हात्तीपाइले रोग विरुद्धको औषधि किन खाने?

    • दुर्गा गौतम

  • १० फाल्गुन २०७९, बुधबार

हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्गता बनाउने एउटा सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परिजीविले गराउँछ र यो रोग संक्रमित लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्दछ। मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका असरहरु (जस्तै हात्तीपाईले र अण्डकोष सुन्निने) देखिने हुन्छ र यस रोगको लक्षण देखिसकेपछि निको पार्न सकिदैन।

धेरैजसो संक्रमण लक्षण बिनाको हुन्छ, जसबाट समुदायका अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने संभावना रहन्छ। त्यसैले हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि आम औषधि सेवन अभियान मार्फत प्रभावित जिल्लाका सबैले औषधि सेवन गर्न जरुरी छ।

१. हात्तीपाइले रोगको परजीविबाट मुक्त हुन के गर्ने ?
सरकारले रोग प्रभावित जिल्लाहरुमा सञ्चालन गर्ने वार्षिक आम औषधि सेवन कार्यक्रममा गई, वर्षको एक पटक आम औषधि सेवन कार्यक्रम आफ्नो जिल्लामा सञ्चालनमा रहेसम्म लगातार हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्ने र अरुलाई पनि गराउने।

२. यो रोगबाट बच्न कस्तो औषधि सेवन गर्ने र यसले के गर्छ ?
यो रोगबाट बच्न विश्वभर र नेपालमा धेरै वर्षदेखि प्रयोग हुँदै आइरहेको र सुरक्षित औषधिहरु प्रयोग हुन्छन्। यी औषधिहरुले हात्तीपाइले रोग लागिसकेकाहरुको उपचार हुनका साथै रोग लाग्नबाट पनि बचाउँछ।

३. यो औषधिको सेवनले हात्तीपाइले रोग नलागेहरुकालाई कसरी फाइदा गर्छ ?
पहिलो कुरा हात्तीपाइले रोगका लक्षणहरु नदेखिएपनि रोगका परजीविहरु शरीरमा हुन सक्छन्। औषधि अहिले खायो भने ती परजीविहरु मर्छन्। र, भविष्यमा रोग देखिदैन। दोस्रो कुरा औषधि सेवनका कारण तपाईको शरीरमा भएका हात्तीपाइलेका परजीविहरु अरु स्वस्थ मानिसको शरीरमा सर्दैनन्। तेस्रो कुरा समुदायमा कोही व्यक्तिमा रोगका परिजिविहरु छन् र उनीहरुले औषसि सेवन गरेमा लामखुट्टेले टोकेता पनि शरीरमा ती परजीविहरु ती व्यक्तिबाट सार्न सक्दैनन्।

४. यो औषधि कसले खान मिल्छ कसले मिल्दैन ?
यस कार्यक्रम सञ्चालन हुने जिल्लाहरुमा यो औषधि खान योग्य सबैले खानुपर्छ। दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले यो औषधि खानु हुँदैन। सिकिस्त बिरामीहरु भन्नाले रोगका कारण ओछ्यानमा परेका बिरामी, अस्पताल भर्ना भएका बिरामीहरु र मिर्गौला रोगको लागि डायलाइसिस जस्ता जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका बिरामीहरु हुन्।

५. यो रोग विरुद्धको औषधि कसले दिन्छ ?
आम औषधि सेवन कार्यक्रम लागू भएका जिल्लाहरुमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले तपाईको घर नजिकैको बुथमा तथा घरभेटमा औषधि खुवाउँछन्।

६. यो औषधि कहिले खाने ?
आउँदो २०७९ फागुन महिनाको ११ गतेदेखि।

७. यो औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुराहरु के हुन् ?
यो औषधि खाली पेटमा खानु हुँदैन। शरीरमा हात्तीपाइले रोगको परजीवि भएका व्यक्तिहरुमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्छ। त्यसो भएमा औषधिले प्रभावकारी रुपमा काम गर्दैछ भन्ने बुझ्नुपर्छ। ती लक्षणहरु केही घण्टामा आफैँ हराएर जान्छन्। केही गरी लक्षणहरु लामो समयसम्म रहिरहे नजिकको स्वास्थ्य संस्थामा सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्छ।

(गौतम स्वास्थ्य कार्यालय बाँकेकी हात्तीपाइले रोग फोकल पर्सन हुनुहुन्छ ।)

  • १० फाल्गुन २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech