नेपालगन्जका १५ वटा वडामा फैलियो दादुरा, भोलि पनि खोप लगाइने

    • स्वास्थ्य पेज

  • ३० पुष २०७९, शनिबार

नेपालगन्ज: नेपालगञ्ज उपमहानगरपालिकामा दादुरा-रुबेला खोपको प्रगति प्रतिशत ७५.२१ पुगेको छ ।

नेपालगञ्जका दादुरा प्रभावित १२ वटा वडाका लक्षित २२१९० जनसंख्या मध्ये हालसम्म १६६८९ जनाले खोप लगाएका छन् । आज मात्रै ३८४४ बालबालिकाले खोप लगाएको नेपालगञ्ज उपमहानगरपालिकाका खोप फोकल पर्सन जागेश्वर बस्नेतले बताउनु भयो ।

पुस १२ गते दादुरा देखिएको नेपालगञ्जमा २२ गतेदेखि खोप अभियान चलिरहेको छ । ६ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइरहेको बस्नेतले बताउनु भयो ।

दिनदिनै दादुरा विरामी थपिरहेको नेपालगञ्जमा आज मात्रै २० जना नयाँ विरामी थपिएका छन् । यो संगै हालसम्म दादुरा संक्रमितको संख्या १७६ पुगेको छ । यी मध्ये १३१ जना निको भएको र ४४ जना घरमै आइसोलेसनमा रहेको खोप फोकल पर्सन बस्नेतले जानकारी दिनुभयो ।

नेपालगञ्जमा १५ वटा वडामा दादुरा फैलिसकेको छ । दादुराका कारण एक जना अढाई बर्षीय बालकले ज्यान गुमाइसकेका छन् ।
बाँके जिल्लाभर भने दादुरा संक्रमितको संख्या १८० पुगेको छ । नेपालगञ्जमा १७६, खजुरामा ३ र कोहलपुरमा १ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भोली माघी पर्वका दिन समेत खोप लगाउने कार्यलाई निरन्तरता दिइने श्रेष्ठले बताउनुभयो । भोली दुई वटा वडाका दुई खोप केन्द्रबाट खोप लगाइनेछ । वडा नम्बर ३ स्थित उमरान टोल र वडा नम्बर १६ को जयसपुर स्वास्थ्य चौकीमा खोप लगाइने श्रेष्ठले जानकारी दिनु भयो ।

माघ २ गतेबाट भने सबै प्रभावित वडा र खोपको कभरेज नपुगेका वडाहरुबाट खोप लगाउने कार्यलाई तीब्रता दिइने उहाँले बताउनु भयो ।

  • ३० पुष २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech