के हो ठूलो आन्द्राको क्यान्सर ?

    • स्वास्थ्य पेज

  • २० बैशाख २०८०, बुधबार

विश्वव्यापी रुपमै क्यान्सरबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । नेपालमा पनि क्यान्सर पीडितको संख्या निकै छ । यसमध्ये पनि ठूलो आन्द्राको क्यान्सरबाट पीडित हुनेको संख्या अग्रपंक्तिमै आउँछ । ठूलो आन्द्राको क्यान्सरबारे पर्याप्त जनचेतनाको कमीले समयमै पहिचान र उपचार हुन नसक्दा यो रोग ठूलो समस्याको रुपमा देखा परिरहेको छ ।

क्यान्सर हुने बित्तिकै व्यक्तिलाई मृत्युको भयले सताउँछ । तर क्यान्सर हुने बित्तिकै छिटो पहिचान र उपचार भएमा बिरामी निको भएर सामान्य जीवनमा फर्किन सक्ने चिकित्सक बताउँछन् । ठूलो आन्द्राको क्यान्सर कसरी लाग्छ, परीक्षण कसरी गराउने ? उपचार के छ ? लगायत विषयमा केन्द्रित रहेर पाटन अस्पतालका ग्यास्ट्रोइनटेस्टिनल एण्ड ल्याप्रोस्कोपिक सर्जन डा. सुरेन्द्र  शाहसँग गरिएको कुराकानीको सम्पादित अंश :

के हो ठूलो आन्द्राको क्यान्सर ?

हाम्रो शरीरमा कोषहरु बनिरहेका हुन्छन् । ती कोषहरु अनियन्त्रित रुपमा वृद्धि हुँदा क्यान्सर हुन्छ । त्यस्तै, कुनै कारणवश ठूलो आन्द्रामा तीव्र रुपमा अत्यधिक कोषहरु बढ्दै गएमा ठूलो आन्द्राको क्यान्सर हुन्छ । ठूलो आन्द्राको क्यान्सरलाई कोलोरेक्टल क्यान्सर पनि भनिन्छ ।

ठूलो आन्द्राको क्यान्सर के कारणले हुन्छ ?

परिवारभित्र बाबुआमा वा अघिल्लो पुस्तामा कसैलाई पहिला नै आन्द्राको क्यान्सर भएको छ भने बच्चामा पनि सर्न सक्ने सम्भावना हुन्छ । त्यस्तै, रेड मिट, फाइबर अत्यन्त कम खाने, धुम्रपान र मद्यपान गर्ने बानी पनि ठूलो आन्द्राको क्यान्सर गराउने मुख्य कारक हुन् ।

अत्यधिक मोटोपनले क्यान्सरको जोखिम बढाउँछ । कुनै पनि आन्द्रामा देखिने रोग समयमा उपचार भएन भने पनि क्यान्सरको रुप लिन्छ । आन्द्रामा देखिने कोलोरेक्टल पोलिपको समयमा उपचार नहुँदा, इन्फ्लामेटरी बाउल डिजिजले ठूलो आन्द्राभरि नै घाउ बनाउँछ । त्यसको उपचार भएको छैन वा पित्तनलीसम्बन्धी रोगमा पनि अन्तिममा गएर क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।

क्यान्सर भइसकेपछि कस्तो लक्षण देखिन्छ ?

आन्द्राको कुन भागमा क्यान्सर भएको छ, त्यहीअनुसारको संकेत देखाउँछ । क्यान्सर ठूलो आन्द्राको दायाँ भागमा भएको छ भने बिरामीलाई कुनै किसिमको दुखाइ नहुन सक्छ । उनीहरुमा एकैपटक रगतको कमी भएर रिंगटा लाग्ने, कमजोर अनुभव हुने, छिटो थाक्ने जस्ता लक्षण देखिन्छ ।

त्यस्तै, बायाँतर्फको भागमा क्यान्सर भएमा मासु पलाएर आन्द्रा साँघुरो हुन्छ, जसकारण दिसा गर्ने क्रममा त्यसको प्रभाव फरक हुन्छ । उनीहरुमा कडा दिसा हुने, दुई-तीन दिनपछि मात्र दिसा हुने, कहिले डायरिया हुने, कहिलेकाहीं खाना खाएपछि पेट बटारिएको जस्तो अनुभव हुने हुन्छ ।

कहिलेकाहीं क्यान्सरले पलाएको मासुको भागबाट रगत बग्ने गर्छ, जुन गएर दिसामा गाढा रगत देखा पर्छ । धेरैमा दिसामा रगत देखिने बित्तिकै पायल्स हो भन्ने अनुमानले गर्दा उपयुक्त उपचार भइरहेको हुँदैन, जसले गर्दा क्यान्सर झन् फैलिन सक्छ । त्यसैले अनुमान गर्नु साटो दिसामा रगत देखिने बित्तिकै ग्यास्ट्रोलोजिस्ट, जीआई वा जनरल सर्जनलाई देखाउनु उत्तम हुन्छ ।

ठूलो आन्द्रामा क्यान्सर भएको पत्ता लगाउन के जाँच गर्नुपर्छ ?

दिसामा समस्या भएर आएका बिरामीमा दिसाको परीक्षण गरिन्छ । यसबाट बिरामीमा रगतको मात्रा कति छ भनेर निक्र्योल गर्न सकिन्छ । यसबाट पनि केही हदसम्म पत्ता लाग्छ ।

त्यस्तै, कोलोस्कोपी गरेर दूरबिनको माध्यमबाट ठूलो आन्द्राको अवस्था हेरिन्छ । यदि त्यसरी हेर्दा क्यान्सरको लक्षणको शंका लागेमा त्यहाँबाट सानो टुक्रा निकालेर बायोस्पी गरिन्छ, जसबाट क्यान्सर छ कि छैन पत्ता लाग्छ ।

क्यान्सर पत्ता लागेपछि कुन चरणमा छ भनेर पेट र छातीको सिटिस्क्यानबाट हेरिन्छ ।  बिरामीको अवस्था बुझ्न बिरामीको मुटु, छाती, रगत लगायत परीक्षणपछि उपचार प्रक्रिया अघि बढ्छ ।

क्यान्सरको उपचार सम्भव छ ?

कुनै पनि औषधिले क्यान्सरको उपचार हुन सक्दैन । यसको पूर्ण उपचार सफलताको लागि क्यान्सर भएको भागलाई निकालेर फाल्नुपर्छ । तर यसमा ध्यान दिनुपर्ने कुरा के छ भने शल्यक्रिया गर्ने अवस्थामा बिरामी छ कि छैन, क्यान्सरको कुन चरण हो भन्ने कुरा हेर्नुपर्छ । क्यान्सर अन्य अंगमा फैलिएको छैन भने क्यान्सर भएको मासुको भाग निकाल्न सकिन्छ । मासुसँगै त्यसको ग्रन्थि पनि निकाल्नुपर्छ । क्यान्सर हुँदा सम्पूर्ण भाग नै फाल्नुपर्ने हुँदा अन्य शल्यक्रिया भन्दा क्यान्सरपछिको शल्यक्रिया फरक हुन्छ । पहिला चिरफारबाट मात्र शल्यक्रिया हुन्थ्यो भने अहिले ल्याप्रोस्कोपिक प्रविधिबाट सानो घाउ बनाएर शल्यक्रिया गर्न सकिन्छ ।

ठूलो आन्द्राको क्यान्सरपछि बिरामी बाँच्ने सम्भावना कति रहन्छ ?

सुरुको अवस्थामा पहिचान भए शल्यक्रिया गरेर बिरामी पूर्ण निको हुन सक्छ । क्यान्सरको तेस्रो चरण पार भएको छैन भने शल्यक्रिया गराउन मिल्छ । चौथो चरणमा भने कलेजोतिर पनि क्यान्सर फैलिसकेको हुन सक्छ । जहाँसम्म फैलिएको छ त्यो भागसम्म काट्न सकियो भने निको पार्छ । तर पुनः बल्झिन पनि सक्छ त्यो अवस्था निम्तिन नदिन केमोथेरापी चलाउनुपर्छ ।

कसैमा रेडियोथेरापी पनि जरुरी हुन सक्छ । चौथो चरणमा पुगेका बिरामीले छिटो उपचार गरेर स्वास्थ्यलाई हेरचाह गरेर धेरै वर्षसम्म बाँचेका थुप्रै उदाहरण छन् । समयमा उपचार नहुँदा भने चौथो चरणमा पुगेका बिरामी मृत्युको जोखिममा हुन्छन् ।

क्यान्सरबाट निको भइसकेका बिरामी सामान्य जीवनमा फर्किन सक्छन् । तर चिकित्सकको  रेगुलर फलोअपमा भने बस्नुपर्छ, ताकि क्यान्सर पुनः बल्झिएमा छिटो उपचार गर्न सकियोस् ।

ठूलो आन्द्राको क्यान्सरबाट कसरी बच्न सकिन्छ ?

-वंशाणुगत जोखिमलाई कम गर्न सकिंदैन । त्यस्तो अवस्थामा सानो उमेरदेखि नै परिवारको सदस्यले वर्षमा एकपटक स्क्रिनिङ गराउनुपर्छ । जसले क्यान्सर देखिएमा पनि छिटो पहिचान र उपचार हुन्छ । -मोटोपन हुन नदिन फाइबरयुक्त र ठिक्क मात्रामा सन्तुलित आहार खानुपर्छ । शारीरिक व्यायामलाई प्राथमिकता दिनुपर्छ । -पोलेको मासु, रेडमिट, क्यान वा प्याकेटमा रसायन मिसाएको हुन्छ, जुन हानिकारक हुन्छ । त्यस्तोमा प्रशोधित र भण्डारण गरी राखिएको मासु वा अन्य खानेकुरा खानु हुँदैन ।-मदिरा र धुम्रपानले पनि क्यान्सरको जोखिम गराउने हुँदा त्यसबाट टाढा रहनुपर्छ ।

  • २० बैशाख २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech