वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०७९, बिहीबार

सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरले विगत पाँच महिनादेखि स्वास्थ्यकर्मीले तलब भत्ता पाउन सकेका छैनन् । वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीले आफूले काम गरे बापतको पाँच महिनादेखि तलब भत्ता नपाएको जानकारी दिएका हुन् ।

कर्णाली राजधानीको मुटुमा रहेका नगरपालिकामा कर्मचारीले तलब भत्ता नपाउँदा कर्मचारी मारमा परेको उतरगङ्गा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी उदय थापाले बताउनुभयो । ‘स्वास्थ्यका कर्मचारीले पाँच महिनादेखि तलब पाएका छैनौ । तलब मात्रै नभई स्थानीय सरकारले दिने महंगी भत्तासमेत हामीले पाएका छैनौ । सबै कर्मचारीको हाउजिङ्ग लोन हुन्छ । छोराछोरी पढाउने देखि घर खर्च त्यसैमा गर्नु पर्छ’, उहाँले भन्नुभयो–‘नगरपालिकाले मन्त्रालयले तबल पठाए पछि खुवाउने भन्ने छ । मन्त्रालय र नगरपालिकाको आरोप प्रतिआरोपको रस्साकसीले गर्दा अहिलेसम्म तलब पाउन सकेको छैनौ ।’

अरू सेवाका कर्मचारीले दरबन्दी नभएपनि नगरपालिका अन्तर्गतका कर्मचारीले तलब भत्ता पाइरहेका छन् । तर, स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका स्थायी कर्मचारीले तलब पाउन सकेका छैनन् । हामी संवेदनशील सेवामा काम गर्ने, प्राथमिकता युक्त कार्यक्रम चलाई रहनु पर्ने, कोरोनाको महामारीमा रातदिन खटाउँदा पनि बिरामीको उपचारमा संलग्न भएका स्वास्थ्यकर्मीचारीहरुलाई स्थानीय सरकार र संघीय सरकारको चपेटामा स्थानीय कर्मचारी परेका छन् ।

यस्तै, जन स्वास्थ्य अधिकृत भूपेन्द्रदेव गिरीले कर्मचारी समायोजन मिलान सम्बन्धी मापदण्ड २०७७ मा ३८ जना कर्मचारी स्वास्थ्य मन्त्रालयले पठाएको जानकारी दिनुभयो । त्यसपछि फेरि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीहरूको समायोजन मिलान सम्बन्धी व्यवस्था २०७७ मा ५६ जना कर्मचारीलाई पठाएको गिरीले बताउनुभयो ।

‘स्वास्थ्य मन्त्रालयबाट २ करोड ६३ लाख बजेट ३८ जनालाई आएको थियो । उक्त बजेट फेरी आउँछ भन्ने सोचेर ९४ जना कर्मचारीलाई तलब खुवाइयो तर कात्तिकदेखि यता बजेट आएन’ उहाँले भन्नुभयो । साथै, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले दरबन्दीअनुसार तलब दिएको जनाकारी दिनुभयो ।

उहाँले मन्त्रालयबाट आयो भने त्यसको व्यवस्थापन हुने बताउनुभयो । उहाँका अनुसार वीरेन्द्रनगरमा संगठन तथा व्यवस्थापन सर्वेक्षण भएको छैन । स्वास्थ्यमा कर्मचारी बढी छन् । प्राविधिकमा पनि कर्मचारी बढी छन् । कुनैमा बढी कम कुनैमा कम कर्मचारी छन् त्यसको राम्रोसँग वयनाम गर्नुपर्ने छ । यस्तै, स्थानीय तहका कर्मचारीलाई वीरेन्द्रनगर नगरपालिकाको सिफारिस र सहमतिका आधारमा मन्त्रालयले कर्मचारी पठाएको स्वास्थ्य मन्त्रालय प्रशासन महाशाखाका तुलसी गौतमले बताउनुभयो ।

 

  • १६ चैत्र २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech