भेरी अस्पतालको न्यूरो सेवामा यसरी आउँदै छ बदलाब

कन्सल्टेन्ट न्यूरो सर्जनद्धय डा.कार्की र डा.गौतमको स्तरीय सेवा प्रवाहसँगै ओपिडीमा न्यूरोका बिरामीको संख्या बढ्दै गएको छ । हप्तामा ५-७ वटा शल्यक्रिया हुन थालेको छ । आइसीयू बेडहरु न्यूरोका बिरामीले भरिन थालेका छन् ।


    • प्रियास्मृति ढकाल

  • ५ जेष्ठ २०८०, शुक्रबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा न्यूरो सेवा प्रभावकारी बन्दै गएको छ । हिंजोआज दैनिक ४० जनाले ओपिडी सेवा लिइरहेका छन् भने हप्तामा ५-७ वटा शल्यक्रिया भइहेको छ । आइसीयू वेडहरु न्यूरोका बिरामीले भरिन थालेका छन् ।

कन्सल्टेन्ट न्यूरो सर्जनद्धय डा.अञ्जन सिंह कार्की र डा.सुवोध गौतमको जोडि अहोरात्र खटिएर सेवा दिन थालेपछि भेरीको न्यूरो सेवामा पुरै बदलाब आएको छ । स्तरीय उपकरण थप भएका छन् । धमाधम शल्यक्रिया पनि भइरहेको छ । पछिल्लो पटक न्यूरो सेवाका लागि ड्रिलसेट उपकरण जडान समेत भएको छ ।

जापानबाट भित्र्याइएको यो उपकरण न्यूरो सर्जरीका लागि अत्यन्तै स्तरीय र उपयोगी उपकरण मानिन्छ । त्यस्तै पुराना उपकरणहरु पनि प्रयोगमा ल्याइएको कन्सल्टेन्ट न्यूरो सर्जन डा.अञ्जन सिंह कार्कीले बताउनुभयो । ‘भेरीको न्यूरो सेवालाई स्तरीय र गुणस्तरीय बनाउने प्रयासमा न्यूरो विभागको टिम जुटेको छ डा.कार्कीले भन्नुभयो–‘शल्यक्रियाका लागि अन्यत्र जानु पर्ने अवस्था छैन ।’

टाउकोमा रगत जमेका, मस्तिष्क घात भएका बिरामीको शल्यक्रिया भइरहेको छ । एकात समस्या बाहेक अन्य सबै शल्यक्रिया भेरीमै गर्न सकिन्छ । हामीले गर्दै पनि आएका छौं अर्का कन्सल्टेन्ट न्यूरो सर्जन डा.सुवोध गौतमले भन्नुभयो–‘अहिले भेरीको न्यूरो सेवा प्रभावकारी र स्तरीय बन्दै गएको छ ।’

कुनै बेला न्यूरो सर्जनको खडेरी परेको भेरी अस्पतालमा पछिल्ला दिनमा डा.कार्की र गौतमद्धयले स्तरीय सेवा दिन थालेपछि यसक्षेत्रका न्यूरोका बिरामीहरुलाई ठूलो राहात भएको छ । लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालकारुपमा रहेको भेरी अस्पतालमा अब्बल न्यूरो सर्जनहरुले सेवा दिन थालेपछि निम्न आयस्तर भएका बिरामीलाई समेत ठूलो लाभ पुगेको छ ।

अस्पतालको न्यूरो सेवाका बारेमा स्वास्थ्य पेजका लागि प्रियास्मृति ढकालसँग कुराकानी गर्दै न्यूरो सर्जनद्धय डा.कार्की र डा.गौतम

न्यूरो उपचार स्वभाविक महंगो छ तर निजी अस्पतालको तुलनामा सरकारी अस्पताल भएकाले भेरीमा करिव चौगुणा कम मूल्यमा शल्यक्रिया भइरहेको छ । ‘त्यही शल्यक्रिया प्राइभेटमा गर्नुपर्यो भने एक डेढ लाख रुपैयाँ बिरामीले तिर्नु पर्छ डा.गौतम भन्नुहुन्छ–‘तर भेरीमा केवल २० हजार रुपैयाँमै शल्यक्रिया हुन्छ ।’

मस्तिष्कघात, टाउकोमा रगत जमेको, ब्रेन टयुमर, स्पाइनल टयुमरलगायतको उपचार तथा शल्यक्रियाका लागि अव भारत तथा काठमाडौं लगायतका सहरमा जानु पर्ने अवस्था नरहेको डा.द्धय कार्की र गौतमको भनाइ छ । अप्रेशन थिएटरको सुधार, थप माइक्रोस्कोपको व्यवस्थापन र न्यूरो विभागलाई चाहिने तालिम प्राप्त जनशक्ति हुने हो भने भेरी अस्पतालको न्यूरो सेवा यसक्षेत्रकै सबैभन्दा राम्रो, गुणस्तरीय र अझ प्रभावकारी हुने डा.कार्कीको भनाइ छ ।

को हुनुहुन्छ डा.अञ्जन सिंह कार्की

धादिङ निलकण्ठ नगरपालिका–३ मा २०३९ सालमा जन्मनुभएका कार्की अब्बल न्यूरो सर्जनकारुपमा परिचित हुनुहुन्छ । गाउँकै महेन्द्र निमावीबाट कक्षा ७ सम्म अध्ययन गर्नुभएका उहाँ पढाइमा तेजिलो विद्यार्थीकारुपमा चिनिनुहुन्थ्यो । उहाँ कक्षा ८ देखि १० सम्म रक्तकाली स्कुलमा पढ्नुभयो ।

डा.अञ्जन सिंह कार्की, न्यूरो सर्जन

वि.स २०५४ सालमा उत्कृष्ट अंकसहित एसएलसी उर्तिण गर्नुभयो । वि.स २०५७ सालमा भिएस निकेतनबाट आइएसी गर्नुभएका कार्कीले सन २००९ मा फिलिपिन्सबाट एमबीबीएस गर्नुभयो । एमडी एमएस भने वीर अस्पतालबाट सन २०१७ मा गरेपछि टिचिङ हस्पिटलबाट न्यूरोसर्जरीमा एमसीएच सन् २०२१ मा गर्नुभयो ।

उहाँले एमसीएच गरेपछि एक वर्ष टिचिङमै सेवा गर्नुभयो । त्यसपछि भने उहाँ पश्चिम नेपालका बिरामीलाई सेवा दिन नेपालगन्ज स्थित भेरी अस्पतालमा आउनुभयो । उहाँले विगत ४ महिनादेखि भेरी अस्पतालको न्यूरो विभाग सम्हाल्नुभएको छ ।

को हुनुहुन्छ डा.सुवोध गौतम

सुर्खेतको इतराममा वि.स २०४५ सालमा जन्मिएपनि डा.गौतमको बाल्यकाल भने नेपालगन्जमै वित्यो । वि.स २०५२ सालमा गौतमको परिवार बसाइसराइ गरी नेपालगन्ज भित्रियो । नेपालगन्ज उपमहानगरपालिका–१ धम्वोजी निवासी गौतमले सेनथोमस स्कुलमा कक्षा ८ सम्म पढ्नुभयो । ९ र १० भने नेपालगन्जमै रहेको जय बागेश्वरीमा पढ्नुभयो ।

डा.सुवोध गौतम, न्यूरो सर्जन

वि.स २०६० सालमा एसएलएसी उर्तिण गर्नुभएका उहाँले वि.स २०६३ सालमा हिमालय ह्वाइटहाउसबाट आइएसी गर्नुभयो । सन २०१२ मा नेपालगन्ज मेडिकल कलेजबाट एमबीबीएस गर्नुभएका उहाँले एमएस भने सन २०१७ मा मेडिकल कलेजबाटै गर्नुभयो । न्यूरोसर्जरीमा एमसीएच भने सन २०२३ मा वीर अस्पतालबाट गरेपछि उहाँको पहिलो पोष्टिङ भेरीमा भएको हो ।

उहाँले आफ्नै गाउँठाउँमा बसेर यसक्षेत्रमा न्यूरो सेवालाई थप बलियो र प्रभावकारी बनाएर विपन्न समुदायका विरामीलाई स्तरीय सेवा कसरी दिन सकिन्छ भन्नेबारेमा समेत योजना बनाइरहेको बताउनुहुन्छ ।

  • ५ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech