लागु औषध दुर्व्यसन विरुद्ध कोहलपुरमा सचेतिकरण अभियान सुरु

    • स्वास्थ्य पेज

  • १० माघ २०७९, मंगलवार

कोहलपुरः पछिल्लो समय कोहलपुर नगरपालिका क्षेत्रका युवाहरु लागु औषध दुर्व्यसन को जोखिममा पर्न थालेपछि त्यसको न्यूनिकरणका लागि सचेतिकरण अभियान सुरु गरिएको छ ।

लागु औषध दुर्व्यसन विरुद्ध विद्यालय तहबाटै सचेतिकरण अभियान थाल्दा प्रभावकारी हुने देखिएपछि विद्यालय केन्द्रीत अभियान सुरु गरिएको हो । त्यसको अगुवाई समाज सेवा संस्था नेपालले गरेको छ  कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा समाज सेवा संस्थाले दुव्र्यसनि विरुद्ध विद्यालय, अभिभावक तथा सरोकारवालाहरुलाई सचेतिकरण गर्न थालेको हो ।

आज कोहलपुर नगरपालिका १० त्रिभुवन माविबाट चेतनामुलक अभिमुखिकरण कार्यक्रम सुरु गरिएको संस्थाका अध्यक्ष विनोद थापाले जानकारी दिनुभयो । कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिका क्षेत्रलाई दुव्र्यसनमुक्त नगर बनाउने अभियानमा आफुहरु रहेको बताउनुभयो । अहिलेपनि कलिला बालबालिकाहरु दुव्र्यसनको लतमा फसेको पाइएको भन्दै उहाँले दुव्र्यसनको लतले स्वयम व्यक्तिमात्र नभएर परिवार र समाजलाई नै बर्बाद बनाउने बताउनुभयो । उहाँले आफ्ना बालबालिकामाथि अभिभावकहरुले पनि निगरानी बढाउन जरुरी रहेको बताउनुभयो ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले लागु पदार्थको दुव्र्यसनि विरुद्ध विद्यालयस्तरबाटै बालबालिकाहरुलाई सचेत पार्न जरुरी रहेकाले नगरपालिकाले समाज सेवासँग मिलेर सचेतिकरण कार्यक्रम सुरु गरेको बताउनुभयो । कक्षा ८, ९, १०, ११ र १२ कक्षाका विद्यार्थीलाई लक्षित गरेर सुरु गरिएको यो अभियानले दुव्र्यसन न्यूनिकरणमा ठूलो मद्दत पुग्ने विश्वास ढकालको छ । कार्यक्रममा कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी विश्वकर्मा, विद्यालयका प्रअ देवका थापा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष यम गरै, जुनकिरी महिला समुहका कार्यक्रम संयोजक रविन्द्रसिंह राठौरलगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नगर प्रहरी प्रमुख वीरबहादुर थापाले लागु औषधको अवस्था, लागु औषध दुव्र्यसनमा कसरी फस्छन् ? यसले व्यक्ति तथा परिवार र समाजमा पार्ने अल्पकालिन तथा दीर्घकालिन असर र लागु औषध दुव्र्यसनिबाट जोगिने उपायका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । यो अभियान अन्तरगतको सचेतिकरण अभिमुखिकरण कोहलपुर नगरपालिकाका ३० वटै सामुदायिक विद्यालय, लागु औषध दुव्र्यसनको जोखिममा रहेका निजी विद्यालयमा गरिने छ ।

आजको कार्यक्रममा लागु औषध दुव्र्यसन विरुद्धको सडक नाटक पनि प्रदर्शन गरिएको थियो । समाज सेवा संस्थाका अध्यक्ष थापासहित जितबहादुर थापाले दुव्र्यसन विरुद्धको नाटक प्रदर्शन गर्नुभएको हो । आज त्रिभुवन माविका करिव तीन सय बालबालिकालाई अभिमुखिकरण गरिएको छ ।

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech