स्वास्थ्यकर्मीको प्रभावकारी परिचालन र अथक मिहिनेतले बाँकेमा दादुरा महामारी नियन्त्रणउन्मुख

    • स्वास्थ्य पेज

  • १९ माघ २०७९, बिहीबार

नेपालगन्ज: गत पुस १२ गते नेपालगन्ज वडा नं•७ मा १४ महिनाकी बालिकामा दादुरा देखियो । उनको घरमा अन्य ११ जना बालबालिकामा पनि थिए । उनी संयुक्त परिवारमा बस्थिन्। जसमध्ये ६ जनामा दादुराको लक्षण देखिएको थियो। तर दादुराको पुष्टि भइसकेको थिएन।

लक्षणको आधारमा दादुरा पुष्टिका लागि पाँच जना बालबालिकाको नमूना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइयो। पाँच दिनपछि पुस १८ गते पाँच वटा नमूनामा चार जना बिरामीमा दादुरा रहेको पुष्टि भयो। त्यसपछि बाँकेमा दादुराको आउटब्रेक अर्थात् महामारी भएको घोषणा गरिएको हो।

कुन अवस्थालाई महामारीको रुपमा घोषणा गर्ने? भन्ने विषयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दादुरा निवारण प्रोटोकल नै छ। उक्त प्रोटोकल अनुसार कुनै पनि समुदायमा २८ दिनभित्र पाँच वा पाँचभन्दा बढी बिरामी देखा परेमा दादुरा महामारी घोषणा गरिन्छ।

नेपालगन्जमा पहिलो दादुरा देखिएको बिहीबार एक महिना पुरा भएको छ। ६ वटा पालिकामा फैलिएको दादुरा महामारीका कारण हालसम्म ३०९ जना बालबालिका बिरामी भएका छन्। नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरामा गाउँपालिका, नरैनापुरमा राप्तीसोनारीमा र डुडुवामा दादुरा देखिएको छ ।

एक महिनापछि भने दादुरा नियन्त्रण हुन थालेको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले दादुरा महामारी पुष्टि भए लगत्तै खोप अभियानलाई प्रभावकारी बनाएका कारण नियन्त्रण सम्भव भएको बताउनुभयो । `दादुरा आउटब्रेक भएलगत्तै हाम्रो टिम अहोरात्र खटियो प्रमुख पौडेलले भन्नुभयो-` फाटफुट बाहेक अहिले नियन्त्रणमा आइसकेको छ ।´

अहिलेसम्म बाँकेमा १ लाख ४१ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइएको छ । बाँकेमा ६ महिनादेखि १५ वर्ष मुनिका १ लाख ६८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य छ । जानकी गाउँपालिका बाहेक अधिकांश पालिकामा खोप अभियान अन्तिम चरणमा पुगेको छ ।

`स्वास्थ्यकर्मीको प्रभावकारी परिचालन र अथक मिहिनेतले बाँकेमा दादुरा महामारी नियन्त्रणउन्मुख भएको छ ।´ स्वास्थ्य कार्यालयको कमान्ड सम्हाल्नु भएकी पौडेल ।

 

 

  • १९ माघ २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech