टाउको दुखाइः कारण र उपचार

    • स्वास्थ्य पेज

  • २० पुष २०७९, बुधबार

टेन्सन हेडेक
यो सामान्य खालको टाउको दुखाइ हो । करिब ६५ प्रतिशतमा तनावका कारण टाउको दुख्ने गर्छ । जति तनाव बढ्दै जान्छ, त्यति मात्रामा टाउको कस्सिएको जस्तो महसुस हुन्छ । यो दुई–तीन दिनसम्म रहन सक्छ ।रमाइलो माहोल र शान्त स्थानमा जाँदा यो आफैँ ठीक भएर जान्छ । धेरै समयसम्म रहिरह्यो भने दुखाइ कम गर्ने औषधि र थेरापीमार्फत उपचार गर्न सकिन्छ । यस्तो खालको दुखाइ ‘एन्टिमाइग्रेनल’ औषधिको सेवनबाट निर्मूल पार्न सकिन्छ ।

माइग्रेन
टाउको दुख्ने समस्या भएका अधिकांश बिरामीमा माइग्रेन भएको पाइन्छ, जुन निकै कडा खालको दुखाइ हो । यो तीनदेखि ७२ घन्टासम्म रहन सक्छ । माइग्रेन हुनुअघि एकप्रकारको छटपटी हुने गर्छ । र, टाउकोको कुनै एक भागमा दुख्ने गर्छ । वाकवाकी र रिंगटा लाग्ने, बान्ता हुने, उज्यालोमा हेर्न असहज हुनेजस्ता लक्षण देखिन्छन् ।

पुरुषको तुलनामा महिलामा बढी माइग्रेन देखिन्छ । ६ जना महिलामध्ये एक र २० जना पुरुषमध्ये एकजनामा यस्तो समस्या हुन्छ । बिस्तारै सहन नसकिने गरी टाउको दुख्छ । अनिद्रा, घाममा हिँड्दा, भोक लाग्दा, प्रदूषण, महिलामा महिनावारी हुनुअघि या पछि तथा भिडभाड आदि कारणले माइग्रेन हुने गर्छ । वंशानुगत गुणका कारण पनि यो समस्या देखिन्छ । औषधि सेवनबाट यसको नियन्त्रण गर्न सकिन्छ । कतिपयमा छोटो समयमा लगातार माइग्रेन हुने भएकाले सुरुवाती चरणमै चिकित्सकको सल्लाहमा लगातार ६ महिनासम्म औषधि सेवन गर्नुपर्छ ।

कलस्टर
दिमागमा रहेको ‘हाइपोथाइलोरस’ तन्तुसँग जोडिएको हुनाले हरेक वर्ष एकै समयमा मात्र टाउको दुख्छ । जस्तो, कुनै व्यक्तिमा वर्षायामको बीचतिर टाउको दुख्ने समस्या छ भने अर्को वर्ष पनि सोही समयमा टाउको दुख्छ, जुन एक महिनासम्म रहन सक्छ । यो अचानक टाउको दुख्ने समस्या हो, जुन लगातार तीनदेखि चार घन्टा रहन सक्छ । यो निकै कडा खालको दुखाइ भएकाले आँखा रातो हुने, आँसु बग्ने, नाकबाट पानी बग्ने र छटपटी हुने हुन्छ ।

मानसिक समस्या र विभिन्न रोगका कारण हेडेक डिसअर्डर हुन सक्छ । मस्तिष्कसम्बन्धी रोग, मनस्थिति, तनाव, पिनास, चोटपटक, घाउ र संक्रमणजस्ता कारणले टाउको दुख्न सक्छ ।

सेकेन्डरी हेडेक
दिमागमा कुनै खालको ट्युमर र संक्रमण भएमा, दाग र नसा फुटेर प्रेसर बढेमा यस्तो हेडेक हुने गर्छ । यो निकै कम व्यक्तिमा देखिने समस्या हो । यो निकै घातक हुने भएकाले कारण पत्ता लगाएर सकेसम्म छिटो उपचार गर्नुु आवश्यक हुन्छ ।

साइनोसटिस हेडेक
यो पिनासका कारणले हुने मौसमी टाउको दुखाइ हो । खासगरी, जाडोयाममा यसले बढी सताउँछ । पिनास जति बल्झिँदै गयो, टाउको पनि त्यति नै दुख्दै जान्छ । त्यसैले पिनासको उपचार गरेर टाउको दुखाइबाट छुटकारा पाउन सकिन्छ ।

मेडिकेसन ओभरयुज हेडेक
दुखाइ कम गर्ने उद्देश्यले प्रयोग गरिने औषधिको बढी प्रयोगबाट पनि समस्या निम्तिरहेको हुन्छ । धेरै औषधिको प्रयोग गर्दा शरीरमा त्यसको असर हुन छाड्छ, जसले गर्दा टाउको दुख्ने समस्या निम्तिन्छ ।

कसरी बच्ने ?
टाउको दुख्नु कुनै रोगको लक्षण हो । त्यसैले सम्बन्धित रोगको निदान गर्नुपर्छ । कुनै गम्भीर रोगको लक्षणसमेत हुन सक्ने भएकाले टाउको दुखाइलाई सामान्य रूपमा हेर्नुहुँदैन । माइग्रेन, कलस्टर आदि हेडेकलाई औषधिको प्रयोगबाट नियन्त्रणमा राख्न सकिन्छ । तर, ब्रेन क्यान्सर वा ट्युमरका कारण पनि टाउको दुख्न सक्छ । भिडियो एक्सरे, सिटीस्क्यान, एमआरआईलगायत प्रविधिबाट यसको कारण पत्ता लगाउन सकिन्छ ।

(न्यूरो सर्जन डा जोशन न्यौपाने भेरी अस्पताल नेपालगन्जमा कार्यरत हुनुहुन्छ)

  • २० पुष २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech