गर्मी मौसममा छालालाई कसरी जोगाउने ?

    • स्वास्थ्य पेज

  • ६ जेष्ठ २०८०, शनिबार

गर्मी महिना लागेसँगै छालामा विभिन्न समस्याहरु देखा पर्ने गर्छन् । घामका कारण छालामा चाया, पोतो, एलर्जी, खटिरा, डन्डिफोर जस्ता समस्या देखा पर्छन्। गर्मीको मौसममा छालामा देखा पर्ने समस्यालाई धेरैले सामान्य रुपमा लिने गरेका हुन्छन्।

गर्मीमा चर्को घाम र धुलो धूँवाले अनुहार तथा हातखुट्टाको छालालाई सोझै असर गर्छ । घामले छालालाई कालो बनाउँछ । छालाको पानी सोस्छ र रुखो बनाउँछ । छाला फुस्रो हुने, रुखो हुने समस्या हुन्छ । गर्मीमा पसिना धेरै बग्ने हुँदा शरीरमा पानीको मात्रा कम हुन गई छालामा सुक्खापन आउँछ।

छाला सुक्खा हुँदा निकै चिलाउने गर्छ। यो समय फंगल इन्फेक्सनले समेत सताउन सक्छ । फंगल इन्फेक्सनुलाई ढुसी परेको भन्ने गरिन्छ। यस्तो समस्या काखी, जाँग, महिलाको स्तनमुनि बढी देखिने गर्छ। जहाँ पसिना बढी जम्मा हुन्छ त्यस्ता ठाउँमा फंगल इन्फेक्सन हुने गर्छ। यस्तोमा छाला बढी चिलाउने र ढुसीले गर्दा घाउ हुने आदि समस्या देखिन्छ।

मध्यान्हको चर्को घाममा घरबाहिर हिँड्ने अझ मोटरसाइकल, स्कुटरमा कुद्नेहरुले अनुहारको सुरक्षा खोज्नुपर्छ । मोटरसाइकल एवं स्कुटरमा धुलो, धूँवाले अझ बढी असर गर्छ ।

यो मौसममा छालालाई विशेष स्याहार गर्न जरुरी हुन्छ । गर्मीमा घाम र तातो हावाले छालालाई फुस्रो बनाउँछ । जसले गर्दा प्राकृतिक सुन्दरता मर्न सक्छ । अरु समयमाभन्दा पनि गर्मीमा छालाको विशेष स्याहार गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

कसरी गर्न सकिन्छ त हेरचाह ?

. बाहिरबाट घर आएपछि फेसवास वा क्लिन्जिङ गर्ने । अनुहार धोएपछि मोस्चराइजर लगाउने

. सन्सक्रिन क्रिमको प्रयोग गर्दा छालरोग विशेषज्ञको परामर्श लिएर मात्र गर्नु राम्रो ।

. घर बाहिर निस्कँदा छाताको प्रयोग गर्ने ।

. अनुहार छोपिने टोपी वा मास्कको प्रयोग गर्ने  ।

. पूरै शरीर ढाक्ने गरी कपडा लगाउने ।

. हावाहुरी चल्ने मौसममा छाला सुक्खा हुन नदिने । छाला जोगाउन शरीर ढाकेर घरबाहिर निस्कने ।

. गर्मी मौसममा धेरै तातोपानीले ननुहाउने । मनतातो पानी प्रयोग गर्ने ।

. अनुहारमा पसिना आउनुका कारण प्रायः छाला चाउरी पर्छ । त्यसैले गर्मी मौसममा कपास वा रुमाल साथमा राख्नुहोस् ताकि पसिना आउँदा रुमाल प्रयोग गर्न सकियोस् ।

. छालामा समस्या देखिए छालारोग विशेषज्ञसँग परामर्श लिने ।

. राति सुत्ने वेला मुख धोएर सधैँ मौस्चराइजर लगाउने ।

. खानपानमा विशेष ध्यान दिने । फलफूल खाने, पर्याप्त पानी पिउने ।

वरिष्ठ छाला, यौन, कुष्ठरोग तथा सौन्दर्य विशेषज्ञ डा.बद्री चापागाईसँगको कुराकानीमा आधारीत

 

  • ६ जेष्ठ २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech