के हो दादुरा–रुबेला खोप ?

    • नरेशवावु श्रेष्ठ /जनस्वास्थ्यकर्मी

  • १९ माघ २०७९, बिहीबार

खोप
रोग लाग्नु भन्दा अगाडि रोग नै नलागोस् भनेर स्वस्थ व्यक्तिलाई प्रदान गरिने जैविक उत्पादनलाई खोप भनिन्छ । मेडिकल उत्पादन मध्य खोपलाई सवै भन्दा सुरक्षित मानिन्छ । खोपले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्घि गरी रोग लाग्नबाट बचाउँछ ।

रोग प्रतिरोधात्मक क्षमता
शरीरको रोगहरुसँग लड्ने वाप्रतिरोध गर्ने क्षमतालाई प्रतिरोधात्मकक्षमता भनिन्छ । यो विभिन्न प्रकारबाट प्राप्त हुन्छ ।

Vaccination: कुनै पनिव्यक्तिलाई रोग प्रतिरोधातमक क्षमता विकास गर्न खोप दिने कार्य हो ।

Immunization: कुनै पनि व्यक्तिलाई खोप प्रदानगरि रोग विरुद्ध प्रतिरोधात्मक शक्ति विकास गर्ने प्रक्रिया हो ।

(Vaccination coverage): निश्चित अबधिमा तोकिएको लक्षित जनसंख्या मध्ये खोप सेवा प्राप्त गरेका जनसंख्याको प्रतिशत हो ।

(Drop out Rate): पहिलो पटक सेवा लिन आएको व्यक्ति त्यही सेवा वा सम्बन्धित सेवा पछिल्लो पटक लिन नआएमा त्यसलाई ड्रपआउट भनिन्छ ।

खोपबाट बचाउन सकिने रोगहरु र राष्ट्रिय खोपकार्यक्रममा समावेस भएकाखोपहरु
रोगहरु र त्यसको बिरुद्धको खोपः क्षयरोग, रोटा भाइरसबाट हुने झाडापखाला, पोलियो, स्ट्रेपटोकोकस निमोनिया, भ्यागुतेरोग, लहरेखोकी, धनुष्टँकार, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्लुइन्जा बि, दादुरा र रुबेला, जापानिज इन्सेफलाईटिस, धनुष्टंकार, टाईफाईड (म्यादे ज्वरो), पाठेघरको मुखको क्यान्सर,  रोग बिरुद्ध दिइने खोपहरुः बि.सि.जी., रोटा, ओरलपोलियो,एफ.आई.पि.भी, पि.सि.भी, डिपिटी.हेपबी.हिब (पेन्टा), दादुरा–रुबेला, जे.ई, टि.डी, र टाईफाईड खोप (टि.सि.भि.), एच.पि.भी ।

दादुरा–रुबेला खोप
बालबालिकाहरुमा लाग्ने दादुरा रोग र गर्भबति अवस्थामा आमालाई संक्रमण गरि आमाबाट जन्मने बालबालिकामा जन्मजात बिकृतिहरु (Congenital Rubella Syndrom) बाट बचाउनका लागी २ प्रकारको एन्टिजिन भएको यो खोपको प्रयोग गरिन्छ । नेपालमा सन १९८८ (बि.सं. २०४५-२०४६ बाट दादुरा खोप दिन सुरु गरिएको हो । सन २०१३ बाट दादुरा संग संगै रुबेला समेत मिसाई २ रोग बिरुद्ध एउटै खोप दिन थालियो । सन २०१५ अघि बच्चाको उमेर ९ महिना पुग्दा १ मात्रा मात्र दिईने दादुरा रुबेला खोप १ मात्राको प्रभाबकारिता वा सुरक्षा दर ८५ प्रतिशत मात्र भएका कारण सन २०१५ देखि बच्चाको उमेर ९ महिना र १५ महिनामा १-१ मात्रा गरि २ मात्रा दादुराको खोप दिन थालियो । हामीले प्रयोग गर्ने दादुरा रुबेला खोप बिश्व स्वास्थ्य संगठनबाट प्रिक्वालिफाईड प्रमाणित भएको हुनाले यो खोप सुरक्षित र रोग रोकथामका लागी प्रभाबकारी छ ।

खोपको किसिमःजिवित तर कमजोर पारिएको भाइरस बाट तयार भएको (Live attenuated virus) पाउडरको रुपमा उपलब्ध हुन्छ ।

दिनुपर्ने मात्राः नियमितखोप सेवामार्फत २ पटक, ०.५ मि.लि.

खोप लगाउन नहुने अवस्थाः अघिल्लो पटक खोप लगाउदागम्भिर असर देखा परेको भएमा,एड्सको लक्षण भएमा ।

प्रतिकूल असरः–ज्वरो, ५ देखि १२ दिन पछि बिमिरा देखिनु, मस्तिष्कज्वरो वा स्नायु प्रणालीसँग सम्बन्धित गम्भिर असरहरु, एलर्जिबाट हुने कडा प्रतिक्रिया (जुन ज्यादै न्यून हुन्छ) आदि

यो खोप लगाएका करिव १० लाख बालबालिका मध्ये १ जनामा Anaphylaxis हुन सक्छ ।

सुई लगाउने स्थान र तरिकाः बायाँ पाखुराको माथिल्लो छाला र मासुको बिच (Sub–cutaneous) भागमा ४५ डिग्री कोणमा लगाउने ।
भण्डारणः २ देखि ८ डिग्री सेल्सियसको बीचमा , यो तातोले बिग्रने खोप हो र सुर्यको प्रकाशले पनि यो खोपलाई कामनगर्ने बनाउँछ ।
यो सामान्यतया यो खोप २ देखि ८ डिग्री सेल्सियसको बीचमा राखिन्छ, यो खोप ३७ डिग्री सेन्टीग्रेडमा रहयो भने १४ दिन, २५ डिग्री सेन्टीग्रेडमा रहयो भने ९ दिन ५ डिग्री सेन्टीग्रेडमा रहयो भने ३ बर्ष बढि सम्म काम गर्न सक्छ त्यसैले यो खोपलाई केन्द्रियखोप भण्डारबाट खोप लगाउने खोप केन्द्र सम्म पुरयाउँदा सम्म २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा राख्नु पर्दछ र सुर्यको प्रत्यक्षप्रकाश देखि जोगाउनु पर्दछ ।

दादुरा रुबेला खोपमा भ्याक्सिन भायलको तापक्रम अनुगमन गर्ने सूचक भ्याक्सिन भायल मनिटर (भि.भि.एम.) यसको बिर्को वा टाउकोमा हुन्छ ।भ्याक्सिनप्रयोग गर्नु भन्दापहिले भि.भि.एम.हेर्नु पर्छ भि.भि.एम. सुचक १, २, ३, ४ हुन्छ, भि.भि.एम. सुचक १, २ भएको भ्याक्सिन मात्र प्रयोग गर्नु पर्दछ भि.भि.एम. सुचक ३, ४ मा गएको भएमा त्यो खोप प्रयोग गर्नु हुँदैन त्यस्तो खोप लगाएमा बच्चामा त्यो खोपले दादुरा बिरुद्धको लडने क्षमता बिकास गर्न सक्दैन । त्यस्तै भ्याक्सिनको भि.भि.एम. ठिक भएमा पनि यदि भ्याक्सिनको मिति सकिइसकेको छ भने भ्याक्सिन प्रयोग गर्नु हुँदैन । म्यादगुज्रेको भ्याक्सिनमा भि.भि.एम. ठीक भएपनित्यसलाई प्रयोग गर्नु हुदैन, भ्याक्सिनलाई सधै नै चिसोमा (कोल्डचेन) राख्ने गर्नु पर्दछ, सुर्यको किरणमा कदापीे भ्याक्सिन भायल राख्नुहुंदैन ।

तयार गर्नेबिधिः दादुरा—रुबेला खोप पाउडरको रुपमा उपलब्ध हुने भएकोले यसलाई प्रयोग गर्नु अघि खोपसँगै आएको घोलकलाई पुरै तानी घोलेर तयार गर्नुपर्दछ । घोलक र भ्याक्सिन कम्तिमा १२ घण्टा समान तापक्रममा भएको यकिन गरेर मात्र घोल्नु पर्दछ ।

दादुरा: रुबेला खोप पाउडरको फ्रिज ड्राईड पाउडर Freeze dried powder मा हुने भएकोले यसलाई प्रयोग गर्नु अघि खोपसँगै आएको घोलकलाई पुरै सिरिन्जंमा तानी भ्याक्सिन भाइलमा मिसाउनु पर्दछ । यो खोप अन्यखोपको घोलक वा डिष्टिल वाटरसँग कदापि घोल्नुहुँदैन । घोलकलाई घोल्नु अगाडि भ्याक्सिन र घोलकको तापक्रम समान हुनुपर्छ त्यसैले घोलकलाई भ्याक्सिनसँगै १ दिनअगावै चिसो बनाउनु पर्दछ ।

खोप प्रयोगको समय अबधिः घोलेको ६ घण्टा पश्चात् दादुरा–रुबेला खोप कदापि प्रयोग गर्नुहुँदैन । यो खोप खोलेको ६ घण्टा पछि वा खोप सेसन सकिएपछि (यी दुई मध्ये जुन अवस्था पहिले आउँछ) यो खोप प्रयोग गर्नु हुँदैन ।
कुनै कारणबश तालिकाअनुसार दादुरा रुबेलाखोप लिन छुट भएमा?

१)यदि बच्चा ९ महिना उमेर भन्दा पछि आएका छन् भने
पहिलो भेटमा नै यो खोपको पहिलो मात्रा दिने
दोश्रो मात्रा १५ महिनामा दिने
२) यदि बच्चा १५ महिनाभन्दामाथिको उमेरमा यो खोप लाउनआएका छन् तर पहिलो मात्रालगाएका छैनन् भने?
पहिलो भेटमा नै यो खोपको पहिलो मात्रा दिने,
दोश्रो मात्रापहिलो मात्राको खोपलाएको ४ हप्तापछि दिने ।
३) नियमितखोपमाखोप छुट भएका २३ महिना सम्मको बालबालिकाहरु शुन्यखोप (कुनै पनिखोप नलाएको) भेटिएमा?
ड्ड १५ महिनामुनिको बालबालिका भेटिएमा पहिलो १ मात्रापहिलो भेटमा दिने र बाकिदोस्रो मात्रा तालिका अनुसार १५ महिनामादिने
ड्ड १५महिनामाथिको बालबालिका भेटिएमा १-१ महिनाको फरकमा २ मात्रा दिने ।
४) यदि २४ महिना देखि५९ महिना सम्मको बालबालिकाहरु शुन्यखोप (कुनै खोप नलगाएको) भेटिएमा ?दादुरा-रुबेला  १ महिनाको फरकमा २ मात्रा दिने

दादुरा–रुबेलाखोपको प्रभाबकारीता
दादुरा–रुबेला बिरुद्धको खोप लगाईसकेपछि यो खोपले शरिरमा दादुरा –रुबेला बिरुद्धको एन्टिबडि उत्पादन गर्न १४ दिन देखि १ महिना लाग्दछ वा यो खोप लगाएको १ महिना पछि मात्र खोपले दादुरा हुन बाट बचाउँछ ।

बच्चाको उमेर ९ महिना र १५ महिनाको उमेरमा १-१ मात्रागरि २ मात्रादादुरा विरुद्धको खोप दिनु नै दादुराबाट बच्ने एकमात्र प्रभावकारी उपाय हो ।

नियमित खोप लगाउदा दादुरा खोप लगाउन छुट भएका बालबालिकाहरुमा समेत ५ बर्षको उमेर भित्र जुन सुकै समयमा आएमा पनि १ महिनाको फरकमा २ मात्राखोप दिई पुर्ण खोप सेवा प्रदान गरिन्छ ।

दादुराको खोप १ मात्राको प्रभाबकारिता ८५% र दोस्रो मात्रा समेत दिएमा रोगको रोकथाम गर्ने प्रभावकारीता दर ९५–९७ % हुने विभिन्न अनुसन्धानहरुले प्रमाणित गरेका छन । दादुरा, रुवेला र congenital बाट सुरक्षित हुन दादुरा रुवेला खोप दिइन्छ । योLive attenuated virus  (जिवितकमजोर भाइरस ) बाट बनाइएको हुन्छ ।

यो खोप ०.५ m छाला र मासुको बीचमा (Subcutaneous) दिइन्छ । कोभिड–१९ बिरुद्धको खोप लिएको १४ दिनभित्र र कोभिड–१९ खोप लिएको १४ दिन पछि सम्म दादुरा–रुबेला बिरुद्धको खोप दिइँदैन ।

नियमितखोपमा २३ महिना मुनिका बालबालिकाहरुमा दादुरा–रुवेलाखोप बच्चा जन्मेको ९ महिना र १५ महिनामा गरी २ पटक दिनुपर्छ ।

दादुरा–रुबेला बिरुद्धको खोप दिन नहुने अवस्थाः
पहिले दादुरा–रुबेला बिरुद्धको खोप लिएको बेला खोपको कारणले कडा प्रकारको Reaction भएको, अहिले दादुरा भएको बालबालिकामा, अन्यकुनै शिकिस्त बिरामी परेको अवस्थामा र एडसका बिरामीमा यो खोप दिईदैन तथाएच.आई.भि. मात्रभएको अवस्थामा यो खोप दिन सकिन्छ ।

दादुरा महामारी पछिको प्रतिकार्य खोप:
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले दादुरा–रुबेलामहामारी फैलिएको अवस्थामा सो रोगको प्रकोप फैलिन नदिन प्रकोप फैलिएको जिल्ला र वरीपरिका जिल्लाहरुमा प्रकोप फैलिन नदिन र नियन्त्रण गर्नका लागी राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत दादुरा–रुबेला प्रकोप नियन्त्रण र ब्यवस्थापनको लागी (Outbreak Response Immunization)  कार्यक्रम संचालन निर्देशिका, २०७७ तयार गरेको छ ।

सो निर्देशिकाअनुसार दादुरा रोगको महामारी देखिएको जिल्ला वा भौगोलिक क्षेत्र र त्यहाँबाट मानिस आवातजावात गर्ने संगै जोडिएको जिल्लावा बस्तीहरुमा समेत रोग फैलिन नदिन महामारी पछिको प्रतिकार्य खोप अभियान (Outbreak Response Immunization: ORI)  सञ्चालन गरिन्छ । यस अभियानमा प्रयोग गरिने खोप अन्य फरक प्रकारको खोप नभई सामान्यतया हामिले मासिक रुपमा प्रयोग गरिने खोप जुन दादुरा रुबेलाको बिरुद्ध लगाउनका लागी सुरक्षित र प्रभाबकारी भनिबिश्व स्वास्थ्य संगठन बाट प्रिक्वालिफाईड प्रमाणित खोप हो ।
दादुरा रुबेला प्रकोप नियन्त्रण, रोकथाम र ब्यवस्थापनको लागि (Outbreak Response Immunization=ORI) अभियानको क्रममा खोप दिने शरिरको भाग (Site /Route / Dose) तल उल्लेख भए अनुसार दिने

सामान्यतया यो बिशेष थपखोप अभियान (ORI) सञ्चालनगर्दा लक्षित समूहनिर्धारण गरिन्छ । जसमाः यदि महामारीको समयमा बिरामीहरु ९ महिना माथिको देखिएमा उमेर समुह ९ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई सो अभियान मार्फत दादुरा–रुबेला बिरुद्धको खोप थप १ मात्रा दिईन्छ भने यदि महामारीको समयमा ९ महिना मुनिका बालबालिकाहरुमा समेत दादुराको प्रकोप देखिएको भएमा उमेर समुह ६ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई सो अभियानमार्फत दादुरा–रुबेला बिरुद्धको खोपको थप १ मात्रा दिईन्छ

(श्रेष्ठ स्वास्थ्य कार्यालय बाँकेका खोप कार्यक्रमका फोकल पर्सन हुनुहुन्छ)

  • १९ माघ २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech