स्वास्थ्यमन्त्री भेरी अस्पतालमा, डायलाइसिस सेवा चार सय गुणाले वृद्धि

    • स्वास्थ्य पेज

  • ८ माघ २०७९, आईतवार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जको डायलाइसिस सेवा थप बिस्तार गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले भेरी अस्पतालको निरीक्षणसंगै डायलाइसिस कक्षको समुद्घाटन गर्नु भएको हो । 

अब डायलाइसिस कक्ष ६ बाट १० वेड पुर्‍याइएको छ । योसँगै अस्पतालको डायलाइसिस सेवा चार सय गुणाले वृद्धि भएको अस्पतालले जनाएको छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री गिरीले सरकार गुणस्तरीय सेकाको पहुँच वृद्धि गर्न लागि परेको बताउनुभयो । उहाँले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन लागि परेको भन्दै ग्रामिण क्षेत्रलाई प्राथमिकता दिइने बताउनुभयो ।

`नेपाल सरकारको प्रमुख उदेश्य भनेकै सबैलाई सहज स्वास्थ्य सेवाको पहुँच स्थापित गर्नु हो उहाँले भन्नुभयो-` कुनैपनि नागरिक उपचार अभावमा ज्यान गुमाउन नपरोस् भन्नेमा सरकार लागिपरेको छ ।´

यस्तै स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोख्रेलले सरकारले संघीय अस्पतालको सेवा गुणस्तरीय बनाउन जनशक्ति व्यवस्थापनसँगै भौतिक संरचना सुधारको काम गर्दै आएको बताउनुभयो । उहाँले संघीय अस्पतालहरुलाई प्रबिधिमैत्री बनाउन सरकार प्रयासरत रहेको पनि बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले अस्पतालको हालको अवस्था, अस्पतालले प्रवाह गरिरहेको सेवा, समस्या र भावी योजनाबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा संघीय सांसदहरु सुर्य ढकाल, डा. धवलशम्शेर राणा र कार्यक्रममा संघीय सांसद दीपा शर्मा, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, डा. दिपेन्द्र रमण सिंह, नीति योजना महाशाखा प्रमुख डा.कृष्ण पौडेल, बाँकेका सिडिओ सुर्यबहादुर खत्री,  प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद गिरी, उप-निर्देशक डा.रोशनलाल चौधरी लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल र नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बाँकेमा फैलिएको दादुरा महामारीको अबस्था र रोकथामबारे भैरहेको प्रयासबारे जानकारी गराउनु भएको थियो ।

उक्त कार्यक्रमको संचालन भेरी अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीले गर्नुभएको थियो ।

  • ८ माघ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech