कोहलपुरमा पनि बालबालिकामा फैलियो दादुराको महामारी

२६ हजार १४२ जना बालबालिकाहरुलाई बुधबारदेखि दादुरा-रुबेला विरुद्धको खोप दिइने


    • त्रिपुरा शर्मा

  • ९ माघ २०७९, सोमबार

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठ र कोहलपुर नगरपालिका स्वास्थ्य शाहा प्रमुख अनिलसिंह ठकुरीसहितको टोली खोप अभियानलाई प्रभावकारी गराउने उपायबारे परामर्श गर्दै ।

कोहलपुर: बाँकेको कोहलपुर नगरपालिकाका बालबालिकामा पनि दादुराको महामारी फैलिन थालेको छ । अहिलेसम्म ६ जना बालबालिकामा दादुरा देखिएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिलसिंह ठकुरीले जानकारी दिनुभयो ।
कोहलपुर नगरपालिकामा गएको पुस २८ गते वडा नं. १४ हवलदारपुरमा दादुराका पहिलो बिरामी फेला परेका थिए । अहिले वडा नं. २ र ११ का बालबालिकामा पनि दादुरा देखिएको छ । वडा नं. २ र १४ मा एक-एक जना र वडा नं. ११ मा ४ जना बालबालिकामा दादुरा देखा परेको हो ।
दादुराको महामारी फैलिन थालेपछि नियन्त्रणको प्रयास समेत सुरु भएको शाखा प्रमुख ठकुरीले जानकारी दिनुभयो । दादुरा रोगको महामारी फैलिन थालेपछि ६ महिनादेखि माथी र १५ वर्षमुनिका बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाउने तयारीमा नगरपालिका जुटेको छ ।
`निकै संक्रामक रोग भएकाले यस्को नियन्त्रणमा हामी चनाखो भयर लागि सकेका छौं शाखा प्रमुख ठकुरीले स्वास्थ्य पेजसँग भन्नुभयो-`अब नगरभित्रका लक्षित सम्पुर्ण बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने छ ।´
दादुराका बिरामी देखा पर्नेक्रम बढेपछि माघ १० गते मंगलबार पालिकास्तरिय अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । त्यसैगरी ११ गते बुधबारबाट १५ वटै वडाका ताेकिएका खाेप केन्द्रहरुबाट दादुरा-रुबेला विरुद्धको खोप लगाउने तयारी गरिएको छ ।
नगरपालिकाभित्रका ६ महिना भन्दामाथि र १५ वर्षमुनिका २६ हजार १४२ जना बालबालिकाहरुलाई दादुरा-रुबेला विरुद्धको खोप सेवा प्रदान गर्ने लक्ष्य रहेको पनि उहाँले जानकारी दिनुभयो ।
बाँकेमा पुस दोस्रो सातादेखि बालबालिकामा दादुराको महामारी फैलिएको छ । नेपालगन्ज उपमहानगरपालिकाबाट फैलिएको दादुरा अहिले अन्य पालिकामा पनि फैलिनेक्रम तीब्र बनेपछि खोप अभियानलाई प्राथमिकता दिइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech