यसरी गुम्न सक्छ हाम्रो दृष्टि

    • डा. संगीता श्रेष्ठ/बाल नेत्ररोग विशेषज्ञ

  • २९ फाल्गुन २०७९, सोमबार

आँखाको दृष्टि नै भएन भने के होला ? यसको जवाफले हामीलाई झस्काउँछ । हुन त दृष्टिविहीन भएर पनि कतिले जीवनयापन गरिरहेका छन् । तर दृष्टि हुँदा र नहुँदाको अन्तर सामान्य छैन ।

कतिपय जन्मजात नै दृष्टिविहीन हुन्छन् भने कतिपयको पछि दृष्टि गुमेको हुन सक्छ । आखिर के कारणले हामी आफ्नो दृष्टि गुमाउन सक्छौं त ? दृष्टि धेरै कारणले गुम्न सक्छ । त्यसमा पनि बच्चा र बच्चामा छुट्टाछुट्टै कारण हुन्छन् । जन्मजात दृष्टिविहीन हुनेबाहेक मूलतः यी कारणले आँखाको दृष्टि गुम्न सक्छ ।

१. कुनै दुर्घटनामा परेर अचानक दृष्टि गुम्नु

२. मोतीबिन्दु तथा जलबिन्दुको कारण

३. उमेर ढल्किंदै गएपछि

४. मधुमेह र उच्च रक्तचापका कारण

हामीलाई आँखामा कतिपय समस्या हुन सक्छ । त्यस्तो समस्या आउँदा हामी परीक्षण वा उपचार गराउँदैनौं । यस्तो हेलचेक्राइँले समेत आँखाको दृष्टि गुम्न सक्छ ।

हाम्रो उमेर ढल्किंदै जाँदा मोतीबिन्दु जस्ता समस्या आउन सक्छन् । यसले आँखाको नसामा चाप दिन्छ र नसा सुक्दै जान्छ । यस्तो स्थितिमा पनि आँखाको दृष्टि गुम्न सक्छ ।

आँखाको संक्रमणले दृष्टि गुम्दैन

आँखा पाक्ने समस्या धेरैलाई हुन सक्छ । यो एकअर्कालाई सर्न पनि सक्छ । आँखाको सेतो भागमा संक्रमण हुने यो समस्या औषधि लगाएपछि निको हुन्छ ।

यदि आँखाको बीच भाग अर्थात् नानीसम्म असर गरेको छ भने यस्तो अवस्थामा आँखा पाकेको निको त हुन्छ तर फुलो आउँछ । फुलो भनेको आँखाको भित्री भागमा सेतो देखिने हो । त्यसले हेर्न अप्ठयारो हुनुका साथै आँखा धमिलो बनाउँछ । तर दृष्टिविहीन नै चाहिं हुँदैन ।

जन्मजात दृष्टिविहीन हुने कारण

गर्भभित्र नै कुनै संक्रमण भएमा, जलबिन्दु भएमा, बच्चा जन्माउने बेला आमालाई कुनै समस्या छ भने पनि त्यसले बच्चाको आँखामा असर गर्न सक्छ । यस्तै बच्चा जन्मिएपछि कुनै कारणवश आईसीयूमा राख्नुपर्ने भएमा बच्चाको दृष्टिमा समस्या ल्याउन सक्छ ।

यस्तो अवस्थामा सुरुमै शल्यक्रिया गरेर आँखाको दृष्टि फर्काउन सकिन्छ । तर ढिलो गरियो भने त्यो समस्या ज्यूँका त्यूँ रहन सक्छ ।

आँखाको दृष्टि जोगाउन के गर्ने ?

आँखाको दृष्टि जोगाउने उपाय भनेकै आँखामा कुनैपनि समस्या हुनासाथ सतर्क हुनु र जाँच गराउनु हो । बर्सेनि आँखाको जाँच गराउनुपर्ने हुन्छ तर हामीकहाँ त्यस्तो परिपाटी छैन । बाहिर केही समस्या नदेखिएपनि भित्र समस्या हुन सक्छ । जस्तो जलबिन्दु भएको पनि सुरुमा लक्षण देखिंदैन । तर पछि नसा सुक्दै जान्छ र दृष्टि नै गुम्छ ।

मधुमेह, उच्च रक्तचाप, मुटुरोग, थाइराइड, मिर्गौलाको समस्या भएका व्यक्तिले लामो समयदेखि औषधि खाइरहेका छन् भने त्यसले आँखामा कुनै न कुनै असर गरिरहेको हुन सक्छ । त्यसैले कम्तीमा पनि वर्षको एक पटक आँखाको जाँच गराउनुपर्छ ।

आँखालाई धुलो, धुँवाबाट जोगाउनुपर्छ । स्वस्थ्य खानपान, दिनचर्याले पनि आँखालाई राम्रो बनाउन सहयोग गर्छ ।

  • २९ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech