मापदण्ड पूरा नगरेको पाइएपछि कोहलपुर बेलनपुर बधस्थल बन्द

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०७९, बिहीबार

नेपालगन्जः कोहलपुर नगरपालिका ४ बेलनपुरस्थित बधस्थल तत्कालका लागि बन्द गरिएको छ ।

मापदण्ड विपरीत संचालनमा रहेको पाइएपछि बधशास्थलमा पशुबध गर्न रोक लगाइएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो ।

कोहलपुर नगरपालिकाको अगुवाईमा भएको अनुगमनमा स्थानीय नसिव इद्रिसीले अनुमति नलिएरै राँगा भैसी काट्ने गरेको र अर्का एकजनाले अनुमति लिएपनि मापदण्दको पालना नगरेको पाइएपछि बधस्थलमा पशुबध गर्न तत्कालका लागि स्थगीत गरिएको थापाले बताउनुभयो ।

कोहलपुर नगरपालिका ४ का वडा अध्यक्ष मुबारक अलि गुल्जार, नगररपालिकाका आर्थिक विकास शाखा प्रमुख बीरबहादुर विक, पशु शाखा प्रमुख गोविन्द रोकाय, इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक महेश आचार्य, कुखुरा विकास फर्मका भेटनरी निरीक्षक डा शंकर न्यौपाने लगायतको टोलीले बधस्थलको अनुगमन गरेको हो ।

स्थानीयबासीले पनि ती बधस्थलबारे स्थानीय सरकारलाई गुनासो गर्दै आएका थिए । रांगाभैसी काट्ने ठाउँको उचित सरसफाई नगरेको, त्यहाँबाट निस्कने फोहोर व्यवस्थापन नगरेको, कतिपय फोहोर नालामा मिसाउने गरेको लगायतको गुनासो स्थानीयको छ ।

पशु स्वास्थ्य तथा पशु ऐन २०५५, वातावरण संरक्षण ऐन ०७६, पशु बधशाला र मासु जाँच ऐन २०५५ को मापदण्डमा रहेरमात्रै पशुबध शाला संचालन गर्न दिने निर्णय भएको अनुगमन समितिका सदस्य डा. न्यौपानेले बताउनुभयो ।

  • १६ चैत्र २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech