सरकारी चिकित्सकलाई निजी क्लिनिकमा नाम प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    • स्वास्थ्य पेज

  • १५ चैत्र २०७९, बुधबार

नेपालगन्ज: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहतका चिकित्सकहरुलाई निजी क्लिनिकमा नाम प्रयोग नगर्न निर्देशन दिएको छ ।

बुधबार मन्त्रालयले एक सूचना प्रकाशित गरी निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्ने गैरव्यवसायिक र अनैतिक कार्य नगर्न भनेको हो ।

मन्त्रालयका शाखा अधिकृत शेरबहादुर विकद्वारा हस्ताक्षर गरिएको सूचनामा भनिएको छ, ‘कुनै पनि चिकित्सकहरुले निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्ने गैरव्यवसायिक र अनैतिक कार्य गर्न नहुने व्यहोरा सम्बन्धित सबै चिकित्सकहरुका लागि सूचित गरिन्छ ।’

मन्त्रालयले सरकारी अस्पतालका चिकित्सकहरुले निजी क्लिनिकमा नाम प्रकाशित गर्ने कार्य स्वास्थ्य सेवा ऐन, २०५३, तथा नियमावली २०५५, जनस्वास्थ्य सेवा ऐन, २०७६, तथा नियमावली २०७७, नेपाल मेडिकल काउन्सिल ऐन, २०२० तथा नेपाल मेडिकल काउन्सिल नियमावली २०२४, को नियम २२ मा भएको चिकित्सक आचारसंहिताको उल्लंघन हुने जनाएको छ ।

मन्त्रालयले मातहतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुले निजी क्लिनिकमा नाम प्रयोग गरेको गुनासो आएको र उक्त कार्यमा गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

  • १५ चैत्र २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech