डशिल-९ जति पनि खोप छन्, सबैले त्यो भाइरसलाई फैलिनबाट रोक्ने हो ।

खोप कहाँ लगाउने कति मूल्य पर्छ ?

नेपाल सरकारले यो खोप सबैलाई निःशुल्क उपलब्ध गराउनुपर्ने हो । तर निःशुल्क उपलब्ध गराउन नसकेको अवस्थामा निजी अस्पतालमा पनि शुल्क तिरेर यो खोप लगाउन सकिन्छ । एउटा डोज सर्भरिक्स खोपको तीनदेखि चार हजार रुपैयाँ पर्छ, सिकोलिनको चार हजार ५०० रुपैयाँ पर्छ । गार्डशिलको ६ देखि आठ हजार रुपैयाँ पर्छ भने गार्डशिल-९ को १२ देखि १५ हजार रुपैयाँसम्म पर्छ ।

  • ८ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech