बाँकेमा फैलिएको दादुरा महामारी र रोकथामका उपायहरु

    • मेलिना श्रेष्ठ

  • १० माघ २०७९, मंगलवार

सन २०२३ सालको अन्तसम्ममा नेपाल सरकारले दादुरा रोग निवारण गर्ने लक्ष लिएकोमा सन २०२३ को सुरुआत अर्थात २०२२ डिसम्बरको २७ तारिख अर्थात पौषको १२ गते सर्बप्रथम बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिकाको वडा नं. ५ डि.एस.पि. रोडको एकै परिवारका ४ जना बच्चाहरुमा दादुराको बिरामी देखा पर्‍यो ।

ति बालबालिकाको रगत सिरम जाँच पश्चात राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौले ४ जना बिरामीहरुमा दादुरा रहेको पुष्टी गर्‍यो । बिश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दादुरा निवारण प्रोटोकल अनुसार कुनै समुदायमा २८ दिन भित्र ५ वा ५ जना भन्दा बढि बिरामी देखा परेमा दादुरा महामारी भनिन्छ ।

त्यस्तै ५ वटा शंकास्पद विरामीको शंकास्पद रगत सिरम जाँच गर्दा २ जना बिरामीको नमुना जाँच मा दादुरा पोजेटिभ आएमा त्यो समुदाय वा त्यो समुदाय आसपासको क्षेत्रमा दादुराका चिन्हलक्षणहरु देखापरेमा स्वतः तिनिहरुलाई दादुराको बिरामीको रुपमा लिईन्छ ।

२०७९ माघको ९ गते सम्ममा नेपालगन्जका १८ वडा २१५ जना, खजुराका ४ वटा वडामा २० जना, कोहलपुर नगरपालिकाका ४ वटा वडामा ६ जना नरैनापुर गाउँपालिकाका ३ वटा वडामा २८ जना, डुडुवा गाउँपालिकाको १ वडामा २७ जना गरि बाँके जिल्लाका ५ स्थानिय तह ३० वटा वडामा २८६ जना बिरामीहरु देखा परेका छन। जसमा २२७ जना बिरामी निको भईसकेका छन भने १ जना ३१ महिने बालकको मृत्यु भएको छ भने ५८ जना बिरामीहरु सामान्य रुपमा घरमै आईसोलेसनमा रहि स्वास्थ्य लाभ गरिरहेको देखिन्छ ।

दादुरा रोग नियन्त्रणका महामारी प्रतिकार्य खोप अभियान पौष २२ गते देखि बाँके जिल्लाका दादुरा प्रकोप भएका नेपालगंज, खजुरा, नरैनापुर र डुडुवा स्थानिय तहमा शुरु गरि ति ४ स्थानिय तहका ८९,४५८ जना बालबालिकाहरुलाई दादुरा रुबेला खोप दिने लक्ष लिएकोमा ७९,९३५ जना (८९.४%) बालबालिकाले दादुरा रुबेला बिरुद्धको खोप लिएको स्वास्थ्य कार्यालय, बाँकेको तथ्याङ्कले देखाउँछ ।

के हो त दादुरा निवारण ?
कुनै भौगोलिक क्षेत्र वा देशमा १०,००० जना ५ बर्ष मुनिका बालबालिकाहरु मध्य निरन्तर निगरानी गर्दा लगातार १२ महिना सम्म बिरामीको संख्या १ भन्दा कम हुनु वा बिरामीदेखा नपर्नुलाई दादुरा निवारण भनिन्छ ।

दादुरा कस्तो रोग हो ?
दादुरा मिजल्स् भाइरसबाट हुने अति संक्रामक रोग हो । यो रोग कुनै पनि उमेरको मानिसलाई र बिशेष गरि बालबालिकालाई लाग्न सक्दछ । अति संक्रामक भएको कारणले गर्दा, यो रोगले छिट्टै महामारीको रुप लिन सक्दछ,

यो रोग संक्रमित ब्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा श्वास प्रश्वासको माध्यमबाट एक ब्यक्तीबाट अर्को ब्यक्तीमा सर्दछ ।

कस्ता चिन्ह लक्षण देखा परेमा बिरामी लाई दादुरा रोगको शंका गर्ने ?

१) उच्च ज्वरो आउनु।
२) ज्वरो आएको २ देखि ४ दिनमा शरीरमा राता मसिना बिमिराहरु देखिनु ।
३) खोकी लाग्नु ।
४) आँखा रातो हुनु ।
५) नाकबाट पानी बग्नु ।

दादुरा रोगको बिरामीमा के के जटिलताहरु आउन सक्छ ?
यो रोग लागेमा झाडापखाला लाग्ने, कुपोषण हुने, कान पाक्ने, श्वासप्रश्वासको कडा संक्रमण (निमोनिया) हुने, आंखामा समस्या भई अन्धोपन हुने, मस्तिष्कमा कडा खालको सुजन हुने वा मस्तिष्क ज्वरो आउने, कम्पन हुने, जस्ता जटिलताको कारण मृत्यु पनि हुन सक्ने सम्भावना हुन्छ । त्यसैले दादुराका चिन्ह वा लक्षणहरु देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ ।

दादुराबाट बच्न अपनाउन पर्ने रोकथामका उपायहरु
१) ९ महिना र १५ महिनाका बालबालिकालाई दादुरा–रुबेला मिश्रित २ मात्रा खोप अनिबार्य लगाउने ।
२) ५ बर्ष मुनि बालबालिका दादुरा–रुबेला खोप लगाउन छुट भएमा नजिकको स्वास्थ्य संस्थामा खोप लगाउने ।
३) दादुरा–रुबेला भएको बिरामीको सम्पर्कबाट टाढा रहने ।
४) ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई बर्षको २ पटक बैशाख र कार्तिक महिनामा भिटामिन ए क्याप्सुल खुवाउंँने ।
५) बालबालिकालाई कुपोषण हुनबाट बचाउन पोषिलो खानेकुराहरु खुवाउने र सरसफाईमा ध्यान दिने ।
दादुराका बिरामी पत्तालागेमा गरिने उपचार र ब्यवस्थापनः–
१) शंकास्पद विरामीहरुमा दादुराको लक्षण देखापरेमा नजिकको स्वास्थ्य संस्थामा संम्पर्क गर्ने ।
२) महामारी फैलन नदिन शंकास्पद विरामीहरुलाई आइसोलेसनमा राख्ने ।
३) हाच्छिउँ गर्दा, खोक्दा नाक र मुख सफा रुमालले छोप्ने ।
४) ब्यक्तिगत सरसफाईमा बिशेष ध्यान दिने । बेलाबेलामा सावुन पानीले मिचिमिची हात धुने ।
५) संक्रमित ब्यक्तीलाई भिडभाड भएका सार्वजनिक ठाउँहरु नलैजाने र नपठाउने । घर भित्र हावा ओहोरदोहोर हुने, सफा र घाम लाग्ने कोठामा राख्ने ।
६) संक्रमित बालबालिकालाई स्याहार गर्ने ब्यक्तिले मास्क लगाइरहने ।
७) दादुरा संक्रमित बालबालिकालाई साविक भन्दा बढी पोशिलो खानेकुरा खुवाउने गरौं । दादुरा भएका प्रत्येक बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार भिटामिन ए खुवाउनु पर्दछ ।

दादुरा रोगको प्रकोप नियन्त्रण तथा महामारी प्रतिकार्य खोप अभियानका चुनौतीः–
१) सामाजिक सांस्कृति अवस्थाले गर्दा केही समुदायका केही घरधुरी अझै पनि खोप लिन नमान्ने अवस्था
२) नेपालको सिमावर्र्ती भारत र सो सिमामा भएको नेपाली समुदायमा भारतमा सुत्केरी हुने र लामो समय भारतमैै बस्ने वा केही खोप नेपालमा लिने र फेरी भारतमा आफ्नो माइत गएको अवस्थामा खोपहरु छुट हुने अवस्थाले नियमित खोप पुरा नहुने ।
३) खोपको आवश्यकता र पहुँच र यसको आवश्यकता बारे ज्ञान तथा जनचेतनाको अभाव (बिशेष गरि नरैनापुर स्थानिय तहमा)

दादुरा रोगको प्रकोप नियन्त्रण तथा महामारी प्रतिकार्य खोप अभियानकार्यमा सरोकारवाला तथा स्वास्थ्य टिमले गर्नुपर्ने मुख्य क्रियाकलापहरुः–
१) स्थानिय तह तथा वडाहरुमा सर्भिलेन्स साईट बिस्तार गरि खोपजन्यरोगहरुलाई उच्च निगरानिमा राखि रोग समयमै पत्ता लगाएर ब्यवस्थापन गर्ने र २०२३ सम्म लिएको रोग निवारणको राष्ट्रिय लक्ष पुरा गर्न सहयोग गर्ने ।
२) नियमित खोप सेवाः– पालिका तथा वडा स्तरिय सुक्ष्म योजना तयारी तथा अपडेट गरि नियमित खोप सुदृढिकरण गर्ने ।
३) खोप सम्वन्धी वकालतः– खोपको पहुँचलाई बढाउनका लागी वडा तथा पालिका तहको खोप समन्वय समिति र धार्मिक गुरु तथा मदरासा र बिद्यालय शिक्षकहरु समेतको सहभागीतामा खोपको महत्व र सेवा प्रदान र पहुँच बृद्धिका विषयमा छलफल गर्ने तथा समुदाय परिचालन गर्ने ।
४) आर्थिक स्रोत ब्यवस्थापनः– स्थानिय तहहरुमा खोपजन्य रोगको महामारी र खोपजन्य रोगको ब्यवस्थापनका लागी स्थानिय तह तथा जिल्लातहहरुमा आबश्यक बजेट तथा कार्यक्रमको ब्यवस्था हुनुपर्ने
५) स्थानीय सरकार, सरोकारवाला, स्वास्थ्यकर्मि, स्वयंमसेविका, सामुदायिक परिचालकहरु र विकास साझेदारहरूसँगको समन्वय र सहकार्यले परिणाम हासिल गर्नमा सहयोग मिल्दछ ।
६) स्थानिय भाषामा विभिन्न एफ.एम.बाट सुचना प्रसारण, लिफलेट, वितरण र स्वयंमसेवकहरु परिचालन गर्दा खोप लगाउन आउँनेको बालबालिकाको दर बढाउन सकिन्छ ।
७) स्थानिय निकायका प्रतिनिधिहरु, धर्मगुरु स्वास्थकर्मी, म.स्वा.स्व.सेविका, आमा समुह, विद्यालय परिवार, स्थानिय संघ संस्था तथा जिल्ला स्वास्थ्य कार्यालयको नियमित अनुगमनमा सहयोग ।

समग्ररुपमा हाल फैलियको दादुरारोगको प्रकोप नियन्त्रणमा तिनै तहको सरकारको राम्रो समन्वयका कारण रोग नियन्त्रणको अवस्थामा गएको देखिन्छ, रोगको रोकथाम र नियन्त्रणमा सरकारी तथा बिकास साझेदार संस्थाहरुको सहि ब्यवस्थापन चाहिन्छ भन्ने कुराको प्रमाणित बाँके जिल्लाको दादुरा आउटब्रेक र नियन्त्रणको प्रयास र सो बाट प्राप्त प्रतिफलले देखाउँछ ।

 

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech