काठमाडौं: वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुनलाई सेवाबाट वीरले हटाएको हो ।
अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएपछि उहाँहरुलाई प्रक्रिया पुर्याएर सेवाबाट हटाइएको हो । अस्पतालका अनुसार ढकाल २०७६ फागुन १५, लम्साल ०७५ असार २२ गते, श्रेष्ठ ०७६ असोज १ गते, सिटौला ०७४ चैत १ गते र पुन ०७५ पुस १३ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन हुनु भएको थियो ।
पाँचै जनाको नाममा ३० दिनभित्र सम्पर्कमा आउन सूचना जारी गर्दा पनि हाजिर हुन नआएपछि सेवाबाट हटाइएको अस्पतालले जनाएको छ ।