धेरैबेरसम्म एउटै पोजिसनमा बस्दा हातखुट्टा झमझमाएको प्रायःले अनुभव गरेका हुन्छन् । तर यस्तो हुनुको कारणबारे भने धेरैले जान्ने प्रयास गरेका हुँदैनन् । हातखुट्टा झमझमाउने समस्या धेरैजसो स्वास्थ्य अवस्थासँग सम्बन्धित हुन्छ । हातखुट्टा झमझमाउनुका विभिन्न कारण हुन्छन् ।
भिटामिनको कमी हुँदा
एउटै स्थितिमा बस्दा
शरीरमा रक्तसञ्चार प्रभावित नहुँदा
शरीरमा रक्तसञ्चार सामान्य नहुँदा हातखुट्टा झमझमाउन सक्छ । शरीरमा रक्तसञ्चार नहुनु वा अवरोध भएमा यसले स्नायुमा असर पार्छ, जसकारण शरीरका धेरै भागमा अक्सिजन पुग्दैन ।
यीबाहेक हातखुट्टा झमझमाउने कारण विभिन्न रोगको संकेत हुन सक्छ । थाइराइड, हातखुट्टामा झुकेर काम गर्दा नसा च्यापिनु, मिर्गौला, मधुमेहका बिरामीमा पनि लक्षणको रुपमा हातखुट्टा झमझमाउनु एक संकेत हो ।
मिर्गौलाका समस्या भएका व्यक्तिमा प्रत्यक्ष असर स्नायुमा पर्छ, जसकारण स्नायु कमजोर हुन्छ । मिर्गौला फेल हुँदा पनि शरीरमा केही तरल पदार्थ जम्मा हुन थाल्छ, जसले स्नायुमा नराम्रो प्रभाव पार्छ र हातखुट्टा झमझमाउने हुन थाल्छ ।
त्यस्तै, महुमेहका बिरामीमा झमझम हुनु एक लक्षण हुन सक्छ । मधुमेह रोगीको शरीरमा रगतमा चिनी र इन्सुलिन बढ्न थाल्छ, जसले स्नायुमा असर गर्छ । मधुमेह अनियन्त्रित हुँदा बारम्बार यस्तो महसुस हुन्छ । यसैगरी बाथरोगका बिरामी, डिप्रेसन वा एन्जाइटीको समस्या भएकालाई पनि हातखुट्टा झमझझाउने समस्या देखा पर्न सक्छ ।
कुन बेला अस्पताल जाने ?
हातखुट्टा झमझम एक वा दुईपटक हुनु सामान्य हो । तर बारम्बार भइरहेको छ, शरीर कमजोर भएको महसुस हुँदैछ, हातखुट्टा सुन्निने र दैनिक जीवनमै प्रभाव पारेको खण्डमा तुरुन्त परीक्षण गराउनुपर्छ । किनकि यो विभिन्न रोगको लक्षण हुन सक्छ ।
समाधान के ?
हातखुट्टा झमझमाउने समस्याको समाधान भनेको रोग पत्ता लगाएर उपचार गर्नु नै हो । स्नायुमा अक्सिजन पुर्याउन रक्तसञ्चार हुनु आवश्यक छ । त्यसका लागि शरीरको कुनै पनि अंगमा एकतर्फी भार हुन दिनु हुँदैन । वरपर हिंड्ने प्रयास गर्ने, हात झमझमाउँदा औंलालाई चलाइरहने, आफ्नो खुट्टा र हातको मसाज गर्ने गर्दा मांसपेशीलाई आराम मिल्छ र रक्तप्रवाह सुधार गर्न सकिन्छ ।
योग र ध्यानजस्ता अभ्यासले पनि रक्तसञ्चारमा सुधार गर्छ । स्नायुहरू स्वस्थ रहन मद्दत गर्छ । पोषणको कमीले झमझमाउने हुँदा दैनिक आहारमा विभिन्न प्रकारका स्वस्थकर खाना समावेश गर्नुपर्छ । यसले शरीरमा भिटामिन र खनिजको मात्रा कायम राख्न मद्दत गर्छ ।