कोहलपुरमा भोलिदेखि दादुरा विरुद्धको खोप लगाइने

    • त्रिपुरा शर्मा

  • १० माघ २०७९, मंगलवार

तस्विरः फाइल

कोहलपुरः कोहलपुर नगरपालिकामा भोलिदेखि दादुरा–रुवेला विरुद्धको खोप अभियान सुरु गरिने भएको छ । दादुरा प्रभावित वडाहरुबाट खोप अभियान सुरु गर्न लागिएको कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिनुभयो ।

कोहलपुर नगरपालिकामा हालसम्म ६ जना बालबालिकामा दादुरा देखिएको छ । वडा नं.२, ११ र १४ का बालबालिकामा दादुरा देखिएकाले तिनै वडाहरुबाट खोप अभियान सुरु गर्न लागिएको ठकुरीको भनाइ छ । कोहलपुर नगरपालिकाका १५ वटै वडाका २६ हजार १४२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

६ महिनादेखि माथि र १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाउने योजनाअनुरुप आज स्वास्थ्य संस्थाका प्रमुख तथा जनप्रतिनिधिहरुसँग परामर्श कार्यक्रमको आयोजना गरिएको थियो ।कोहलपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा दादुरा महामारीको हालको अवस्था, उपचार र रोकथामका बारेमा छलफल गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाबाट फैलिएको दादुरा अहिले बाँकेका ५ वटा पालिकामा फैलिसकेको छ । आजमात्रै सात जना दादुराका नयाँ विरामी फेला परेका छन् ।

योसँगै जिल्लामा दादुरा संक्रमित बालबालिकाको संख्या २९४ पुगेको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले खोप नलगाएका बालबालिकाहरु दादुराबाट सबैभन्दा बढी संक्रमित भएका छन् ।

दादुरा नियन्त्रणका लागि खोप नै उपयुक्त विकल्प भएकाले आफ्ना छोराछोरीलाई खोप लगाउन पौडेलको आग्रह छ । कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक इश्वरी विकको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले दादुरा रोग नियन्त्रणका लागि स्थानीय सरकारले गर्न सक्ने नीतिगत सवालमा प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा.तुलसी रमण पाल, डा.सोनिया भगत, युनिसेफका कार्यक्रम प्रवन्धक शिव सुवेदीलगायतले दादुराको जोखिम, रोकथाम र उपचारका सवालमा भइरहेका प्रयास र गर्नुपर्ने सजकताबारे जानकारी गराउनुभएको थियो ।

 

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech