दादुरा नियन्त्रणका लागि सरकारले  कुनै कसर बाँकी राख्दैन: मन्त्री गिरी

    • स्वास्थ्य पेज

  • ८ माघ २०७९, आईतवार

नेपालगन्ज: स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले दादुरा नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने बताउनुभएको छ ।

दादुरा प्रभावित बाँकेको नेपालगन्ज उपमहानगरपालिका- ५ स्थित आधरभूत स्वास्थ्य सेवा केन्द्रमा पुगेर आज बिहान दादुरा प्रभावितहरुको अवस्थाबारे जानकारी लिँदै उनले दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तीब्र पारेको बताउनुभयो ।

उहाँले खोपलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधिहरुको भूमिका महत्त्वपूर्ण रहेकाले अन्य कामलाई  छोडेर


दादुरा नियन्त्रणमा सक्रिय हुन सुझाव समेत दिनुुुभयो। वडा नम्बर ५ का अध्यक्ष सराफत खानले वडामा दादुराको अवस्था, नियन्त्रणका लागि भएका प्रयास र समस्याबारे जानकारी गराउनुभएको थियो ।

बाँकेका पाँच वटा पालिका दादुराबाट प्रभावित छ्न् । अहिलेसम्म २६० जना बालबालिका दादुराबाट प्रभावित भएका छन् । सबैभन्दा धेरै नेपालगन्जमा २०३ जना बालबालिका दादुराबाट प्रभावित भएका छन् । दादुराबाट एक जनाको मृत्यु हुँदा ६३ जना उपचाररत छन् ।

दादुरा प्रभावित क्षेत्रमा स्वास्थ्यमन्त्रीसँगै सांसदहरु सूर्य ढकाल, दीपा शर्मा, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेल, महानिर्देशक  डा. दिपेन्द्र रमण सिंह, नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरी, उप-निर्देशक डा. रोशनलाल चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल लगायत पुगेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।

  • ८ माघ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech