चिया चर्चा: स्वास्थ्यमा भुईंमान्छेको पहुँच कहिले पुग्ला?

    • धीरज मैनाली

  • १८ फाल्गुन २०७९, बिहीबार

सडक छेऊको नजिकै रहेको मेरो चिया पसलमा अनेक मानिस आउँछन्। चियाको चुस्कीसँगै अनेकन वार्ता गर्छन, पीडा पोख्छन्। म एक श्रोता सबैको कुरा अत्यन्त ध्यानपूर्वक सुन्छु। कतिपयको कुरा बुझ्छु, कतिपयले के भनेको होला भनेर ताजुव मान्छु।  मेरोमा चिया पिउन आउने भुईमान्छे वर्गका हुन् रे अनि उनीहरुलाई रोजगारी छैन रे। शिक्षा छैन रे। स्वास्थ्य सेवामा पहुँच छैन रे। सबै माफियाको चंगुलमा गयो पो भन्छन्। राज्यको नियन्त्रणमा रहनुपर्ने शिक्षा अनि स्वास्थ्य निजि क्षेत्रलाई सुम्पेर राज्य तेल बेचेर बसेको छ रे। ठेकेदारी गरेर बसेको छ रे। शिक्षाको शुल्क आम मानिसको पहुँचभन्दा बाहिर जाँदा राज्य मौन छ रे। सरकारी शिक्षा प्रणाली धराशयी छ रे अनि निजिले जति शुल्क लिए पनि आँखामा पट्टि बाँधिएको छ रे कानमा तेल हालिएको छ रे।

संविधानको कागजमा स्वास्थ्य नागरिकको मौलिक हक भनिएको छ तर स्वास्थ्य क्षेत्र निजिकरण उन्मुख छ भन्छन्। बिरामीलाई आवश्यकभन्दा कैयन अनावश्यक जाँच गराएर कमिशनको खेति हुन्छ रे अनि यी भुईमान्छे अस्पताल गयो भने त लाखौँ पैसा लाग्छ भनेर रोग पालेर बसेका छन्। अनावश्यक औषधिको प्रयोगले अन्य रोगको निम्तो दियो भन्दैछन्। अस्पतालमा भर्ना भयो कि यी भुईमान्छेको कति जग्गा बिक्रि हुने हो पत्तो छैन। स्वास्थ्यमा यी भुईमान्छेको पहुँच छैन। रुनु अनि रोग पाल्नु नै भाग्यको लेखा भन्दै चियाको चुस्की लिए।

विभिन्न दीर्घरोगका लागि विपन्न नागरिक औषधि उपचार कोष खोलेको छ रे तर चरम कमिशनतन्त्र तथा ढिलासुस्तीमा डुबेको बिमा कार्यक्रमा जोडिदिएको छ। फोहोरमैला अनि दुर्गन्ध उस्तै छ ,अस्पतालबाट उत्पादन हुने फोहोरलाई स्रोतमै पृथकीकरण गरेर संक्रामक तथा साधारण फोहोरलाई छुट्टाएर निर्मलीकरण पश्चात मात्र विर्सजन गर्नुपर्नेमा बिना कुनै प्रशोधन अस्पतालले नगरपालिकाको फोहोर संकलन गर्न आउने गाडीमा फोहोर विर्सजन गरेर वातावरण दुसित बनाएका छन। अनि राज्यसंयन्त्र मौनता साँधेर नागरिकलाई बिरामी बनाउन सहयोगी भुमिका निर्वाह गर्दै छ भन्दै थिए कोही चिया चुरोटे मनुवा।

अहिलेको ताजा चर्चा चाहीँ  एक जना व्यापारी तर अत्यन्त पीडित मनुवाले आत्मदाह गरेछन, त्यसको खुबै चर्चा सुनिन्छ। कोही अनुसन्धानकर्ता जस्तो गरि विद्धता छाँट्थे, कोही सहनुभुतिसहित प्रसंग उठाउँथे भने कोही जे भए नि आत्मदाह गर्नु नहुने भनेर रोष प्रकट गर्थे। बैकलाई कसैको नियन्त्रण टुटेको छ। जथाभावी ब्याजदर बढाएको छ अनि वार्षिक नाफा बढाएको छ। जनता चुसेको छ आफू मोटाएको छ जनतालाई आत्महत्या अनि आत्मदाह गर्न बाध्य पार्ने बैंकको अनियन्त्रीत ब्याजदर पनि हो भन्ने हल्ला रहेछ। बैंकको अनियन्त्रीत ब्याजले गर्दा व्यवसाय बन्द हुँदै छन्, पैसाको क्रयशक्ति घटदैछ अनि जनता दिनानुदिन गरिवि तथा मानसिक रोगउन्मुख हुँदै आत्मदाह तथा आत्महत्या उन्मुख भए भन्ने चर्चा सुनियो। ब्याजदर एक अंकमा हुनु पर्ने मागलाई अन्देखा गर्दै नियमनकारी निकाय मौनव्रतमा छ रे अनि बैकले जति नाफा कमाए पनि कमाउन जनता चाँही मरुन बाँचुन चाहिने चुनावमा हो अरु बेला के मतलव भन्ने गरि कार्य भयो भन्ने गुनासो मलिन स्वरमा एक मनुवा पोख्दै थिए।

अनियन्त्रीत महँगी, अनियन्त्रीत, अनियन्त्रीत स्वास्थ्य तथा शिक्षाको सेवा शुल्क, अनियन्त्रीत व्ययभार , व्यापार घाटा तर राज्य विलासी सामग्री आयातमा रोक लगाउँदैन। देश भित्रका साधनस्रोतको प्रयोगलाई प्रोत्साहन गर्ने निति लिदैन, बिजुलीको सवारीमा कर थोपर्छ यसरी देश कहाँ पुग्छ समग्र ग्राहकहरु चिन्तित छन्। अनि हरेक निशासापछि हेरुम नयाँ सरकार आएको छ केहि राम्रो नीति लिन्छ कि? बैकको ब्याजलाई नियन्त्रण गर्छ कि महंगी नियन्त्रण गर्छ कि? अनि लोककल्याणकारी नीति लिन्छ कि? नयाँ सोचसहित नयाँ पाटी आएका छन् आशा गरुम सबै निराशा हटेर कालो बादल हटेर यो देश बस्न लायक देश बाँच्न लायक देश अनि माफियाको नियन्त्रणबाट हटेको देश चाँडै देख्न पाइन्छ कि? भन्ने सकरात्मक सोच पनि  सुनियो। जे भए नि म कहाँ मानिस आउन अनि चिया पिउन नरोकियोस मेरो चाँही चाहना यत्ति हो। चिया बनाउने दुध महंगो भएको छ सस्तोमा पाइयोस्।

  • १८ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech