शुक्लाफाँटा निकुञ्जका बँदेलमा स्वाइन फिभर

    • स्वास्थ्य पेज

  • २६ फाल्गुन २०७९, शुक्रबार

नेपालगन्जः कैलाली र बञ्चनपुरका केही बँगुर फार्ममा देखा परेको अफ्रिकन स्वाइन फिभर शुक्लाफाँटा निकुञ्जका बँदेलमा पनि देखिएको छ । नेपालमा पहिलो पटक जंगली बँदेलमा स्वाइन फिभर देखिएपछि बँदेलनै सखाप हुने जोखिम बढेको छ ।

गएको फागुन १९ गते शुक्लाफाँटामा मृत फेला परेको बँदेलको परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वार्डेन किशोर मेहताले बताउनुभयो । यसअघि गएको कात्तिक र माघ महिनामा कैलाली र बञ्चनपुरका केही बँगुर फार्ममा स्वाइन देखिएको थियो । र, दर्जनौ बंगुर तथा सुंगुर मरेका थिए । कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ को बडिमालिका बंगुर फर्मका बंगुरहरुमा देखिएको अफ्रिकन स्वाइन फिभर शुक्लाफाँटाका बँदेलमा फैलिएको आशंका गरिएको छ। यो फर्म जंगलसँगै सटेको छ ।

बँदेलमा यो रोग पुष्टि हुनुले राष्ट्रिय निकुञ्जका बँदेल सखाप हुने जोखिम बढेको पशुपन्छि रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले बताउनुभयो । नेपालमा पहिलो पटक शुक्लाफाँटा राष्ट्रीय निकुञ्जका बँदेलमा अफ्रिकन स्वाइन फिभर देखा परेको समेत उहाँको दावी छ । फागुन १९ गते मरेको फेला परेको बँदेलमा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको भएपनि त्यसपछि अहिलेसम्म भने निकुञ्जमा बँदेल मरेको फेला नपरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ।

अफ्रिकन स्वाइन फिभर रोग लागेमा सुँगुर र बंगुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निलडामहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेका धब्बा देखिने र नाकबाट फिंज आउनेजस्ता लक्षणहरू देखा पर्ने चिकित्सकहरु बताउँछन्।

बंगुर, सुँगुर र बंदेलहरू अफ्रिकन स्वाइन फिभरका कारण झोक्राउने र दाना–पानी खान छोड्ने, ज्वरो १०४ डिग्री फरेनहाइट्भन्दा माथि आउने, श्वास फेर्न गाह्रो हुने, दिसामा रगत देखिने र मर्न सक्ने पशु चिकित्सकहरु बताउँछन् । यो रोगको औषधि र खोप पत्ता लागेको छैन।

  • २६ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech