कस्ता बच्चाहरुलाई भिटामिन ‘डी’ को कमी हुन सक्छ?

    • डा राजकुमार विक/बालरोग विशेषज्ञ

  • २७ फाल्गुन २०७९, शनिबार

भिटामिन डी के हो? 
हाम्रो शरीरलाई चाहिने एक अत्यावश्यक भिटामिनहरुमध्ये एक भिटामिन डी हो।

भिटामिन डी पाउने स्रोत के हो?
मुख्य गरेर घामको किरण नै हो। खाने कुरामा विशेषगरी दूध,दहि,च्याउ,अण्डा,माछा,मासु सुन्तलाको रस आदिमा भिटामिन डी पाईन्छ।

बच्चाहरुलाई भिटामिन डी कति आवश्यक पर्दछ?
एक वर्ष मुनिको बच्चालाई एकदिनमा ४००  युनिट चाहिन्छ र सो भन्दा माथी लाई ६०० युनिट चाहिन्छ।

कस्ता बच्चाहरुलाई भिटामिन डी कमीको जोखिम हुन्छ?
-समय नपुगी जन्मेको बच्चा
– ६ महिनासम्म आमाको दूध मात्रै खुवाउने गरेको बच्चा
-कालो छाला भएको र गर्भवती आमाको  शरीरमा भिटामिन डि को मात्रा कम भएर जन्मेका बच्चा
-घाम कम लाग्ने ठाउँमा,धेरै लुगाले पुरै शरीर छोप्ने बच्चा
-भिटामिन डि पाउने खाना कम प्रयोग गर्ने बच्चा

६ महिनासम्म त आमाको दुध मात्रै खुवाउनु भन्छन नि त?
हो, तर आमाको दुधमा १५-५० युनिट प्रतिलिटर अर्थात ७५० मिलिलिटर दूध खुवायो भने पनि १०-४० युनिट  मात्रै पाउँछ जुन बच्चालाई अपुग हुन्छ। भारत अमेरिका लगाएत थुप्रै देशमा गरिएको अनुसन्धानमा १ वर्ष मुनिको बच्चालाई भिटामिन डी दिनलाई जोड गरेको छ।

अनि बच्चालाई घाममा राखेर भिटामिन पाउँछ भने त्यो एक्स्ट्रा किन दिनु पर्ने हो र?
पहिलो कुरा त भिटामिन डी पाउन बच्चालाई १० बजेदेखि ३ बजेसम्मको घाममा दिनको १० देखि १५ मिनेट वा कालो तथा गहुँगोरो बर्णका बच्चालाई,घाम कम लाग्ने महिनामा धेरै बेरसम्म पनि राख्नुपर्ने हुन्छ। तर ६ महिना मूनिको बच्चालाई दिउँसोको घाममा राख्दा छालाको विभिन्न खालको क्यान्सर देखिएकोले उनिहरुलाई घाममा नराख्न भनिएको छ।

त्यसो भए भिटामिन डी चेक नगरी दिने त?
अनुसन्धानले १ वर्ष मूनिको सबै बच्चामा अनिवार्य रगत चेक गर्नु पर्दैन भनेको छ। त्यसैले आफ्नो चिकित्सकको सल्लाह अनुसार भिटामिन डीको प्रयोग गर्नुपर्छ।

एक वर्षमूनिका सबैलाई दिनुपर्ने नै हो?
कलेजोको, मिर्गौलाको वा अन्य कुनै समस्या छ भने दिन मिल्दैन। त्यसैले चिकित्सकको सल्लाहपछि मात्रै प्रयोग गर्नुपर्छ।

भिटामिन डी नदिए के हुन्छ र? फाइदा के छ त?
भिटामिन डीले शरीरमा क्याल्सियम र फस्फोरस तत्वको मात्रालाई सन्तुलनमा राख्छ। बच्चाको वृद्धि विकासमा सहयोग गर्छ। स्वस्थ हड्डी बनाउन मद्दत गर्दछ। त्यस्तै रोग प्रतिरोधात्मक शक्ति बढाउँछ र विभिन्न अनुसन्धानले भने अनुसार एलर्जी कम गराउने, दम तथा अन्य स्वासप्रश्वासको समस्यामा कमी ल्याउने गरेको छ।

  • २७ फाल्गुन २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech