चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा गिरीलाई पीडित विद्यार्थीको खुलापत्र

    • स्वास्थ्य पेज

  • २८ बैशाख २०८०, बिहीबार

आदरणिय प्राडा श्रीकृष्ण गिरी सर,
सर्वप्रथम सादर नमस्कार

सर हजुरको  नामको अगाडि नै प्रोफेसर जोडिएको छ। त्यसबाटै थाहा हुन्छ तपाईं कति विद्वान हुनुहुन्छ। त्यही विद्वता र मेडिकल शिक्षामा तपाईंको योगदान हेरेर नै नेपाल सरकारले तपाईंलाई चिकित्सा शिक्षा आयोगको नेतृत्वमा नियुक्ति दिएको कुरामा दुईमत नै छैन। हामी मेडिकल फिल्डमा भर्खर पाईला चाल्दै गरेका केही हजार बबुरो  विद्यार्थी तपाईं जस्तो महान व्यक्तित्वको अगाडि केही पनि हैनौं।
यति भन्दै गर्दा बारम्बार जसरी चिकित्सा शिक्षा आयोगद्वारा लिइने प्रवेश परीक्षा पछिको भर्ना प्रक्रियामा प्रश्न उठिरहेको छ यसलाई नजरअन्दाज गर्न मिल्दैन। यसपालीको भर्ना प्रक्रियामा त म आफू स्वयं नै मेरीटोक्रेसी विपरितको भर्ना प्रक्रियाको शिकार हुन पुगें। म यो भर्ना प्रकृयाबारे धेरै यो पत्रमा केही बोल्दिन, भन्दिन किनकी बारम्बार त्यही कुरा भेटेर, सामाजिक संजाल मार्फत, पत्रपत्रिका टिभीमार्फत भन्दा भन्दा म लगायत हामी सबै विद्यार्थी थाकिसकका छौं। अब त हाम्रो कुरा सर्वसाधारण, पत्रकारज्यूहरु, माननीय सांसदज्यूहरु तथा सर्वोच्चका सामान्य तहका कर्मचारीहरुले नि बुझिसक्नु भयो। तर  तपाईं लगायत  आयोगका पदाधिकारीले सुन्न पनि चाहनुभएन।
यी कुरामा पक्ष बिपक्षमा बाहिर बोलेर नि अब खासै महत्व छैन किनकी यो विषय अदालतमा बहसमै छ। तर बिडम्बनाको कुरा तपाईं आयोगको तर्फबाट वारेस (प्रतिनिधि) पठाई मुद्दा वहसलाई टुङ्गोमा पुर्‍याउनुको साटो आफैं टिभीमा स्पष्टिकरण दिंदै हिंड्नुभाछ। जानाजान मुद्दा लम्ब्याई विद्यार्थीलाई दुख दिने, गलाउने बदनियतले कहिले वारेसलाई अदालतको कागजी प्रक्रिया पूरा गर्न नलगाउने, कहिले अदालतले मागेको जवाफ समयमै नदिने गर्न लगाईराख्नु भएको छ।

मेरिटोक्रेसी कायम भएर भर्ना गरिएको कुरामा  तपाई‌ं पूर्ण रुपमा विश्वस्त हुनुहुन्छ भने टिभीमा प्रचारबाजी गर्दै हिंड्नुको साटो अदालतमा बहस टुङ्ग्याउन आयोगको तर्फबाट गरिनुपर्ने प्रक्रियाहरु किन पूरा गर्नुहुन्न। हस्पिटल, प्रतिष्ठानमा वर्कफोर्स छैन, विद्यार्थीहरुले पढ्न पाएका छैनन्, आयोगको कारण मुद्दाको पेशी सरेको सरै भएर फैशला ढिलाई भैरहेके छ तर आदरणिय गिरी सर टिभीमा प्रचारबाजी मै ब्यस्त हुनुहुन्छ। हामी विद्यार्थीले त अदालतले जस्तो सुकै अन्तिम फैसला दिएपनि त्यसलाई स्वीकार गरेर अगाडी बढ्न तयार छाैं।

अब हाम्रो शैक्षिक सेसन धेरै ढिलो हुँदै गयो  आदरणिय गिरी सरले पनि आफ्नो विद्वता कायम गर्दै अदालति प्रक्रिया जानाजान ढिलो गर्ने कार्य बन्द गर्न पर्‍यो। तपाईं आफै, तपाईंको परिवार सबै मेडिकल क्षेत्रमा हुँदाहुँदै जानाजान मेडिकल क्षेत्र धोस्त पार्ने काम  गर्नु भएन। तपाईं र तपाईंको परिवार विदेशमा सेटल भई बस्न सक्लान तर म जस्ता डाक्टरहरुको कर्मथलो नेपाल नै हो । हाम्रो शैक्षिक भविष्य अन्धकार नबनाईदिनुहोस्। धन्यबाद।

  • २८ बैशाख २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech